गठबन्धनको एकता संयोजक समितिको बैठक आज

आदर्श समाज सम्वाददाता
माघ ७, २०७४

काठमाडौं, ६ माघ । लामो समयको अलमलपछि वाम गठबन्धनले एकता प्रक्रियालाई गति दिने भएको छ । प्रक्रियालाई गति दिनेबारे छलफल गर्न आइतबार दिउँसो एकता संयोजन समितिको बैठक बस्दैछ ।

नेकपा एमालेका अध्यक्ष केपी ओली एकसाताको बैंकक बसाइँपछि स्वदेश फिर्ता भएलगत्तै एकता प्रक्रियालाई गति दिनेबारेमा सहमति भएको हो । ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार र शनिबार राष्ट्रियसभा निर्वाचन र पार्टीएकता प्रक्रियाको बारेमा गम्भीर छलफल गरेका हुन् । दुर्इ नेताबीचको छलफलमा आइतबार एकता संयोजन समितिको बैठक गर्ने सहमति भएको हो । दुर्इ नेताहरुबीचको बैठकले एकता संयोजन समितिको बैठकको एजेण्डा समेत तय गरेका छन् ।

ओलीनिवास बालकोटमा भएको छलफलमा दिउँसो ३ बजे संयोजन समितिको बैठक बस्ने छ । भेटपछि संक्षित प्रतिक्रिया दिँदै माओवादी अध्यक्ष दाहालले भने-‘बैठकका एजेण्डा र लिने निर्णयबारे छलफल भएको छ ।’

नेताहरुका अनुसार बैठकमा प्रदेश सरकार र राष्ट्रियसभा निर्वाचनबारे गृहकार्य गर्न बनेको कार्यदलले औपचारिक रुपमा रिपोर्ट बुझाउनेछ ।

कार्यदलले राष्ट्रियसभाका ४३ सिटमा २९ एमाले र १४ माओवादीले पाउने सहमति जुटाएको छ । मुख्यमन्त्री र सभामुखबारे भने सहमति जुट्न बाँकी छ । माओवादीले २ मुख्यमन्त्री पाउने देखिएको छ भने सभामुख ४ दाबी गरेको छ । कार्यदलको रिपोर्टमा आवश्यक परे सामान्य हेरफेर गरेर अघि बढ्न दुवै अध्यक्ष सहमत छन् ।

एकता संयोजन समितिको आइतबारको बैठकमा वैचारिक राजनीतिक तथा संगठन र नेतृत्वबारे छलफल हुने नेताले बताएका छन् । पार्टीको नेतृत्वबारे दुर्इ अध्यक्षबीच कुराकानी भएको तर ठोस सहमतिमा नपुगिसकेको नेताहरुले जानकारी दिए । दुर्इ अध्यक्षबीच शुक्रबार पनि झण्डै ३ घन्टा वान टु वान छलफल भएको थियो ।

यसैबीच, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी र एमाले एकताको विरोध गर्नुको औचित्य नरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा भएको कार्यक्रममा उनले अब एमाले र माओवादी अलगअलग पार्टीहुनुको कुनै कारण नभएको बताए । ‘हामीले १० वर्ष शान्तिपूर्ण रुपमै समाजवादको तयारी गर्ने भनेका छौ’-उनले भने-‘उहाँहरुले पनि त्यही भन्नुभएको छ । समान राजनीतिक कार्यदिशा भएपछि अलग-अलग पार्टीको अस्तित्व राख्नु उचित हुँदैन ।’

वैचारिक विषयमा छलफल शुरु भएको भन्दै उनले अहिलेसम्म माओवादीले माओवाद र एमालेले जनताको बहुदलीय जनवाद नछाडेको बताए । उनले भने-‘अबको वैचारिक संश्लेषण कसरी गर्ने भन्ने हामी छलफलमा छौं ।’

जनयुद्धको भूमिका र योगदानबारे एमाले र माओवादीबीच विवाद नभएको बताउँदै उनले भने-‘एकले अर्काको पूर्ण सम्मान गरेर र परिस्थिति सुहाउँदो वैचारिक कार्यदिशा बनाएर अघि बढ्छौं । यसमा कसैले शंका गर्नु पर्दैन ।’ एमाले र माओवादी एकताबाट प्रतिक्रियावादीहरु आत्तिएको र आफ्ना केही सहकर्मीहरुले विरोध गरेको भन्दै उनले त्यसको कुनै औचित्य नभएको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width