प्रतिनिधिसभा बैठकमा शीर्षनेताको सम्बोधन

आदर्श समाज सम्वाददाता
फागुन २३, २०७४

काठमाडौं, २२ फागुन। प्रतिनिधिसभाको मंगलबार बैठकलाई विभिन्न दलका शीर्ष नेताले सम्बोधन गरेका छन्। सरकारमा रहेका दलका नेताले सन्तुष्ट पक्षलाई मिलाएर राष्ट्र निर्माणको कार्यभार पूरा गर्ने बताउँदा साना दलका नेताले भने नेपाली जनताले वाम गठबन्धनलाई करीव दुर्इ तिहाइ मत दिएकाले उनीहरूले ठूलो छाती गरेर सबैलाई समेटेर अगाडि बढ्नुपर्नेमा जोड दिए।

बैठकलाई सम्बोधन गर्दै एमाले नेता माधवकुमार नेपालले देश निर्माणको महत्वपूर्ण जिम्मेवारी वाम शक्तिको काँधमा आएको बताए।

उनले नेपाली जनताको बुद्धिमानीपूर्ण निर्णयका आधारमा वामशक्तिले जनमत हासिल गरेकाले देश निर्माणको जिम्मेवारी प्राप्त भएको र वर्तमान सरकारले जनताका पक्षमा महत्वपूर्ण कार्यभार पूरा गर्ने दृढता व्यक्त गरे।

नेपालभित्रै केही शक्तिले वामपन्थी अधिनायकवादी हुन्छन् भनेर गलत प्रचार गरेको टिप्पणी गर्दै नेता नेपालले भने, “वामपन्थी जनताको भावनामा विश्वास गर्छन्। कसैले चिन्ता नगरे हुन्छ। वामपन्थीले अधिनायकवादको बाटो समात्दैनन्। लोकतन्त्र खुम्चिन्छ कि, राज्यका निकायका अनावश्यक राजनीतीकरण गर्छन् कि भन्ने चिन्ता गर्नु आवश्यक छैन।”

देशलाई आर्थिक-सामाजिक रूपान्तरणको दिशामा अगाडि बढाउँदै बेरोजगारीको अन्त्य गरी एकाध वर्षभित्र देशलाई समृद्धिको उच्च विन्दुमा पुर्‍याउन सकिने बताए।

नेता नेपालले जित्नेले अहंकार र हार्नेले काम गर्नै नदिने वातावरण बनाउन नहुने धारणा तथा सत्ता र प्रतिपक्ष हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै भने, “प्रतिपक्ष वेटिङ गभर्मेण्ट हो। शुरुदेखि नै विरोध गर्ने र काम गर्न दिन्न्ा भन्ने प्रवृत्ति सबैले त्याग्नुपर्छ। लडाइँ, झगडा र द्वन्द्वको युग सकिएर शान्तिपूर्ण तवरले विकासको युगमा मुलुक प्रवेश गरेको छ। ”

माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहालले असन्तुष्ट पक्षले उठाउँदै आएको संविधान संशोधनको विषयलाई औचित्यका आधारमा अगाडि बढाइने बताए।

उनले संविधानसभाबाट निर्माण भएको संविधानलाई कार्यान्वयन गर्न प्रभावकारी प्रयत्नको जरुरी रहेको बताउँदै असन्तुष्ट पक्षलाई मिलाएर राष्ट्र निर्माणको कार्यभार पूरा गरेर छाडिने दृढता व्यक्त गरे। प्रधानमन्त्री केपी शर्मा ओलीले सबै पक्षलाई मिलाएर लैजाने विश्वास व्यक्त गरेको स्मरण गर्दै उनले राष्ट्र निर्माणको यात्रामा सबै पक्षको रचनात्मक सहयोग जरुरी रहेको बताए।

संविधान कार्यान्वयनमा सबै पक्षको सहयोग भएकै कारण तीन वटै तहको निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले मुलुकले भोग्न लागेको आर्थिक संकटको समस्या समाधान गर्न पनि सबैको सहयोग जरुरी रहेको औल्याए।

विगतमा पद प्राप्तिका लागि जस्तोसुकै चलखेल गर्ने प्रवृत्ति हावी भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले संविधान कार्यान्वयन र राष्ट्र निर्माणको महाभियानमा एक भएर जानुपर्ने र नयाँ परिस्थितिमा कार्यशैली पनि नयाँ हुनुपर्ने स्पष्ट पारे।

पूर्वाधार, पर्यटन, जलस्रोत र कृषिजन्य उद्योगको विकास गुणात्मक रूपमा लैजानुपर्नेमा उनले जोड दिए। उनले सुशासन, समृद्धि र स्थायित्व प्रदान गरेर रोजगारीको खोजीमा विदेशिएका युवालाई स्वदेश फर्काउने सकिन्छ भने।

कुशासन, भ्रष्टाचार, अराजकता र अनियमितता अन्त्य गर्न वर्तमान सरकार दृढताका साथ लाग्ने अध्यक्ष दाहालको विश्वास थियो। उनले भने, “राम्रो गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई विनाभेदभाव दण्ड दिने संस्कारको विकास गर्नु जरुरी छ।”

हामीलाई जनताले सुशासन, स्थायित्व र विकासका लागि मत दिएको स्मरण गर्दै उनले त्यसप्रति सबै इमान्दार हुन जरुरी रहेको धारणा राखे।

त्यस्तै, काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले असन्तुष्ट पक्षलाई मिलाएर अगाडि लैजान वर्तमान सरकारलाई सफलता मिलोस् भन्ने कामना गरे।

उनले संविधान कार्यान्वयनको महत्वपूर्ण कार्यभारका रूपमा रहेको तीन वटै तहको निर्वाचन सफल बनाउन सबैले खेलेको भूमिकाको प्रशंसा गर्दै संविधानका आधारभूत संरचनामा परिवर्तन गर्ने काम कोही कसैबाट नहोस् भने।

स्वतन्त्र न्यायपालिकाको गरिमा भत्काउने काम कोही कसैबाट नहोस् भन्दै उनले सबै निकाय संविधानले तोकेअनुसारको दायित्व पूरा गर्न सफल हुने अपेक्षा गरे।

पूर्वप्रधानमन्त्री देउवाले नेपालको आर्थिक तथा सामाजिक विकासको आधार तयार भएकाले जलस्रोत र भौतिक पूर्वाधारका लागि सबै पक्ष मिलेर काम गर्नुपर्नेमा जोड दिए। “पर्यटन तथा जलस्रोतको विकासका लागि एकीकृत प्रयास तथा सहकार्य जरुरी छ, लगानीमैत्री वातावरण बनाउन सके वैदेशिक लगानीसमेत बढ्न सक्छ”, उनले भने।

काँग्रेसका सभापति देउवाले नेपालको परिवर्तन काँग्रेसको नेतृत्वमा नै भएको हो भन्दै संविधान कार्यान्वयनसमेत काँग्रेसको नेतृत्वमा नै भई नेपालको राजनीतिक प्रक्रिया अगाडि बढेकामा सन्तोष व्यक्त गरे। काँग्रेसले विपक्षी पार्टीको भूमिका संसद्मा सकारात्मक तवरले खेल्ने स्पष्ट पार्दै उनले सरकारलाई आफ्नातर्फबाट पूरापूर सहयोग हुने विश्वास दिलाए।

राष्ट्रिय जनता पार्टीअध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले लडाइँ र झगडाको युग समाप्त गर्न सबै पक्ष इमान्दार भएर लाग्नुपर्ने तथा सबै पक्षको माग र असन्तुष्टि सम्बोधन गर्नुपर्ने बताए।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान गतिशील राजनीतिक दस्तावेज भएकाले यसलाई समयानुकूल परिमार्जन गर्नुपर्ने बताए। संविधानमा संघीयता र धर्म निरपेक्षतालगायत केही राम्रा पक्ष रहेको उल्लेख गर्दै उनले न्यायमा समान पहुँच र अनुभूति गर्न नपाएका समुदायले अपनत्व महसुस गर्नेखालको संविधान बनाउन यसको संशोधन जरुरी रहेको उल्लेख गरे।

Related News

सम्बन्धित समाचार

hero news full width