प्रदेश प्रमुख केही दिनमै

आदर्श समाज सम्वाददाता
पौष २३, २०७४

काठमाडौं, २२ पुस । सरकारले केही दिनमा नै प्रदेश प्रमुख नियुक्तिको तयारी गरेको छ । तर, वर्तमान सरकारले प्रदेशको अस्थायी राजधानी भने नतोक्ने भएको छ ।

शनिबार काठमाडौमा भएको एक कार्यक्रममा वाणिज्यमन्त्री मीन विश्वकर्माले यस्तो खुलासा गरेका हुन् ।मन्त्री बस्नेतका अनुसार अब बस्ने मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुखहरुको नियुक्ति गरिने जानकारी दिए । ‘हामी त्यसको लागि पूरै तयारीमा जुटिसकेका छौं तर प्रदेशको अस्थायी तोक्ने काम हामी गर्दैनौं’-उनले भने । प्रदेशको अस्थायी राजधानी तोक्नेबारे सर्वदलीय बैठकमा छलफल गर्दा  अन्य दलहरुले चासो नदिएकोले यो सरकारले मात्रै अपजस नलिने उनको भनाइ थियो ।

‘सहसचिवको नेतृत्वमा अध्ययन कार्यदल बनेको छ, अस्थायी राजधानी तोक्नेबारे सुचना चुहावट गर्दा देशभरि आन्दोलन चलिरहेको छ’-उनले थपे-‘एमाले, माओवादी, फोरम र राजपालाई बोलाएर सर्वदलीय बैठक बस्दा उहाँहरु पन्छिनुभयो । आन्दोलन भैरहेको बेला, निर्णय गर्न हुँदैन भन्ने हाम्रो निष्कर्ष छ ।’

संविधानतः प्रदेशसभाले नै प्रदेशको राजधानी तोक्ने उल्लेख गर्दै विश्वकर्माले भने-‘सरकारले अस्थायी राजधानी तोक्ने हो तर बहुमत कहीँ पनि छैन । यो सरकारको कार्यकालमा अस्थायी राजधानी तोक्ने काम हुँदैन । आपसी समझदारीका आधारमा काठमाडौंमा कहीँकतै शपथग्रहण गर्ने र उहाँहरु आफ्नो कार्यक्षेत्र र्फकने सम्भावना हुन्छ ।’ उनले फागुनयता नयाँ सरकार गठन नै नहुने पनि जिकिर गरे ।

यसैबीच, नेकपा एमालेका पोलिट्व्यूरो सदस्य एवम् नवनिर्वाचित सांसद लालबाबु पण्डितले राष्ट्रियसभाको निर्वाचनसम्म यो सरकारलाई आफूहरुले कुरेर नबस्ने बताए । नेता पण्डितले निर्वाचनपछि पनि वर्तमान प्रधानमन्त्री देउवा नेतृत्वको सरकार रुगेर बसिरहे धकेलेरै बाहिर फालिदिने चेतावनी दिए।

‘प्रदेशको प्रमुखको नियुक्तीमा धेरैको चासो रहेको छ, राजधानी बनाउने विषयमा ठाउँठाउँमा आन्दोलन भैरहेका छन् । कतिपय ठाउँमा हाम्रो ठाउँमा मान्नुपर्छ भनेर माग आइरहेको छ’-उनले भने । सरकारलाई प्रदेश प्रमुख तोक्न र राजधानी तोक्नको लागि कसैले नरोकेको उल्लेख गर्दै नेता पण्डितले भने-‘सरकारले नतोकिरहेको एउटा स्थिति छ । यदि सरकार तोक्न सक्ने हैसियतमा छैन भने सरकार छोड्नुपर्‍यो ।’

उनले यही स्थिति विगतमा पनि प्रदेशको सिमांकन गर्दा र्‍याइँर्‍याइँ अवस्था रहेको स्मरण गराउँदै भने-‘संविधान नै जारी हुन दिन्नौं भन्ने थियो। त्यसकारण यसमा ढिलाइ गर्नु हुँदैन सरकारले तोक्नुपर्‍यो।’

Related News

सम्बन्धित समाचार

hero news full width