हरिहर क्षेत्रमा योगा पर्यटनको खोजी

आदर्श समाज सम्वाददाता
माघ ८, २०७४
tourism taan

पोखरा, ७ माघ । योगा पर्यटन र धार्मिक पर्यटनलाई समेत प्रवर्द्धन गर्ने गरी कास्कीको भलामस्थित हरिहर गुफालाई समेटेर ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल -टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले शनिबार एक दिने पदयात्रा (डे हाइक) सम्पन्न गरेको छ ।

संसारकै होचो स्थानमा रहेको हिमताल भनी प्रचारित कास्कीको कफुचे ताललाई लक्षित गरी एक हप्ता लामो पदयात्रा मार्गको खोज तथा अनुसन्धान सम्पन्न गरेको केही दिन पछि टानले छोटो समयको पदयात्रा चाहने पर्यटकका लागि डे हाइकका लागि अको नयाँ मार्ग विकास गर्न खोजेको हो ।

दीपबाट भलामको हरिहर गुफा हुँदै अर्मलाकोट उक्लिएर टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखरा अन्तर्गतका ४० व्यवसायी आँटीघर मौजा हुँदै पोखरा झरेका थिए । समय कम भएका पर्यटकका लागि पोखरा वरपरका डाँडाकाँडा घुमाउने उद्देश्यले यो मार्ग विकास गर्न लागिएको टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष दीपकराज अधिकारीले जानकारी दिए ।

हरिहर गुफामा विक्रम सम्बत् १९०६ मा श्री ३ जंगबहादुर राणाको पालामा हरिहर भगवानको पूजा गर्ने थालनी भएपछि गुफा अस्तित्वमा आएको गुफा व्यवस्थापन समितिका पूर्व उपाध्यक्ष विष्णु खत्रीले जानकारी दिए । हरिहर गुफा पोखराबाट एक घण्टाको पैदल दुरीमा रहे पनि ओझेलमा परेको उनले सुनाए ।

गुफा क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने प्रशस्त संभावना आफूहरुले पाएको टानका पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष अधिकारीले बताए । गुफा क्षेत्र वरपर शान्त वातावरण भएका कारण योगा पर्यटनको पनि उत्तिकै संभावना रहेको भनाइ अधिकारीको छ ।

डे हाइकका क्रममा गुफा पुगेको टान टोलीले त्यहाँ स्थित सन्न्यास आश्रमका एकदर्जन वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरेको थियो । टोलीमा अमेरिकी तथा कोरियाली नागरिक समेत सहभागी भएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width