पोखरा । पोखरामा मंगलबारदेखि २४ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । सहारा क्लब पोखराको आयोजनामा सुरू प्रतियोगिताको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।
आगामी ३ फागुनसम्म पोखरा रंगशालामा चल्ने प्रतियोगितामा ३ विदेशीसहित १२ टिमले भाग लिएका छन् ।
उद्घाटन समारोहमा मेयर आचार्यले पोखरा पर्यटनको राजधानी मात्र नभई खेलकुदको सहर पनि भएको बताए । आहा रारा पोखराको समेत चिनारी भएकाले पछिल्लो समय पोखरा महानगरपालिकाले संरक्षकत्व प्रदान गरेको जनाए । पोखरासँग विभिन्न राष्ट्रका १४ सहरमा भगिनी सम्बन्ध कायम भएकाले आगामी वर्षदेखि आहा रारामा त्यहाँबाट पनि पाहुना बोलाउने बताए ।
सो अवसरमा यस वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानबाट सनिष श्रेष्ठ सम्मानित भए । उनलाई नगद ५० हजार ५५५ रुपैयाँ र सम्मानपत्रसहित सम्मान गरियो । उक्त पुरस्कार वापतको रकम क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले गर्दै आएका छन् ।
नेपाली फुटबल क्षेत्रमा उत्कृष्ट योगदान दिएवापत क्लबले बर्सेनि एकजना राष्ट्रियस्तरको फुटबल खेलाडीलाई पुरस्कृत गर्दैआएको छ । यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट, अनन्त तामाङ र आयुष घलान सम्मानित भइसकेका छन् ।
यस्तै, ब्रिगेड अफ गोर्खा ब्याण्डले प्रतियोगिता सुरुअघि रंगशालामा ब्याण्ड प्रस्तुत गरेको छ ।
मुख्य प्रायोजकतर्फबाट हिमश्री फुड्सका प्रकाश केसीले प्रतियोगिताको अन्तर्राष्ट्रियस्तरमा चर्चाले खुसी लागेको बताए ।
सहारा हङकङका सल्लाहकार देव गुरुङले ५१ हजार सहयोग गरे । उक्त रकम उनका भाइ नारायणले हस्तान्तरण गरे । पृथ्वी राजमार्ग बस संचालक कम्पनीका तर्फबाट अध्यक्ष योगेन्द्रबहादुर केसीले २ लाख रुपैयाँ थप सहयोग गरे । कम्पनीले यसअघि सहारा अक्षयकोषमा ३ लाख दिइसकेको पूर्व अध्यक्ष वीरभद्र आचार्यले जानकारी दिए ।
यो प्रतियोगिता नेपालमै लामो समयसम्म निरन्तर आयोजित एकमात्र फुटबल प्रतियोगिता हो । क्लबले यसबाट बचत रकम फुटबल एकेडेमीमा खर्चिदै आएको छ । एकेडेमीमा ३० जना अनाथ बालक आश्रित रहेको महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।
यसैबीच, नेपाल पुलिस क्लबले आयोजक सहारालाई १–० गोलअन्तरले स्तब्ध पार्दैै क्वाटरफाइनल प्रवेश गरेको छ ।
विभागीय टिम नेपाल पुलिसका उज्ज्वल राईले खेलको ३७ औं मिनेटमा गरेको गोल नै निर्णायक साविक पुगेको थियो । म्यान अफ दि म्याच घोषित उनले प्रहार गरेको कर्नर किक दोस्रो बार च्याप्दै उत्कृष्ट गोलमा परिणत भएको हो ।
३ विदेशी खेलाडीसमेतलाई लिएर मैदान उत्रिएकोमा सहाराले सुरुआतकै केही अवसर खेर फालेको थियो । पुलिसले अब युकेको ब्रिगेड ब्वाइज क्लबसँग पहिलो क्वाटरफाइनल खेल्नेछ । बुधबार विभागीय क्लब एफिएफ र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा भारत, यूके, उजेकिस्तानका टिमसहित नेपालका ए डिभिजन क्लबले समेत भाग लिएका हुन् । समूह ‘ए’ तर्फ आयोजकसहित नेपाल पुलिस, एनआरटी, चर्च ब्वाइज यूनाइटेड, त्रिभुवन आर्मी क्लब र यूकेको ब्रिगेड ब्वाइज क्लब छन् । तीमध्ये यूके र आर्मीले सिधैँ क्रमशः पहिलो र तेस्रो क्वाटरफाइनल खेल्ने छन् । समूह ‘बि’ मा एपिएफ, मच्छिन्द्र, भारतको थन्डरबोल्ट नर्थ यूनाइटेड, संकटा, थ्रिस्टार र उजेकिस्तानको ब्लाक बुल्स फुटबल क्लब छन् । तीमध्ये थिस्टार र उजेकिस्तानले सिधैँ क्रमशः दोस्रो र चौथो क्वाटरफाइनल खेल्ने छन् । फाइनल ३ फागुनमा हुनेछ ।
उद्घाटन समारोहको अध्यक्षता क्लब अध्यक्ष केशवराज बरालले गरेका थिए । स्वागत प्रतियोगिता संयोजक एवं क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ र संचालन महासचिव रामजीप्रसाद अधिकारीले गरे ।
आहाराराकै छेकोमा बेलायतबाट सहारा क्लब युके, तमु धिं युकेका करिब ५० जना प्रतिनिधि पोखरा आइसकेका छन् । अरू आउनेक्रम जारी रहेको सहारा युके अध्यक्ष कृष्णबहादुर गुरूङले बताए ।
प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ हो । संरक्षकमा पोखरा महानगरपालिका छ भने सहप्रायोजकमा जयश्री फुड्स प्रालिको उत्पादन भान्छाघर लङ्ग्रेन प्रिमियम बासमती राइस रहेको छ । प्रतियोगितामा १ करोड ५१ लाख आम्दानी, १ करोड ४२ लाख खर्च र ८ लाख ८० हजार बचत हुने आयोजकको अनुमान रहेको क्लबको अनुमान छ । गत संस्करणको विजेता त्रिभुवन आर्मी र उपविजेता थ्रि स्टार हुन् ।
‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौं’ भन्ने उद्देश्यका साथ २०५५ सालमा स्थापित सहारा क्लब पोखराले फुटबलमार्फत सामाजिक कार्य गर्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
ब्ल्याक बुल्स् सेमिफाइनलमा
हिमालयनलाई वडाध्यक्ष कप
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
हिमालयन र एलपी देवकोटा फाइनलमा
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
hero news full width
मुख्य समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
माघ २९, २०८१नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१