जिम्मेवार प्रतिपक्ष बन्छौं : डा कोइराला

आदर्श समाज सम्वाददाता
पौष १७, २०७४

पोखरा, १६ पुस। नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली राजनीतिमा पार्टीले जिम्मेवारी प्रतिपक्षको भूमिका खेल्ने बताएका छन्।

सत्तापक्षलाई मात्र आरोप लगाएर काँग्रेसको राजनीति सफल नहुने उनले औंल्याए। ‘उनीहरूलाई दोषमात्र देखाएर हुँदैन’-डा. कोइरालाले भने-‘हामी जिम्मेवार प्रतिपक्ष पनि बन्नुपर्छ। उनीहरूको सही काममा सहयोग र गलत काममा आपत्ति जनाउनुपर्छ।’

राष्ट्रिय एकता दिवस तथा मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेस कास्कीले आइतवार पोखरामा आयोजना गरेको विशेष कार्यक्रममा डा. कोइरालाले यस्तो बताएका हुन्।

डा. कोइरालाले निर्वाचनमा काँग्रेसको हारलाई आफूले ठूलो हार नदेखेको उल्लेख गरे। गणितीय हिसावले काँग्रेसले हारेपनि मतको हिसावले काँग्रेसको हार नभएको उनको तर्क थियो। ‘मतको हिसावले हामीले हारेका छैनौं’-उनको भनाई थियो-‘नेपाली काँग्रेसले हार्नाका कारण र समाधान खोजौं। आरोप र प्रत्यारोपले मात्र समाधान निस्कदैन।’

चुनावी प्रक्रियामा नेपाली काँग्रेसबाट भएको कमी कमजोरीलाई डा. कोइरालाले स्वीकार गरे। उनले भने-‘चुनावी प्रक्रियाको टिकट वितरणमा नेपाली काँग्रेसले गल्ती, कमजोरी गरेकै हो।’ आगामी दिनमा यस्तो गल्ती कमजोरीलाई सुधार गर्नुपर्ने उनको भनाइ थियो। उनले पार्टीले असल कार्यकर्ताको सही मूल्याङ्कन गर्नुपर्नेमा जोड दिए।

डा. कोइरालाले बीपी कोइरालाले अपनाएको नीतिलाई पछ्याउन नेपाली काँग्रेसको आम कार्यकर्तालाई आग्रह गरे। पार्टीसभापतिलाई मात्र दोष दिएर कोही काँग्रेस उम्कन नसक्ने उनले उल्लेख गरे। उनले पार्टीलाई सुधार गरेरै छाडने प्रतिवद्धतासमेत जनाए। ‘मेरो एउटै उद्देश्य छ, बाँकी पाँच वर्षमा पार्टीलाई सुधार गरेर छाड्नुछ’-उनले भने-‘पार्टीलाई कम मत मिलेको कास्की जिल्लालाई नमूना जिल्लाको रूपमा लैजानु छ।’

नेपाली काँग्रेस कास्कीकी नेतृ शारदा पौडेलले नेपाली काँग्रेसलाई कार्यकर्ताले नभई केन्द्रीय नेतृत्व तहले बिगारेको उल्लेख गरिन्। ‘नेपाली काँग्रेस राजनीतिको मियो हो,’ पौडेलले बताइन्, ‘राजनीतिको मियोलाई कसैले बिगार्न सक्दैन।’

नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि देवराज चालिसेले देशमा साम्यवाद छाएको दावी गरे। उनले कम्युनिष्ठहरूले प्रतिपक्ष विनाको राज्य खोज्नु नै उनीहरूको सर्वसत्तावाद रहेको प्रष्ट पारे। सर्वसत्तावाद ढोल पिटेर नभई बिरालो चालमा आउने उनको तर्क थियो। बिरालो चालमा देशमा सर्वसत्तावादको यात्रा शुरु भइसकेको उनको कथन थियो।

कास्कीका नेपाली काँग्रेस नेता खेमराज पौडेलले बीपीले लिएको राष्ट्रिय मेलमिलापको नीतिले देशको ठूला राजनीतिक उपलब्धिहरू प्राप्त भएको औंल्याए। कास्कीबाट प्रदेशसभामा निर्वाचित सदस्य बिन्दुकुमार थापाले चुनावी परिणाम जसको पक्षमा भएपनि देशलाई समृद्धिको दिशामा डोर्‍याउनुपर्ने बताए। एकता दिवसले पार्टीलाई एकतामा बाध्ने विश्वास दिलाए। ‘काँग्रेसमा आबद्ध सबै नेतृत्व र कार्यकर्ताहरू अनुशासित बन्नु जरुरी छ,’ उनले भने, ‘केन्द्रदेखि वडासम्म पार्टीलाई शुद्धिकरणमा लैजानुपर्छ।’

कार्यक्रममा नेपाली काँग्रेस कास्की क्षेत्र नं २ का क्षेत्रीय सभापति मधु बास्तोला, अन्नपूर्ण गाउँपालिका प्रमुख युवराज कुँवर, आदिवासी जनजाति महासंघका जितबहादुर गुरुङलगायतले बोलेका थिए।

कास्कीका पार्टीसभापति कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष लक्ष्मी पाण्डेकाको स्वागत र सचिव रामराज लामिछानेको सञ्चालन रहेको थियो।

पराजयको कारण खोज्न समिति

नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा पार्टीपराजय व्यहोर्र्नुको कारण खोज्न उच्चस्तरीय छानविन समिति बनाउने बताएका छन्। उनले चुनावको परिणाम हेरेर निराश नहुन पनि युवाहरूलाई आह्वान गरेका छन्। नेपाली काँग्रेसका संस्थापक बिपी कोइरालाको मेलमिलाप दिवसको अवसरमा राजधानीमा आइतवार आयोजना भएको कार्यक्रममा सभापति देउवाले निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने चेतावनी समेत दिए।

‘चुनावको परिणाम हेरेर युवा नै किन निराश भएको – म बुढो त निराश भएको छैन। समानुपातिकमा त राम्रै मत आएको छ’- देउवाले भने। उनले भने-‘चुनावमा हार्नुको कारण के हो उच्चस्तरीय छानविन समिति गठन गर्छु स्थानीय निकायमा अन्तर्घात गर्नेलाई कारवाही नगरेका कारण अहिले धेरै अन्तर्घात भयो। अन्तर्घात गर्नेलाई कडा भन्दा कडा कारवाही हुन्छ। छानविन निष्पक्ष तरिकाले हुन्छ।’

उनले निर्वाचनको परिणामलाई लिएर आफ्नो राजीनामा माग गरेका नेताहरूको समेत आलोचना गरे। ‘पार्टीभत्र मेरो विरोध गर्नेले बुझुन्, आफू हार्ने अनि मेरो विरोध गर्ने – उनले पार्टीा नेता रामचन्द्र पौडेललगायतका अन्य नेताहरूप्रति संकेत गर्दै प्रश्न गरे। अहिलेको बेला त-त म-म गरेर कोही बलियो नहुने भन्दै आफ्नै कारणले हारेकाले समीक्षा गरेर अघि बढ्नुपर्ने बताए। उनले काँग्रेसभित्र मेलमिलापसहितको अनुशासन जरुरी रहेको पनि बताए। यसैबीच, राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा काँग्रेसका विद्यार्थी भातृसंगठन नेविसंघले गुटगत रूपमा छुट्टाछुट्टै आयोजना गरेका छन्। नेविसंघले काठमाडौंका तीन स्थानमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका छन्। ती कार्यक्रममा काँग्रेसका नेता पनि प्रष्ट रूपमा बाँडिएका छन्। नेविसंघको संस्थापन पक्षले राष्ट्रियसभा गृहमा र अध्यक्ष पदमा पराजित मनोजमणि आचार्य समूहले त्रिचन्द्र क्याम्पसमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका हुन्। संस्थापन पक्षले आइतवार आयोजना गरेको ‘आजको सर्न्दर्भ र राष्ट्रिय मेलमिलाप’ विषयक विचारक गोष्ठी प्रभावित पार्न मनोजमणि आचार्य समूहले त्रिचन्द्र क्याम्पसमा छुट्टै कार्यक्रम आयोजना गरेको थियो। यस्तै बिपीको राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर नेविसंघका महामन्त्री कुन्दन काफ्ले समूहले शनिवार छुट्टै कार्यक्रम आयोजना गरेको थियो। ती तीन वटै फरक फरक कार्यक्रममा काँग्रेसका फरक फरक नेताहरू उपस्थित भए।

Related News

सम्बन्धित समाचार

hero news full width