प्रमद्वारा सर्वदलीय बैठक आह्वान

आदर्श समाज सम्वाददाता
पौष २०, २०७४

काठमाडौं, पुस १९ । निर्वाचन सम्पन्न भइ सरकार गठनको प्रक्रियामा देखिएको संवैधानिक जटिलताको बारेमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार सर्वदलीय बैठक आह्वान गरेका छन् ।

राष्ट्रिय सभा गठन, प्रदेश प्रमुख नियुक्त, प्रदेश राजधानी तय लगायत विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ। बैठकका लागि नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुलाई बोलाएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । सर्वदलीय बैठकअघि प्रधानमन्त्रीले वर्तमान राजनीतिक गतिरोधको निकासका लागि परामर्श समेत गरेका थिए । नेताहरुसँगको परामर्श तथा नेपाली काँग्रेसको सुझाव आधारमा प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले प्रधानमन्त्रीले सत्ता हस्तन्तरण गर्न आनाकानी गरिरहेको आरोप लगाएपछि सरकार संचालन गरिरहेका दलहरु र एमालेबीच अविश्वासको वातवरण बनेको छ । एमालेले नयाँ सरकार गठनको लागि राष्ट्रियसभा गठनको आवश्यकता नरहेको बताउँदै आएको छ भने प्रधानमन्त्री देउवाले राष्ट्रियसभा गठनपछि मात्र सत्ता हस्तान्तरण गर्ने बताउँदै आएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width