काँग्रेसको छाया सरकार

आदर्श समाज सम्वाददाता
फागुन १३, २०७४

काठमाडौं, १२ फागुन । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारको गतिविधि अनुगमन र खबरदारी गर्न छाया सरकार बनाउने निर्णय गरेको छ । शनिबार बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभाको काँग्रेस संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद गगन थापाले केन्द्रमा जति वटा मन्त्रालय रहन्छ, त्यति नै छाया मन्त्री बनाएर काम गर्ने बताए ।

छाया प्रधानमन्त्री र मन्त्रीहरुले आ-आफ्ना मन्त्रालयअर्न्तर्गत सरकारबाट भएका कामको निगरानी गर्नेछन् । प्रदेशस्तरमा पनि छाया सरकार बनाइने उनले बताए । दलको नेता चयनपछि छाया सरकार गठन प्रक्रिया शुरु हुने जनाइएको छ । यसले पार्टीका सांसदलाई प्रभावकारी बनाउन पनि भूमिका खेल्ने काँग्रेस नेता बताउँछन् । काँग्रेसले छाया सरकार गठनको खाकासहित प्रस्तावबारे विधानमा नै समावेश गरी संसदीय दलमा छलफल गरेको जनाइएको छ । शनिबारको बैठकले राष्ट्रिय सभाका ३ सदस्य मनोनयनका लागि शेरबहादुर देउवा सरकारले गरेको सिफारिस रोकेर नयाँ सरकारको सिफारिस स्वीकृत गरेकोमा राष्ट्रपतिको आलोचना गरेको छ । राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै काँग्रेसले सच्याउन माग गरेको छ । बैठकमा सांसद अत्तहर कमलले यसको विरोधमा प्रतिविधिसभाको पहिलो बैठक नै अवरुद्ध गर्नु पर्ने प्रस्ताव राखेका थिए । तर, नेताहरुले अहिले विरोध मात्र गर्ने बताएका छन् ।

बैठकमा कतिपय सांसदले संसदीय दलको नेता सर्वसम्मत रुपमा चयन गर्नु पर्ने बताएका थिए । उनीहरुले चुनाव नै हुने भए पनि पार्टीको आन्तरिक भएकाले धेरै उचालेर पार्टीकाई कमजोर बनाउन नहुने धारणा राखे । तर, सांसद प्रकाशमान सिंहले विरोध गरे । उनले पार्टीको नेतृत्व परिर्वतन हुनुपर्ने आमकार्यकर्ताको आवाज आफूले बोलिदिएको भन्दै यसलाई लुकाउन नहुने बताए । यसले दलको नेतामा चुनाव हुने प्रष्ट संकेत गरेको छ । सिंह दलको नेताका आकांक्षी हुन् । सभापति शेरबहादुर देउवाले भने समीक्षा हुनुपर्ने तर अरुलाई गाली गरेरमात्र नहुने बताए । चुनावमा अन्तरघातका कारण करिब २ सय नेता हारेको भन्दै उनले अन्तघा गर्नेहरुलाई कारबाही नगरेसम्म पार्टीअघि बढ्न नसक्ने बताएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width