विद्यादेवी फेरि राष्ट्रपति

आदर्श समाज सम्वाददाता
फागुन ३०, २०७४

काठमाडौँ, २९ फागुन : विद्यादेवी भण्डारी पुनः राष्ट्रपतिमा निर्वाचित भएकी छन्। संघीय गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपतिका रुपमा दोस्रो कार्यकालका लागि पनि निर्वाचित भएपछि उनलाई पुनः शीतल निवासको प्रवेशको ढोका खुलेको छ।

लोकतान्त्रिक र वाम आन्दोलनका क्रममा सशक्त भूमिका निर्वाह गर्दै मुलुकको राष्ट्रप्रमुख पदमा पुगी एक कार्यकाल सफलतापूर्वक पूरा गरेकी भण्डारीलाई मंगलबार सम्पन्न राष्ट्रपति निर्वाचनले भारी मतका साथ निर्वाचित गरेको हो।

विद्यादेवीले ३९ हजार २ सय ७५ मतभार प्राप्त गरेको निर्वाचन अधिकृत तीलप्रसाद श्रेष्ठले जानकारी दिए । प्रतिस्पर्धी नेपाली काँग्रेसकी नेत्री कुमारीलक्ष्मी राईले ११ हजार ७३० मत प्राप्त गरिन्।

निर्वाचनमा संघीय संसद्तर्फ तीन र प्रदेशसभा सदस्यतर्फ पाँच मत बदर भएको थियो।

संघीय संसद्का ३ सय ३१ मतदातामध्ये ३ सय २६ र प्रदेशसभाका ५ सय ४९ मध्ये ५ सय ३६ जनाले मतदान गरेका थिए। कुल मतदातामध्ये संघीय संसद्का पाँच र प्रदेशसभाका १३ गरी १८ जना मतदाता अनुपस्थित थिए।

अघिल्लो पटक र यसपटक पनि नेकपा (एमाले) को समर्थनमा उम्मेदवार बनेकी राष्ट्रपति भण्डारीलाई यसपटक वाम गठबन्धनमा रहेका माओवादी केन्द्रका साथै संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीनेपालले पनि मत दिएका छन्।

एमालेका तत्कालीन उपाध्यक्ष र संविधानसभाका सदस्य रही संविधानसभाबाट संविधान लेखनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण उनलाई अघिल्लो कार्याकालका लागि सो पार्टीले राष्ट्रपतिको उम्मेदवार बनाएको थियो।

नेपालको संविधान जारी भएपछिको राष्ट्रपति निर्वाचनमा उनी व्यवस्थापिका संसद्बाट २०७२ कात्तिक ११ मा सो पदमा निर्वाचित भएकी थिइन्। गणतन्त्र नेपालको पहिलो राष्ट्रपति नेपाली काँग्रेसका तर्फबाट डा रामवरण यादव भएका थिए।

पहिलो महिला राष्ट्रपतिका रुपमा दक्षिण एसियामै चर्चामा रहेकी भण्डारीले अघिल्लो कार्याकालमा संविधानले निर्दिष्ट गरेको भूमिका सक्षम र निर्विवादरुपमा कार्य सम्पादन गरेको पाइएको छ। राजनीतिक खिचातानीका कारण कतिपय सर्न्दर्भमा राष्ट्रपतिको भूमिकाबारे प्रश्न उठे पनि उनको भूमिकाबाट कुनै संवैधानिक तथा कानूनी संकट आएको देखिएको छैन। उनले अघिल्लो कार्याकालमा संवैधानिक विवाद र राजनीतिक अन्योल बढेका बेला संविधानको कार्यान्वयनमा सहयोग पुग्ने गरी सहमति र निकासको बाटो लिएकी थिइन्।

राष्ट्रपति भण्डारीको नेपाल कम्युनिष्ट पार्टीका संस्थापक जननेता मदन भण्डारीसँग पार्टीै आयोजनामा  २०३९ मा विवाह सम्पन्न भएको थियो। पछि उनको संरक्षकत्वमा मदन भण्डारी फाउण्डेसनसमेत स्थापना भएको थियो।

२०१८ असार ५ गते भोजपुरको मानेभञ्ज्याङमा बुबा रामबहादुर पाण्डे र आमा मिथिला पाण्डेकी सुपुत्रीका रूपमा भण्डारी जन्मिएकी हुन्।

उनले बाल्यकालमा बेहेरेश्वर प्राथमिक विद्यालय, भोजपुरबाट अध्ययन शुरु गरेकी थिइन्। उनले माध्यमिक शिक्षा विद्योदय व्यावसायिक सेकेन्डरी स्कुलबाट हासिल गरिन्।

राष्ट्रपति भण्डारीले भोजपुर क्याम्पस, भोजपुरमा आइए र महेन्द्र मोरड कलेज विराटनगरमा बिए अध्ययन गरेकी छन्। भोजपुर क्याम्पसमा पढ्दा २०३५ मा तत्कालीन नेकपा -माले) सम्बद्ध युवा लिगमा संगठित भई २०३७ मा काठमाडौँमा भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको पाँचौँ राष्ट्रिय सम्मेलनमा भोजपुर जिल्लाबाट प्रतिनिधि छानिइन्।

२०३७ मा तत्कालीन नेकपा -माले) को सदस्यता प्राप्त गरी विसं २०३६ देखि विसं २०४४ सम्म अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, पूर्वाञ्चलको सदस्य भई काम गरेकी उनले २०३९ देखि २०४० सम्म महेन्द्र मोरड क्याम्पसको स्ववियु कोषाध्यक्षमा निर्वाचित भई विद्यार्थी फाँटमा काम गरिन्।

२०४६ मा कीर्तिपुरमा भएको अखिल नेपाल महिला संघको पहिलो सम्मेलनमा मोरङको तर्फबाट प्रतिनिधि भएपछि उनले २०५० देखि विसं २०५४ सम्म नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) को महिला विभाग प्रमुखको जिम्मेवारी सम्हालिन्।

२०५४ मा नेपालगञ्जमा भएको एमालेको छैठौँ महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य हुनुभएका भण्डारी विसं २०५४ मा अखिल नेपाल महिला संघको अध्यक्षमा निर्वाचित भएर दुर्इ कार्यकाल नेतृत्व गरिन्।

२०५९ मा जनकपुरमा भएको एमालेको सातौँ महाधिवेशनमा केन्द्रीय कमिटी सदस्य र २०६४ मा बुटवलमा भएको आठौँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित उनी २०७१ मा काठमाडौँमा भएको नवौँ महाधिवेशनबाट पनि पुनःउपाध्यक्ष भइन्। एमाले नेता माधवकुमार नेपाल नेतृत्वको सरकारमा उनी २०६७ देखि २०६९ सम्म रक्षामन्त्री भएकी थिइन्।

Related News

सम्बन्धित समाचार

hero news full width