मुख्यमन्त्री भित्र्याउन सिंगारिँदै सिंहदरबार

आदर्श समाज सम्वाददाता
माघ १६, २०७४
FINAL 2

पोखरा, १५ माघ । यतिबेला सरकारको ध्यान प्रदेश सरकार गठन र उनीहरुको व्यवस्थापनमा केन्द्रित छ । सबै प्रदेशका अस्थायी केन्द्रमा नयाँ संरचना अनुसारको सरकार भित्र्याउने चटारो उत्तिकै छ । मन्त्रालय (मिनी सिंहदरबार) र मन्त्रीका निवास सिंगारपटारमा कर्मचारीको पूरै बल परिचालित छ ।

पोखरा सबैले निर्विकल्प राजधानी मान्छन् । त्यसकै आडमा सरकारले यहाँका संरचना बढी स्थायी खालको बनाउँदैछ । सकेसम्म लामो समय फेरवदल नहुने गरी मन्त्रालय र क्वार्टर निर्माणको काम चलिरहेको श्रोत बताउँछ । ‘प्रदेश ४ को राजधानी पोखराबाट यताउति हुने सम्भावना कम छ । त्यसैले यहाँका संरचना बढी स्थायी खालको बनाउन लागिएको हो’-श्रोत भन्छ-ढिलै भएपनि मर्मत र आवश्यकता परे नयाँ निर्माणमा पनि कञ्जुस्याइँ हुँदैन ।’ सीप विकासको बन्दै गरेको भवन मुख्यमन्त्रीको कार्यालय हुनेवाला छ । ‘भवनको ठेक्का चैतमा सकिने हो । तर केही कोठाहरु हप्ता १० दिनमै सक्न भनेका छौं’- भवन डिभिजन कार्यालय पोखराका प्रमुख तथा प्रादेशिक संरचना प्रश्ताव समितिका सदस्य किशोरलाल महाजुले भने-‘मुख्यमन्त्री नियुक्त हुनेबेला सम्म काम सकिन्छ होला । नसकिए मुख्यमन्त्रीलाई केही समय जिल्ला समन्वय समितिमा भित्र्याउने योजना छ ।’ थप ठेकेदार समेत परिचालन गरेर धमाधम काम भैरहेकाले मुख्यमन्त्रीको नियुक्ति अघि नै केही कोठा तयार भैसक्ने उनले बताए ।

उता, मुख्यमन्त्रीको निवासका लागि पोखरा लेखनाथ महानगरपालिकाको आवासगृह मर्मत भैरहेको छ । फेवाताल किनारमा रहेको यो भवन सुरक्षाका दृष्टिले बलियो छ । मर्मतको हतारोले टेण्डर समेत ननिकाली काम भैरहेको महाजुले जानकारी दिए । उनका अनुसार सरकारले साढे ७ करोड मर्मतका लागि बजेट निकासा गरेको छ । ‘खर्चको सिलिङ निस्किएको छैन । इमरजेन्सी काम लगाएर बिल जम्मा गरिरहेका छौं’-उनी भन्छन्-‘सकेसम्म न्यूनतम बजेटमा काम सक्ने निर्देशन छ । निकासा भएको बजेटभित्रै मर्मत सक्ने कोशिस गरिरहेका छौं ।’ यसअघि २८ करोड रुपैयाँ खर्च अनुमान सहित सिफारिस समितिले बजेट मागेको थियो । सरकारले भने एकमुष्ठ १ अर्ब बजेट निकासा गरेर भाग लगाएको हो । प्रदेश ४ मा ५ वटा मन्त्रालय बनाउने निर्देशन पाएको सहायक क्षेत्रीय प्रशासक बाबुराम गौतम बताउँछन् । ‘२ वटा मन्त्रालय सीप विकास भवनभित्रै अटाउछ । एउटा शहरी विकासकै भवनमा राख्ने तयारी छ’-उनले भने-‘बाँकी मन्त्रालय सहकारी डिभिजन, क्षेत्रीय शिक्षा र हुलाक कार्यालयमा राख्ने योजना छ ।’ क्लष्टर मिलाउनका लागि एकैतिरका कार्यालयमा मन्त्रालय राख्न लागिएको उनले बताए । सीप विकासको भवनमा मुख्यमन्त्रीसहित गृह र अर्थ मन्त्रालय राख्ने बुझिएको छ । समितिले कार्यालय सिफारिस गरे पनि कुन ठाउँमा कुन मन्त्रालय राख्ने भन्ने अझै टुंगिएको छैन । यो प्रदेशको प्रदेशसभा नदीपुरस्थित नगर प्रशिक्षण केन्द्रमा राखिनेछ । सांसदहरुको शपथ समेत सोही भवनबाट गराइएको थियो । संरचना सिफारिस समितिको प्रस्ताव अनुसार नै अधिकांश कार्यालयहरु छनौट भएका छन् । सभामुखको आवास चाहीँ पर्यटन कार्यालय एयरपोर्टमा र मन्त्रीहरुको आवास सिञ्चाईंका क्वार्टरमा रहनेछन् । सातादिन भित्रै मर्मत सक्नेगरी सबै भवनहरुमा यतिबेला धमाधम काम चलिरहेको छ । संघीय प्रशासनिक पुनःसंरचना समितिले विभिन्न ७ मन्त्रालय रहनेगरी सरकारलाई प्रश्ताव गरेको थियो । प्रस्तावका आधारमा प्रदेशमा प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालय, प्रदेश गृह मन्त्रालय, प्रदेश अर्थ मन्त्रालय, प्रदेश पूर्वाधार विकास मन्त्रालय, प्रदेश कृषि तथा भूमि व्यवस्थापन मन्त्रालय, प्रदेश वन, विज्ञान तथा वातावरण मन्त्रालय र प्रदेश शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय रहनेछ । यद्यपि कम सांसद भएका प्रदेशमा मन्त्रालयको संख्या पनि प्रतिशतका आधारमा अझै खुम्च्याउन लागिएको छ । पूरा सांसदको १० प्रतिशत मात्रै मन्त्रालय बनाउने बिषयमा पछिल्लो छलफल चलेको छ । यसअघि २० प्रतिशतसम्म मन्त्रालय राख्ने खाका बनेको थियो । ‘१० र २० प्रतिशतको विषय टुंगिसकेको छैन । १० प्रतिशत बनाउन धेरैको सहमति जुटेको सुनेको छुु-प्रदेश प्रमुख बाबुराम कुँवर भन्छन्-‘दीर्घकालका लागि आर्थिक चुनौती भएकाले सकेसम्म सानो आकारको मन्त्रिमण्डल बनाउँदा संघीयता कार्यान्वयन बढी सहज हुन्छ ।’ सरकारले खाका दिए पनि प्रदेशसभाको निर्णयले आवश्यक्ता अनुसार मन्त्रिमण्डल थपघट हुन सक्छ । प्रदेश ४ को पहिलो बैठक माघ २२ मा बोलाइएको छ ।

निर्वाचनको नतिजा सार्वजनिक भएको ३० दिनभित्रै पहिलो बैठक बोलाउनुपर्ने संवैधानिक व्यवस्था भएकाले प्रदेश प्रमुख कुवँरले २२ गतेका लागि बैठक आहृवान गरेका हुन् । पोखरा नगर विकास प्रशिक्षण केन्द्रमा बिहान ११ बजेलाई बैठक डाँकिएको प्रदेश प्रमुख कार्यालयका सहसचिव देवीप्रसाद ज्ञवालीले जानकारी दिए । प्रदेशसभा सचिवालयका लागि सरकारले खटाएका कर्मचारीहरु अहिलेसम्म पोखरा आइपुगेका छैनन् । त्यसो त शपथ गराएर काठमाडौं लागेका प्रदेश प्रमुख पनि उतैतिर व्यस्त छन् । २० गतेमात्रै उनी पोखरा आउने कार्यक्रम छ । कर्मचारी चाहीँ मंगलबार पोखरा आइसक्ने बुझिएको छ ।

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…

hero news full width