‘आयोगविरुद्ध लाञ्छना नलगाऊ’

आदर्श समाज सम्वाददाता
पौष २०, २०७४

काठमाडौं, पुस १९ ।प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनको नतिजा घोषणा गर्ने विषयलाई जोडेर संवैधानिक निकाय निर्वाचन आयोगमाथि अनेक किसिमका लाञ्छना लगाएको भन्दै असन्तुष्ट जनाएका छन् । आयोगको छविलाई धुमिल र कमजोर बनाउने काम नगरिदिन उनले राजनीतिक दल र तिनका भ्रातृ संगठनको ध्यानाकर्षण समेत गराएका छन् । संविधान र लोकतन्त्रलाई क्षणिक ढंगबाट व्याख्या र विश्लेषण नगर्न आग्रह गर्दै उनले संविधान र कानुनले तय गरेको सबै विधि र प्रक्रिया पूरा गरेरमात्रै निर्वाचनको नतिजा सार्वजनिक हुने भएकाले शान्तिपूर्ण सत्ता हस्तान्तरणको प्रतीक्षा गर्न सुझाव दिए ।

डा यादवले प्रदेशसभाको निर्वाचनको नतिजा कहाँ बुझाउने प्रश्न राख्दै प्रदेश प्रमुख नभइनहुने बताए । प्रतिनिधिसभाको समानुपातिकतर्फको नतिजा घोषणा गर्ने काम नसकिएको जनाउँदै उनले कानुनमा स्पष्टरुपमा भएका प्रावधानलाई छोडेर त्यसको भाव र समग्र अर्थको खोजी गर्नु व्यावहारिक नहुने धारणा राखे ।

यसैबीच, निर्वाचन आयोगले बुधबार नै विज्ञप्ति जारी गर्दै निर्वाचन परिणाम सार्वजनिक गर्ने क्रम जारी रहेको अवस्थामा आयोगप्रति कतिपय सरोकारवालाले मत परिणाम सार्वजनिक गर्न ढिलाइ गर्‍यो भनी लाञ्छना लगाएको भन्दै गम्भीर असन्तुष्टि जनाएको छ । यस्ता कार्यबाट आयोगको मानमर्दन हुने र यस्ता अराजक गतिविधि सञ्चालन नगर्न आयोगले आग्रह समेत गरेको छ । नेपालको इतिहासमै पहिलो पटक प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन एकै पटक सम्पन्न गरी पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मत परिणाम समयमै सार्वजनिक गरिसकेको र समानुपातिक नतिजा पनि जारी गर्ने तयारीमा रहेको अयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मत परिणामलाई समानुपातिक निर्वाचन अधिकृतको कार्यालयबाट अहोरात्र खटेर तयार पार्ने कार्य भइरहेको छ । राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्पन्न नभई उक्त परिणाम सार्वजनिक गर्न आयोगलाई संवैधानिक र कानुनी अड्चन भएको हुँदा परिणाम छिटोभन्दा छिटो सार्वजनिक गर्न आयोग आतुर हुँदा हुँदै पनि सम्भव हुन सकेको छैन’-विज्ञप्तिमा जनाइएको छ ।

संविधानसभाबाट जारी नेपालको संविधानमा व्यवस्था भए बमोजिम स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न भएको र देशमा सङ्क्रमण कालको अन्त्य भई हामी नयाँ युगमा प्रवेश गरिसकेको भन्दै आयोगले नेपाली जनताले गोप्य मतदानबाट व्यक्त गरेको अभिमतलाई उच्च सम्मान एवं संविधान र कानुनको अक्षरशः पालना गर्दै अगाडि बढ्न आयोग दृढ सङ्कल्पित रहेको जनाइएको छ । निर्वाचनको परिणाम छिटो घोषणा होस् भनेर संविधान र कानुनले तोकेको विधि एवं प्रक्रियालाई नजरअन्दाज गरी उत्तेजना फैलाउन तथा संवैधानिक आयोगको मानमर्दन गरी आयोगलाई लाञ्छना लगाउने क्रियाकलाप नगर्न सम्बन्ध सरोकारवालासँग आयोगले अपीलसमेत गरेको छ ।

दाहालद्वारा आयोगको आलोचना 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएर नयाँ सरकार निर्माणको प्रक्रिया शुरु नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । पार्टीकार्यालय पेरिसडाँडामा पार्टीनिकट जनवर्गीय संगठनले गरेको बधाई तथा शुभकामना कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले परिणाम सार्वजनिक भइसकेको अवस्थामा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएर सरकार निर्माणको सहज मार्ग प्रशस्त गर्दा उचित हुने धारणा राखे । दाहालले कानुनी व्यवस्थाका कारण केही ढिलाइ भए तापनि अध्यादेश जारी भएसँगै राष्ट्रियसभाको निर्वाचन प्रक्रिया अगाडि बढेकाले नयाँ सरकार गठनका लागि कुनै समस्या नभएको स्पष्ट पारे । पार्टीएकताका विषयमा दुर्इ पार्टीबीच निरन्तर छलफल चलिरहेको उल्लेख गर्दै उनले पार्टीएकता संयोजन समितिको बैठक चाँडै बस्ने जानकारी दिए । नेपाली काँग्रेसले प्रधानमन्त्रीका लागि आफूलाई प्रस्ताव गरेको विषयमा उनले भने-‘मैले गठबन्धनभन्दा बाहिर गएर प्रधानमन्त्री बन्ने सोचेको छैन ।’ अध्यक्ष दाहालले वाम गठबन्धन बनाएर निर्वाचनमा गएको बताउँदै पार्टीएकताको संकल्प गरेर निर्वाचनमा गएको बताए ।

यसैबीच माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले एमाले माओवादी एकतामा पदीय भागबण्डा मुख्य बाधक नरहेको बताएकी छन् भुसालले दुर्इ पार्टीका अध्यक्षबीच भएको सहमति र पार्टीएकता संयोजन समितिको संवाद अनुरुप नै पार्टीएकीकरण छिट्टै हुने र पदीय भागबण्डाको विषयले पार्टीएकीकरणमा कुनै असर नपर्ने बताइन् । उनले एमाले र माओवादी केन्द्रबीचको पार्टीएकीकरणपछि कसले सरकारको नेतृत्व भन्ने बिषय गौण भएको धारणा राखे । बर्तमान सरकारले जनमतको ख्याल नगरी निर्वाचनमा पराजय पश्चात पनि सत्ता लम्ब्याउन खोजेको भन्दै नैतिकताको आधारमा यो सरकारले छिटो सत्ता छाड्नु पर्नेमा जोड दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width