पृथ्वी, प्रदेश-४ को मुख्यमन्त्री पक्का

आदर्श समाज सम्वाददाता
माघ २९, २०७४

पोखरा, २८ माघ। एमाले नेता पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री बन्ने पक्का भएको छ। आइतबार एमालेबाट संसदीय दलको नेतामा निर्वाचित भएसंगै उनले मुख्यमन्त्रीको सबै दौड पूरा गरेका छन्। बाम गठबन्धन बीचमा भएको भागबण्डामा एमालेले मुख्यमन्त्री पाउने सहमतिपछि दुर्इ सिनियर नेताहरु संसदीय दलको नेतृत्व लिन लविङ गरिरहेका थिए। मुख्यमन्त्रीका दावेदार एमाले चार नम्बर प्रदेश संयोजक किरण गुरुङले संसदीय दलको नेता बन्ने दौडबाट हटेपछि पृथ्वी सर्वसम्मत संसदीय दलको नेतामा निर्वाचित भएका हुन्।

एमालेले आईतबारका लागि संसदीय दलको नेता चुन्न कार्यतालिकासहितको चुनावी कार्यक्रम घोषणा गरेको थियो। मध्यान्ह सवा १२ बजेसम्म उम्मेदवारी मनोनयन गर्न समय दिइएको भएपनि पृथ्वीसुब्बाले मात्रै उम्मेदवारी दर्ता गराए। किरण भने सहमतिका लागि पार्टीका नेताहरुसंग छलफलमै ब्यस्त थिए। बार्तालाई हेरेर निर्वाचन कमिटीले एकघण्टा समय थपिदियो। सवा एकबजे किरण निर्वाचनस्थल रहेको एमाले जिल्ला पार्टीकार्यालय छिरे। तर, उनको हातमा मनोनयनपत्र थिएन। उनकै अघिअघि थिए, पृथ्वीसुब्बा गुरुङ। पहिले नै सहमति गरेर छिरेका दुर्इ नेताहरुले प्रदेशका सबै सांसदलाई कोठाभित्र बोलाए। केहीबेर औपचारिक मिटिङ चल्यो र आधा घण्टा पनि नवित्दै पृथ्वीलाई नेता चुनेर किरणले भने-‘म हुनु र पृथ्वीसुब्बा हुनु एउटै हो, केही फरक छैन। वहाँ योग्य र सक्षम नेता हुनुहुन्छ।’

किरणले पार्टीका गुटबन्दीको अन्त्य र बृहत पार्टीएकताको सन्देश दिन निर्विरोध प्रणाली अपनाएको प्रतिक्रिया दिए। ‘म नै हुन्छु भनेको भए सहमति हुँदैहुँदैनथ्यो। प्रदेशको अभिभावक भएकोले पनि मैले वहाँलाई समर्थन गरेको हुँ, उनी भन्छन्-‘ब्यक्तिकेन्द्रीत भएर पार्टीचल्दैन भन्ने मैले बुझेको छु। सहमतिमा एकता बलियो हुन्छ।’ श्रोतका अनुसार पार्टीका महासचिव इश्वर पोखरेलसहितका नेताहरुसहित बसेको अनौपचारिक बैठकपछि किरणले आफ्नो दावी छाडेका हुन्। पार्टीको केन्द्रीय संगठन विभागको प्रमुखका रुपमा किरणलाई प्रस्ताव गरिएको श्रोत बताउँछ। निर्वाचित भएपछि पृथ्वीसुब्बाले भने किरणकै प्रश्तावमा आफू संसदीय दलको नेता बनेको दावी गरेका छन्।

‘किरण कमरेडले नै मलाई संसदीय दलको नेतामा प्रश्ताव गर्नु भएको हो। वहाँको महानताले निर्विरोध हुने मौका पाएँ, उनी भन्छन्-‘हामी बीचमा कुनै लेनदेन भएको छैन। नेताहरुको पहलले सर्वसम्मत चुनिएँ ।’

उनले माओबादी केन्द्रसंगको एकीकृत बैठकपछि सरकार गठन र मन्त्रीमण्डल विस्तार हुने बताए। ७ मन्त्रालय रहने प्रदेश ४ मा ५ वटा एमालेले राख्ने बुझिएको छ। बाँकी माओवादी केन्द्रको भागमा छ। तर मन्त्रालय भने बाँडिएको छैन। यो प्रदेशमा एमालेसंग २७ सीट छ भने तेश्रो शक्ति माओबादीसंग १२ सीट छ। माओबादीले सभामुख सहित २ मन्त्रालय पाउनेछ।

हेडमास्टरदेखि हेडमन्त्रीसम्म

सम्भवतः संसदीय प्रतिस्पर्धामा सबैभन्दा बढी पराजित नेता हुन् पृथ्वीसुब्बा गुरुङ। लमजुङेहरु उनलाई कहिल्यै चुनाव नजितेको नेता भनेर चिन्छन्। लगातारको सातौं प्रतिस्पर्धामा दुर्इपटक मात्रै उनका लागि संसदको ढोका खुल्यो। २०४३ को राष्ट्रिय पञ्चायतको चुनावमा तत्कालीन मालेको तर्फबाट जनपक्षीय उम्मेदवारका रुपमा गुरुङ पहिलोपटक संसदीय चुनाव लडे। पहिलो पटकमै पराजित उनी बहुदलपछिका लगातार तीन चुनावमा पनि संसद पुगेनन्। २०४८, ०५१ र ०५६ को चुनावमा उनी कांग्रेसी उम्मेदवारसंग हारे। कहिल्यै ‘चुनाव नजितेका’ उनी त्यही सहानुभुतिले २०६४ को चुनावमा काँग्रेस नेता दीलबहादुर र्घर्तिलाई पछार्दै संसद छिरे। तर, दोश्रो संविधानसभाको चुनावमा पनि उनी काँग्रेससंगै पराजित भए। लगातारको परिश्रमले गुरुङ २०७४ को चुनावमा लमजुङ -ख) बाट प्रदेशसभा सांसदमा निर्वाचित भएका छन्। अघिल्लो जितमा पर्यटनमन्त्री भएका उनी कुनै अन्यथा नभए केही दिनमै प्रदेश ४ को मुख्यमन्त्रीमा नियुक्त हुनेछन्। एकातिर उनको यो ‘डिमोसन’ हो भने अकोर्तिर ऐतिहासिक सफलता। दशकअघि नै पर्यटन तथा नागरिक उड्डयनमन्त्री भैसकेका गुरुङ प्रदेशमा चुनाव लडेर मुख्यमन्त्रीको अन्तिम यात्रामा छन्। २०४३ देखि लगातार संसदको दावेदार उनी २०६४ सालमा लमजुङ २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। २०१४ सालमा लमजुङको गिलुङमा जन्मिएका पृथ्वीसुब्बा २०२७ सालदेखि नै राजनीतिमा सक्रिय छन्। सुरुमै लमजुङको भोलेटारस्थित इशानेश्वर स्कुलमा अनेरास्ववियुबाट स्ववियु सचिव भएर काम गरेका उनी अमृत साईन्स क्याम्पस पुग्दा राजनीतिको बलियो खम्बा बनिसकेका थिए। २०३५ सालमा मालेबाट लमजुङको मध्य-उत्तरर्र् इलाका सदस्य, २०३६ सालमा पश्चि-उत्तरर्र् इलाका सदस्य हुँदै २०३७ सालमा मालेको पार्टीसदस्यता पाएका उनी २०४० मा लमजुङको जिल्ला कमिटि सदस्य बनेका थिए।

२०४८ मा भएको पहिलो जिल्ला अधिबेशनबाट एमाले जिल्ला कमिटिको सचिवमा निर्वाचित गुरुङ दोश्रो कार्यकाल पूरा गर्दै २०५४ मा पार्टीको छैटौं महाधिवेशनबाट बैकल्पिक केन्द्रीय सदस्य बने। सोही समयमा उनले ५ बर्षसम्म गण्डकी अञ्चल समन्वय कमिटिको सचिवको रुपमा जिम्मेवारी पूरा गरे। २०६० मा पुगेपछि मात्रै उनी एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका थिए।

२०६१ देखि २०७० सम्म केन्द्रीय जातीय मामिला विभाग प्रमुख, ०६५ मा केन्द्रीय सदस्य, २०६५ मै पोलिटब्यूरो सदस्यमा निर्वाचित भएका गुरुङ २०६९ देखि ०७१ सम्म केन्द्रीय कार्यालयको सचिवमा रहेर काम गरे। २०७१ को नवौं महाधिवेशनबाट केन्द्रीय सचिवमा निर्वाचित भएका उनी हाल एमालेको केन्द्रीय संगठन विभाग प्रमुखको रुपमा कार्यरत छन्। पृथ्वीसुब्बा, पार्टीभत्र कुशल संगठकको रुपमा चिनिन्छन्। २०५४ सालमा एमाले विभाजन हुँदा संकटमा परेको गण्डकी एमालेलाई उनले कुशलतापूर्वक उठाएका थिए। गुरुङ विज्ञानका मास्टर हुन्। अमृत साइन्स क्याम्पसबाट विएस्सी सकेपछि उनले गिलुङकै बुद्धोदय माविमा विज्ञान बिषयको मास्टरी गरे। सात बर्ष स्कुलमा रहँदा उनले हेडमास्टरको पनि भूमिका पूरा गरे। तिनताक गुरुङ नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला सदस्य हुँदै अध्यक्षसम्म बने। उनी तमु धीं नेपालको संस्थापक सदस्य हुन् भने एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको संस्थापक अध्यक्षसमेत हुन्। राजनीतिक जीवनमा उनी पटक पटक हिरासत पुगेका छन्। लमजुङको प्रदेशसभा उनै लमजुङे पृथ्वीसुब्बा गुरुङ राजनीतिको आधा सतकपछि ऐतिहासिक मुख्यमन्त्री बन्दैछन्। केही दिनमै प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्रीको रुपमा नियुक्ति दिनेछन्। उनले प्रदेश ४ गुरुङ र मगर भाषाको बाहुल्य क्षेत्र भएकाले दुवै भाषालाई सरकारी कामकाजको भाषा बनाउने बताएका छन्।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width