डिफेन्डिङ च्याम्पियन मनाङलाई पुलिस तगारो

आदर्श समाज सम्वाददाता
माघ १७, २०७४
football 2

पोखरा, १६ माघ। डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दीलाई पहिलो खेलमै पराजित गर्दै नेपाल पुलिस क्लब १६ औं आहा रारा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।

पोखरा रंगशालामा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा पुलिसले मनाङविरुद्ध ३-१ गोलअन्तरको जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो । यससँगै सेमिफाइनल समीकरण पूरा भएको छ ।

सहारा क्लब पोखराले आयोजना गरेको क्याराभान सहित १७ पटकको प्रतियोगितामा यी दुवैले समान पाँच पटक उपाधि जितेका छन् । सिधै बाइ पाएर क्वाटरफाइनल खेलेको मनाङलाई पहिलो खेलबाटै फर्काएपछि पुलिसले सर्वाधिक उपाधि जित्ने सम्भावना कायमै राखेको छ । अब पुलिसले फाइनल प्रवेशका लागि दोस्रो सेमिफाइनलमा बिहीबार धरान एफसीसँग प्रतिष्पर्धा गर्नेछ । धरानले आर्मीलाई टाइब्रेकरमा पराजित गरेको थियो ।

मंगलबार पहिलो हाफ गोलरहित खेलेको पुलिसले दोश्रो हाफमा लगातार ३ गोल गर्दा मनाङे टोली र समर्थक स्तब्ध बन्यो । मनाङले अन्तिममा सान्त्वना गोल फर्काएर पोखराको मैदानमा एक गोल भने गर्न सक्यो ।

पहिलो हाफमा फिनिसिङमा कमजोर देखिएको पुलिसका लागि दोस्रो हाफ शुरु भएको आठौं मिनेटमै नीरकुमार राईले गोल गरे । ५३ औं मिनेटमा अग्रता लिएको पुलिसले ५ मिनेटपछि नै दोस्रो गोल गर्‍यो । ५७ औं मिनेटमा तेज तामाङको पासमा पेनाल्टी एरियामा रहेका दिनेश राजवंशीले हेडमार्फत गोल गरे । ७२ औं मिनेटमा नीरकुमारको पासमा मध्यभाग नजिकैबाट विपक्षी डिफेण्डर सबै बिट भएको अवस्थामा सुमन लामाले सुन्दर गोल गरे । यसअघि, झापाविरुद्धको पहिलो खेलमा १-० गोलको कठिन जित निकाल्ने क्रममा सुमनले नै गोल गरेका थिए । म्यान अफ दि म्याच घोषित लामा दुंर्इ खेलमा दुंर्इ गोलका साथ प्रतियोगितामा उच्च गोलकर्ता हुन् ।

एकपछि अर्को गोल व्यहोरेपछि मनाङ आक्रामक बनेको थियो । तर, उसका एकपछि अर्को प्रहार असफल भयो । ८२ औं मिनेटमा क्याप्टेन अनिल गुरुङले मिलाइदिएको पास पेनाल्टी एरियामा रहेका विशाल राईले सान्त्वना गोल फर्काए । त्यसपछि थप गोल भएन र मनाङ पुलिससँग ३-१ गोलले स्तब्ध बन्यो । खेलको शुरुदेखि नै दुवै टीम आक्रामक थियो । छरितो खेलमा दुवैले गरेका प्रहार खेर गए । पोखरेली अनिल गुरुङ, हेमन गुरुङले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्न सकेनन् भने मनाङबाट खेल्नकै लागि जापानबाट आएका सन्तोष साहुखलले नोटिस गेम खेलेनन् ।

पुलिसका प्रशिक्षक अनन्तराज थापाले योजना अनुरुप नै खेलाडीले खेल खेल्दा जित सहज भएको बताए । उनले पुलिस लयमा फर्किएको दाबी गरे । ‘खेल दौरानमा रेप|mीले नै सचेत गराउनुपर्ने गरी किन चर्को आवाजमा खेलाडीलाई निर्देशन दिनुपरेको’ भन्ने प्रश्नमा उनले खेलाडीलाई समय अपुग भएका कारण आफूले निर्देशन दिएको प्रतिक्रिया दिए ।

धरानविरुद्धको खेलमा राम्रो प्रदर्शन गर्ने उनको भनाइ छ । मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले विदेशी चार खेलाडीबिना नै मैदानमा उत्रिँदा त्यसको असर खेलमा परेको बताए । पहिलो हाफमा आफ्ना खेलाडीले खेललाई इजी लिएको भन्दै उनले दोस्रो हाफ जस्तै गरी खेलेको भए नतिजा उल्टन सक्ने जिकिर गरे । खेलमा जित हार स्वभाविक भएकाले आफू अचम्मित नभएको उनको भनाइ थियो । मनाङ विगत ४/५ वर्षदेखि रक्षापंक्तिमा विदेशी खेलाडीकै भर परेको उनको भनाइ थियो । मंगलबारको खेलमा विदेशी खेलाडी भिक्टोर, मुसो, सोलोलगायत खेलाडी खेल्न पाएनन् । वर्क परमिट नभएकालाई खेलमा प्रतिबन्ध लगाएपछि उनीहरुले खेल्न नपाएका हुन् । यसअघि, आयोजक सहारा, थ्रीस्टारका विदेशी खेलाडी पनि मैदान छिर्न पाएका थिएनन् । पहिलो सेमिफाइनलमा बुधबार थ्रीस्टारले उत्तर बरिन्धरा क्लब, बंगलादेश प्रतिष्पर्धा गर्नेछ । तीन दिन दिन अघिमात्रै मनाङलाई १-० गोलले हराउँदै इटहरी गोल्डकप जितेको थ्रीस्टारले एपीएफविरुद्ध टाइब्रेकरमा नतिजा आफ्नो पक्षमा पार्दै सेमिफाइनलको यात्रा तय गरेको हो । थ्रीस्टार चार पटकको विजेता हो भने उत्तर बरिन्धरा पहिलो पटक सहभागिता जनाएको हो। उसले क्वाटरफाइनलमा सुदूरपश्चिम स्पोर्टिङ क्लबलाई २-१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width