तराईमा राहत घोषणा

आदर्श समाज सम्वाददाता
पौष २५, २०७४

काठमाडौं, २४ पुस। बढ्दो चिसो र शीतलहरका कारण तराईको जनजीवन कष्टकर बन्दै गएको छ। चिसोका कारण झण्डै दुर्इ दर्जनको ज्यान गइसकेको छ भने अधिकांश विद्यालय बन्द भएका छन्। चिसोले बालबालिका र ज्येष्ठ नागरिक गम्भीर रुपले प्रभावित भएका छन्।

बढ्दो चिसोको असरलाई सम्बोधन गर्दै सरकारले तराईका २२ जिल्लामा २ करोड २२ लाख रुपैयाँ बराबरको राहत वितरण गर्ने निर्णय गरेको छ।

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृह मन्त्रालयले उक्त निर्णय गरेको हो। गृह मन्त्रालयले तराईका २२ जिल्लामा एउटा जिल्लामा १० लाख रुपैयाँको कम्मल, दाउरा लगायत न्यानो सामग्री वितरण गर्ने निर्णय गरेको हो। गृहले सोमबार नै सरकारको मौज्दातमा रहेका कम्मल लगायत सामग्री पनि तत्काल तराईका २२ जिल्लामा पठाउने तयारी गरेको छ। गृहले जिल्लास्थित स्थानीय विपत व्यवस्थापन समितिको सिफारिसमा उक्त राहत वितरण गर्ने निर्देशन समेत गरेको छ। गृहले तत्काल केन्द्रीय दैवीप्रकोप उद्दार कोषबाट उक्त रकम वितरण गर्ने भएको हो।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलहर र झाडापखला तथा ज्वरोका कारण देशका विभिन्न भागमा मानवीय क्षति भएकोप्रति दुःख व्यक्त गरेका छन्। केही दिनयता शीतलहरबाट तराई क्षेत्रमा मानवीय क्षति भएको र पश्चिम पहाडका केही क्षेत्रमा फैलिएको झाडापखाला र ज्वरोका कारणबाट मानवीय क्षति भएको भन्दै राष्ट्रपति भण्डारीले नागरिकको दैनिक जीवनयापनमा परेको कठिनाइप्रति सरकारको ध्यानाकर्षण गराएको छ।

राष्ट्रपति कार्यालयबाट निकालिएको विज्ञप्तिमा यस्ता समस्याको उचित र दीगो व्यवस्थापनको लागि राष्ट्रपति भण्डारीले पूर्व तयारी हुनुपर्ने आवश्यकता औल्याएकी छन्।

Related News

सम्बन्धित समाचार

hero news full width