‘राष्ट्रिय सभालाई गरिमामय बनाउँछु

आदर्श समाज सम्वाददाता
चैत्र ८, २०७४
ganesh

पोखरा, ७ चैत। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गणतन्त्रपछिको पहिलो राष्ट्रिय सभालाई गरिमामय बनाउने प्रतिबद्धता गरेका छन्।

नेपाल पत्रकार महासंघ कास्कीद्वारा बुधबार आयोजित पहिलो ‘फेस टु फेस’ कार्यक्रममा बोल्दै उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्।

राज्य सञ्चालनमा विधि चाँडो तयार गर्ने तथा सहयोग गर्ने कार्य राष्ट्रिय सभाको भएको उल्लेख गर्दै उनले समयमै संघिय कानून बने प्रदेशलाई समेत सहज हुने बताए।

‘कानूनी प्रक्रियाबारे चर्चा गर्दै प्रक्रिया जति लामो भयो उति भ्रष्टाचार बढ्छ,’ उनले भने, ‘प्रक्रिया छोटो र वैज्ञानिक हुनुपर्छ ।’

‘प्रतिपक्षको आवाज पनि जनताको आवाज हो,’ उनले भने, ‘जनताको भावनालाई मुखरित हुन दिनु पर्छ ।’

सरकारका राम्रा कामलाई सहयोग गर्ने र गलत कामलाई औल्याउने प्रतिपक्षको भूमिका हुनुपर्नेमा जोड दिँदै जुनसुकै कामको पनि विरोध गर्न नहुने बताए।

सबैले सकारात्मक सोच राखेर अघि बढ्नुपर्ने बताउँदै उनले सञ्चारजगत्ले पनि राज्यलाई बलियो बनाउन सघाउनुपर्ने धारणा राखे।

उनले संविधानमा अंकित जनताका अधिकारलाई व्यवहारमा उतार्नु आजको आवश्यकता भएको चर्चा गर्दै भने,’राज्य वेसहाराको अभिभावक बन्नुपर्छ ।’

विगतको सरकारले बेलैमा व्यवस्था नगरिदिँदा आफू मन्त्री क्वाटरमा बस्नुपरेको तीतो यथार्थ पनि उनले व्यक्त गरे।

पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन सचिव रामप्रसाद तिमिल्सिनाले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width