धर्म सम्पूर्ण प्रकृतिको अस्तित्व हो : महामण्डलेश्वर हेमानन्द

आदर्श समाज सम्वाददाता
चैत्र १२, २०७४

पोखरा, ११ चैत। पहिलो महिला महामण्डलेश्वर अनन्तश्री हेमानन्द गिरीजी महाराजले धर्मको व्याख्या संकीर्ण बन्न नहुने बताएकी छन्।

‘जो जहाँ जसरी जन्मिएर जसरी बनेका छौं, जुन संस्कार र संस्कृतिमा हुर्किएका छौं’ रामनवमी पर्व अवसरमा पोखरामा आइतबार भएको एक कार्यक्रममा बोल्दै उनले भनिन्, ‘त्यसलाई स्वीकार गर्न सक्नु नै धर्म हो ।’

र्ँधर्मको व्याख्या संकीर्ण हुनुहुँदैन,’ गिरीले भनिन्, र्ँधर्मको व्याख्या ममात्रै हिन्दू, ममात्रै बुद्धिष्ट होइन। धर्म भनेको संकीर्ण होइन। धर्म भनेको सम्पूर्ण प्रकृतिको अस्तित्व हो। पञ्चतत्वको अस्तित्व। ब्रहृमा र ब्रहृमासत्ताको अस्तित्व धर्म हो।’

उनले समभाव र समदृष्टिका साथ जीवन जिउन सक्नुपर्ने उनले धारणा राखिन्। आफूहरु सनातनवादी रहेको गिरीको भनाइ थियो। पाँचवटा आमाको रक्षा गर्नुपर्नेमा जोड दिइन्। आध्यात्म र सनातनवादीले पाँचवटा माताको रक्षा गर्नैपर्ने उनको जिकिर थियो। नेपाल देश, गायत्री, गीता, महिला र  गाईको रक्षा गरिनुपर्ने विचार व्यक्त गरिन् ।

नेपाल आमाको संस्कार, संस्कृति, सभ्यता, जातजाति मूल्यमान्यता तोड्ने काम भएको उल्लेख गर्दै उनले नेपाल आमाको रक्षा गर्नुपर्नेमा जोड दिइन् । ‘नेपाली संस्कृति तोड्ने र निस्तेज पारिने काम भएको छ,’ उनले भनिन्, ‘हामी पुरातनवादी होइनौ, वैज्ञानिक हौं। हरेक नेपाली जातजातिको आफ्नै संस्कार र संस्कृति छ। ती संस्कार र संस्कृति मेट्ने कार्य भइरहेको छ। हामी नेपालीलाई नेपालीजस्तो भएर बाँच्न नदिन प्रयास गरिँदैछ। हाम्रो संस्कार र संस्कृति बचायौं भने हाम्रो नेपाल आमा बाँच्नेछ।’

महामण्डलेश्वर गिरीजीले गायत्री मन्त्र सबैले जप्न पाउनुपर्ने पनि बताइन्। ‘ब्रहृमा गायत्री मन्त्र कसैले वञ्चित गरेर अपराध नगर्नुहोस्,’ उनले जोड दिइन्, ‘गायत्री मन्त्र कुनै वर्ग र जाति विशेषले मात्र होइन, महिला, दलित, ब्राहृमण, क्षत्री, वैश्य लगायत सबैले जप्न पाउनुपर्छ। गायत्री जप्नाले शक्ति र तेज बढ्छ। जीवनमा अनिष्टताले छुँदैन।’

गीता जीवन जिउने कलाको किताब रहेको भन्दै उनले बालबालिकालाई गीता पढाउन आग्रह गरिन्। माता, पिता, गुरु, आचार्य देवोः भवः भन्ने संस्कृति गीताले सिकाउने उनको जिकिर छ।

‘गीता, घरमा थपक्क ल्याएर, अक्षता र फूल छरेर पूजा गरेर, ढोगेर बन्द गर्न ल्याइएको पुस्तक होइन,’ गिरीले बताइन्, ‘बच्चालाई गीता पढाइयो भने उनीहरु कर्मठ बन्छन्। गीता नपढ्नेले वृद्धवृद्धा भएका बाबुआमालाई वृद्धाश्रममा छाडेर आफूहरु डिस्को बारमा नाच्ने छोराछोरी बनाउँछ।’

मातृशक्तिको रक्षा गर्न भन्दै उनले महिलाविरुद्ध महिला नै कुरा काटेर हिनताबोध गर्ने कुसंस्कारित भावनाबाट माथि उठ्नुपर्ने सुझाव दिइन् । उनले भनिन्, ‘महिला नै संगठित बन्नुपर्छ। उत्साहित बन्नुपर्छ। खुशी भर्नुपर्छ, काम गर्नेलाई प्रोत्साहन गर्नुपर्छ। महिलालाई समाजमा सम्मानित जीवन जिउने वातावरण बनाउनुपर्छ।’

देशमा गौमाताको रक्षा हुनुपर्नेमा उनले जोड दिइन्। ‘गौमाताको रक्षा हुनुपर्छ। अनिमात्रै धर्मको रक्षा हुन्छ। हिन्दू सनातन धर्म र सभ्यताको रक्षा हुन्छ। हिन्दू सनातन सभ्यता विदेशबाट आयातित सभ्यता होइन। नेपालको आफ्नै मौलिक सभ्यता हो’ उनले अगाडि भनिन् ।

रामनवमी पर्व अवसरमा राम मन्दिर सञ्चालक समिति र विश्व हिन्दू महासंघ कास्कीको आयोजनामा बिरौटास्थित राम मन्दिरमा भएको कार्यक्रममा उनलाई अभिनन्दन गरिएको थियो ।

कार्यक्रममा राम मन्दिर सञ्चालक समिति, स्वामीनारायण मुक्तिनाथ ट्रष्ट केन्द्रीय कार्यालय पोखरा र विश्व हिन्दू महासंघ कास्कीले महामण्डलेश्वर अनन्तश्री हेमानन्द गिरीलाई छुट्टाछुट्टै अभिनन्दनपत्र हस्तान्तरण गरेका थिए ।

त्यसैगरी, कार्यक्रममा विश्व हिन्दू महासंघ कास्कीले दुर्इ शिक्षासेवी क्षत्री प्राडा दिलबहादुर क्षत्री र डा नारायण अधिकारीलाई दोसल्ला ओढाएर सम्मान गर्‍यो। प्राडा क्षत्री क्षत्री समाजका संस्थापक अध्यक्ष हुन् भने डा अधिकारी ब्राहृमण समाज नेपालका संस्थापक अध्यक्ष हुन्।

कार्यक्रममा विश्व हिन्दू महासंघका राष्ट्रिय अध्यक्ष डा रामचन्द्र अधिकारी, सनातन धर्मका शिरोमणि स्वामी रामबाबा, केदारेश्वर महादेवमणिका पीठाधीश डा लेखनाथ आचार्य, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुप्रसाद ढकाल र विश्व हिन्दू महासंघ पोखरा नगर महिला समूह अध्यक्ष पार्वती पौडेलले शुभकामना मन्तव्य राखेकी थिइन्।

राम मन्दिर सञ्चालक समितिका अध्यक्ष लिलाभक्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा विश्व हिन्दू महासंघ कास्कीका अध्यक्ष शंकर खरालले स्वागत मन्तव्य र सचिव पुण्डरीप्रसाद बरालले कार्यक्रम सञ्चालन गरेका थिए।

यसअघि, भगवान् श्रीराम, सीता, लक्ष्मण, हनुमानको प्रतिमा रथमा सजाएर बाजागाजासहितको रथारोहण गरिएको थियो। कार्यक्रममा पुष्पवृष्टिसमेत गराइएको थियो। स्थानीय आमा समूह, संघसंस्था र भक्तजनसहितको रथारोहण पोखराको बिरौटास्थित राम मन्दिरबाट निकालिएको थियो।

रथारोहण बिरौटाचोक, राष्ट्रबैंकचोक, रत्नचोक, सृजनाचोक, पृथ्वीचोक, एअरपोर्टहुँदै पुनः राममन्दिर प्राङ्गणमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो।

स्थानीय आमा समूह र सामाजिक संघसंस्था गरी ६४ वटा संघसंस्थाको राथारोहण र्‍यालीमा सहभागिता थियो। रथारोहणमा सहभागी संघसंस्था र आमा समूहमध्ये उत्कृष्ट भेषभूषा तथा अनुशासनका आधारमा १६ वटा आमा समूह र संघसंस्थालाई सम्मान गरिएको थियो। आमा समूह तथा संघसंस्थामध्ये राम जानकी आमा समूह, शान्तिटोल प्रथम, रामेश्वरमार्ग आमा समूह, रामेश्वरमार्ग द्वितीय र सिर्द्धार्थ सक्रिय आमा समूह तृतीय र अन्य १३ वटा आमा समूहले सान्त्वना स्थान प्राप्त गरेका थिए।  सो अवसरमा विश्व हिन्दू महासंघ कास्कीको अधिवेशनसमेत भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width