दीप युनाइटेडलाई अन्तरसंस्था फुटबल उपाधि

आदर्श समाज सम्वाददाता
फागुन ६, २०७४

पोखरा, ५ फागुन  । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा भएको आमन्त्रण अन्तरसंस्था सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि दीप युनाइटेडले जितेको छ ।

लामाचौर खेल मैदानमा शनिबार फाइनलमा एनएमए डर्क्र्टस टिमलाई ३-० गोलअन्तरले पराजित गर्दै दीप युनाइटेडले उपाधिसहित २५ हजार रुपैयाँ पुरस्कार पायो । उपविजेता एनएमएलाई १५ हजार रुपैयाँ दिइयो ।

प्रतियोगितामा एनएमएका डा मदन थापा उत्कृष्ट खेलाडी घोषित हुँदा फेयर प्ले अवार्ड लेकसाइड भेट्रान्स क्लब र हाइस्कोरर उपाधि दीप युनाइटेडका प्रकाश गुरुङले पाए ।

विजयीलाई पुरस्कार वितरण गर्दै प्रमुख अतिथि क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष खगराज पौडेलले लामाचौर खेल मैदान पोखरा रंगशालाको वैकल्पिक हुन सक्ने बताए । उनले लामाचौर खेल मैदानमा तत्काल आवश्यक सार्वजनिक शौचालय र खेलाडी चेञ्जिङ रुमको लागत स्टमेट गरी समितिमा पेस गरेमा त्यसको लागि आवश्यक रकम विनियोजनमा पहल गर्ने आश्वासन दिए ।

समापनमा संस्थाका अध्यक्ष बमबहादुर गुरुङ, पूर्वअध्यक्ष मिलन केसी, सञ्जयकुमार अधिकारी, बुद्धिबहादुर खत्री क्षेत्री, प्रतियोगिता संयोजक सुशीलकुमार श्रेष्ठ, वडा सदस्य कृष्ण गौतम, सहसचिव दिनेश भण्डारीले पुरस्कार वितरण गरे ।

शुक्रबार खेल उद्घाटन पत्रकार महासंघ कास्की उपाध्यक्ष एवं न्यूनतम पारिश्रमिक निर्धारण आयोग सदस्य बिमल भण्डारीले गरेकी थिइन् । २ दिनसम्म चलेको प्रतियोगितामा १३ टिम सहभागी थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width