पोखरामा मुक्तक महोत्सव

सरुभक्तलाई पुरस्कार

आदर्श समाज सम्वाददाता
चैत्र १२, २०७४
saru bhakta

पोखरा, ११ चैत । पोखरामा चैत अन्तिम साता ‘मुक्तक महोत्सव २०७४’ हुने भएको छ ।

मुक्तक मञ्च पोखराको आयोजना र रोट्रयाक्ट क्लब अफ हेमजाको सह-आयोजनामा चैत २२ देखि २४ गतेसम्म साइमन पार्टीप्यालेस, सिर्जनाचोकमा महोत्सव आयोजना गरिएको आइतबार पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सिर्जनाको मूल्य दिलाउन ‘टिकटमा मुक्तक’ कार्यक्रमको उद्गमथलो पोखरालाई मुक्तक सहरका रुपमा स्थापित गर्ने अर्को प्रयासस्वरुप मुक्तक महोत्सव गर्न लागेको मुक्तक मञ्च पोखराका अध्यक्ष प्राञ्जलले बताए ।

महोत्सव अवसरमा ४० जनाभन्दा बढीले मुक्तक वाचन गर्ने भएका छन् ।

काठमाडौं, पोखरा, चितवनसहित देशका विभिन्न जिल्लाका चर्चित मुक्तककारले मुक्तक वाचन गर्ने अध्यक्ष प्राञ्जलले बताए ।

त्यस्तै, महोत्सवमा मुक्तक गोष्ठी, पुस्तक परिचर्चा, मुक्तकका पुस्तक प्रदर्शनी, मुक्तकको सैद्धान्तिक बहस, मुक्तकसंग्रह विमोचन लगायत कार्यक्रम हुने उनले बताए ।

महोत्सव सफलताका लागि प्रायोजक खोजी भइरहेको आर्थिक उपसमिति संयोजक गौरी तमुले जानकारी दिइन् ।

यसैबीच, यस वर्षको राष्ट्रिय मुक्तक पुरस्कार मुक्तककार सरुभक्तलाई प्रदान गरिने भएको छ । मुक्तक विधामा नेपालमै पहिलो पटक साहित्यकार विष्णु अल्पविरामद्वारा स्थापित र मुक्तक मञ्च पोखराद्वारा सञ्चालित पुरस्कार यसपटक सरुभक्तलाई दिइने जनाइयो ।

मञ्चका अध्यक्ष प्राञ्जलले ११ हजार १ सय ११ रुपैयाँ रहेको पुरस्कारको राशी यस वर्षबाट बढाएर २२ हजार २ सय २२ रुपैयाँ नगद, ताम्रपत्र र दोसल्ला प्रदान गरिने जानकारी दिए । संस्थापक अल्पविरामले पुरस्कारको अक्षयकोष सकेसम्म बढाउँदै जाने प्रतिबद्धता पनि व्यक्त गरे ।

नेपाली मुक्तकको विकास र लेखनका लागि सरुभक्तको महत्त्वपूर्ण योगदानको कदर गर्दै उनलाई पुरस्कार प्रदानका लागि सिफरिस गरिएको प्रतिभा छनोट समितिका संयोजक दीपक समीपले जनाए ।

कविता, नाटक, गीत, गजल, उपन्यास र कथाका ३ दर्जनभन्दा बढी कृतिका लेखक सरुभक्तको पहिलो कृति ‘बन्द खामभित्र’ (२०३५) पोखराकै पहिलो मुक्तक संग्र्रह हो । उनका हजार बुद्धहरु (२०६१) र प्रेमयात्रा (२०६७) सहित ३ मुक्तक संग्रह प्रकाशित छन् ।

उनको पागल बस्ती उपन्यासले २०४८ को मदन पुरस्कार प्राप्त गरेको थियो । २०१२ सालमा पोखरा बागबजार जन्मेका सरुभक्त हाल नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति छन् । सिर्जनाको मूल्य खोज्ने कार्यक्रम टिकटमा मुक्तक सञ्चालनमा पनि सरुभक्तको महत्त्वपूर्ण भूमिका रहेको थियो ।

मञ्चका सल्लाहकार दीपक समीपको संयोजकत्वमा रुपिन्द्र प्रभावी र सन्जीव पौडेल सदस्य तथा अध्यक्ष प्राञ्जल र पुरस्कारका संस्थापक विष्णु अल्पविराम पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा मञ्चले सरुभक्तलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

मञ्चले मुक्तकको लेखन, विकास वा अनुसन्धानमा लागेका संस्था वा व्यक्तिलाई हरेक २ वर्षमा पुरस्कार प्रदान गर्दैआएको छ । यसअघि सो पुरस्कारबाट कृष्णप्रसाद पराजुली र रत्नशमशेर थापा सम्मानित भइसकेका छन् ।

Related News

सम्बन्धित समाचार

  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…
  • मिस नेपालको पोखरा अडिसन आज

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । मिस नेपालको पोखरा अडिसन मंगलबारदेखि सुरु हुने भएको छ । द हिडन ट्रेजरले हरेक वर्ष आयोजना गर्दै आएको…
  • वेद विद्याश्रममा छन्दोबद्ध कविता प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखरा चिसाखोला वेद विद्याश्रमले रजत महोत्सव सन्दर्भमा प्रदेशव्यापी खुला छन्दोबद्ध कविता प्रतियोगिता भएको छ । प्रतियोगितामा संगम बस्याल…
  • मदरल्याण्डका शाश्वत निबन्धमा प्रथम

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०८०
    पोखरा । को–अपरेटिभ प्रेसिडेन्ट सोसाइटी (कोप्स सेन्टर) आयोजनामा भएको निबन्ध प्रतियोगितामा मदरल्याण्ड माविका छात्र शाश्वत रेग्मी प्रथम भएका छन् ।…
  • सरसफाइ विज्ञ भूमिको पुस्तक विमोचन   

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    दमौली ।  सरसफाइ विज्ञ नमस्तेलाल भूमिबारेमा लिखित ‘नमस्तेलाल देशभित्र, देशबाहिर’ पुस्तकको आज विमोचन गरिएको छ । तनहुँको बन्दीपुर गाउँपालिका निवासी…

hero news full width