समाजसेवी दाहालको स्मृतिमा छात्रवृत्ति

आदर्श समाज सम्वाददाता
माघ २४, २०७४

पोखरा, २३ माघ। समाजसेवी स्वर्गीय टीकाराम दाहालको १०४ औं जन्मजयन्तीमा उनको परिवारले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।

अन्नपूर्ण गाउँपालिका वडा २, ढिकुरपोखरीस्थित माछापुच्छ्रे माविमा कक्षा १० मा अध्ययनरत विद्यार्थी सन्तोष भण्डारीलाई १० हजार रुपैयाँ छात्रवृत्ति स्वरुप प्रदान गरिएको हो।

दाहालको स्मृतिमा गत वर्ष उनका जेठा छोरा डा गिरधारी दाहालले विद्यालयमा १ लाख २५ हजार १ सय ७ रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए।

सोही अक्षयकोषको ब्याजबाट वर्षेनी १ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने बताइएको छ।

विद्यालयमा आयोजित कार्यक्रमबीच टीकारामकी धर्मपत्नी गङ्गीमाया दाहालले विद्यार्थी भण्डारीलाई छात्रवृत्ति प्रदान गरेकी थिइन्।

बुबाले सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानलाई सदैव स्मरणीय बनाउन अक्षयकोष स्थापना गरी गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको परिवारजनको भनाइ छ।

२०६२ साल मंसिर २७ गते ९२ वर्षको उमेरमा दाहालको निधन भएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width