निर्वाचनबारे दलसँग आयोगको छलफल

आदर्श समाज सम्वाददाता
माघ ३, २०७४

काठमाडौं, २ माघ । निर्वाचन आयोगले तत्काल प्रदेश प्रमुखको नियुक्ति हुनुपर्नेमा दलहरुको ध्यानाकर्षण गराएको छ । मंगलबार निर्वाचन आयोगमा प्रमुख दलका नेताहरुसँग गरेको छलफलमा आयोग पदाधिकारीले प्रदेश प्रमुख नियुक्तिबारे सरकारलाई पटक पटक आग्रह गरेको जानकारी गराउँदै मंगलबार नै प्रदेश प्रमुख नियुक्ति हुनेमा आयोग विश्वस्त रहेको समेत अवगत गराएको थियो ।

आयोगले राष्ट्रिय सभा निर्वाचनको कार्यक्रम र प्रक्रियाबारे प्रमुख पाँच राजनीतिक दलका नेतासँग छलफल गरेको हो । छलफलमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले यही माघ २४ गते हुने निर्वाचन कार्यक्रमका बारेमा जानकारी गराउँदै तोकिएको समयमा नै निर्वाचन सम्पन्न गर्नुपर्ने भएकोले तत्काल प्रदेश प्रमुख नियुक्ति हुनुपर्ने बताए ।

छलफलमा राष्ट्रिय सभा निर्वाचन सञ्चालन, व्यवस्थापन, मतदान र मतगणनाको प्रक्रिया, मत्रपत्रको ढाँचा, आयोगले हालसम्म गरेको तयारी र दलहरुबाट आयोगले गरेको अपेक्षालगायतका विषयमा छलफल एवं परामर्श लिएको निर्वाचन आयोगले जनाएको छ । दलहरुले आयोगको तयारीप्रति सन्तोष प्रकट गर्दै मतपत्र मतदातामैत्री एवं व्यावहारिक हुनुपर्ने सुझाव दिएका थिए ।

छलफलमा प्रमुख निर्वाचन आयुक्त यादवले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र र विश्वसनीय ढङ्गले सम्पन्न गर्न दलहरूको भूमिकाको प्रशंसा गर्दै जनताले गोप्य मतदानबाट व्यक्त गरेको अभिमतलाई आयोगले उच्च सम्मान गर्ने बताए । प्रदेश सभाको निर्वाचन सम्पन्न गर्न प्रदेश प्रमुखहरूको नियुक्ति छिटोभन्दा छिटो होस् भनी औपचारिक र अनौपचारिक रूपमा सरकारको ध्यानाकर्षणसमेत गराइसकेको जानकारी दिए ।  यादवले सरकारबाट राष्ट्रिय सभा सदस्यको निर्वाचनको मिति घोषणा भएसँगै आयोगले निर्वाचनको तयारीलाई तीव्र बनाएको र नियमावली, निर्देशिका बनाउने कार्य अन्तिम चरणमा पुगेको अवगत गराए । उनले माघ ७ गते मतदाताको नामावली प्रकाशन गर्ने गरी कार्यक्रम प्रकाशित भइसकेको र प्रदेश सभा सदस्यमा निर्वाचित उम्मेदवाहरूको घोषणा गरी विवरण प्रदेश प्रमुखलाई बुझाउन आयोग आतुर रहेको बताए । उनले निर्धारित कार्यतालिका बमोजिम नै राष्ट्रियसभा सदस्यको निर्वाचन सम्पन्न गराउन आयोग दृढ रहेको बताए ।

यादवले प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मत परिणामलाई सार्वजनिक गर्न आयोगलाई संवैधानिक र कानुनी अड्चन भएको हुँदा परिणाम छिटोभन्दा छिटो सार्वजनिक गर्न आयोग तत्पर रहँदारहँदै पनि सम्भव हुन नसकेको जिकीर गरे । राष्ट्रियसभाको निर्वाचन सम्पन्न नभई प्रतिनिधि सभाको समानुपातिकतर्फ दलहरूले प्राप्त गरेको सिट तोक्न र दलहरूलाई बन्द सूचीमा रहेका उम्मेदवारमध्ये विजयी हुने उम्मेदवारको नाम घोषणा गर्न र दलहरूलाई पत्राचार गर्न आयोग असमर्थ रहेको उनको भनाइ थियो । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि माघ १२ गतेबाट निर्वाचन आचारसंहिता लागू हुने आयोगले जनाएको छ । बैठकपछि नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचन कार्यक्रम तथा प्रक्रियाबारे जानकारी गराएको बताए ।

नेपाली काँग्रेसका नेता रमेश लेखकले राष्ट्रियसभाको निर्वाचन बारेमा आयोगले गरेका तयारीका बारेमा छलफल भएको बताए । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश र स्थानीय तहका गरी २ हजार ५६ मतदाता रहेका छन् । छलफलमा नेकपा (एमाले) का नेताहरु सुवास नेम्बाङ, अग्नि खरेल, नेपाली कां’ग्रेसका बालकृष्ण खाँड, रमेश लेखक, नेकपा (माओवादी केन्द्र) का नारायणकाजी श्रेष्ठ, देव गुरुङ, रामनारायण बिडारी, संघीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठ र राष्ट्रिय जनता पार्टीनेपालबाट महन्थ ठाकुरलगायतका नेताहरु सहभागी थिए ।

सरकारले अझै तोकेन प्रदेश प्रमुख

प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न भन्दै मंगलबार बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुखको नियुक्तिमा दलीय सहमति खोजे पनि त्यो सफल हुन नसकेपछि बैठक स्थगित भएको मन्त्रिपरिषद श्रोतले जनाएको छ ।

स्थगित मन्त्रिपरिषद् बैठक बुधबार बिहान बस्ने तयारी रहेको बताइएको छ । प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न विपक्षी दलको पनि सहमति खोज्न प्रधानमन्त्री देउवाले एमाले र माओवादी केन्द्रका नेतासँग औपचारिक संवादको प्रयास गरे पनि सफल हुन नसकेपछि बैठक नै सारिएको जनाइएको छ । दलीय सहमति जुट्न नसक्दा सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न ढिलो गरेको छ । एमाले र माओवादी केन्द्रले संवैधानिक रुपमा प्रदेश प्रमुख र अस्थायी राजधानी निर्धारण गर्ने अधिकार सरकारलाई मात्र भएको बताउँदै त्यसमा आफ्नो सहमति नचाहिने बताउँदै आएका छन् । तर, प्रधानमन्त्री देउवाले भने प्रदेश प्रमुख नियुक्ति र अस्थाई मुकाम तोक्न दलहरुको सहमति चाहिने बताउँदै आएका छन् ।

सरकारले प्रदेश प्रमुख नतोक्दा निर्वाचन आयोगले प्रदेशसभाको परिणाम बुझाउन सकेको छैन ।

Related News

सम्बन्धित समाचार

hero news full width