पोखरा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको तारिफ गरेका छन् । पोखरामा ७७ वटै जिल्लाका सभापति र प्रशिक्षण विभागका प्रमुख भेला पारेर उनले ओली आफ्नो जेल पार्टनर भएकाले अविश्वास गर्नुपर्ने कारण नरहेको बताएका हुन् ।
‘वास्तवमा भन्ने हो भने ओली र मसँगै जेलमा बसेको साथी हौं । त्यतिखेर जेलमा धेरै दुख कष्ट थियो, छुट्ने सम्भावना हुँदैनथ्यो,’ उनले भने, ‘झापाकाण्डको कारण देखाएर ओलीजीलाई जेलभित्रको पनि जेलमा राखियो । हामी मुख्य प्रतिस्पर्धी हौँ । तर पनि केपी ओलीबाट अविश्वास गर्नुपर्ने कुरा छैन ।’
पहिलेदेखि नै दुई वटा पार्टीहरू प्रजातन्त्र र लोकतन्त्रका लागि लडेको हुनाले विश्वासका साथ चल्नुपर्ने उनको आग्रह छ । सरकारमा काँग्रेस–एमालेको गठबन्धन स्थायित्वका लागि भएको देउवाको दाबी छ । ‘दुई प्रमुख प्रतिस्पर्धी पार्टीहरूबीच गठबन्धनबाट सरकार बनाउने कुरा कसरी आयो भन्ने पनि आवाज उठेका छन् । अहिलेको बेलामात्रै होइन, धेरै वर्षसम्म एमाले र काँग्रेसबिच सहमति भयो भने राजनीतिक स्थिरता स्थापित हुन सक्दछ,’ उनले भने, ‘कतिबेला सरकार ढल्ने हो, कति दिन चल्ने हो भन्ने पनि थाहा हुँदैन । दुईवटा पार्टी मिलेर सरकार बनेको छ, यसको स्थायित्व स्पष्ट छ ।’
उनले काँग्रेसमै एकता हुन सके आगामी निर्वाचनमा बहुमत नजिक पुग्ने बताएका छन् । ‘हामीबीच एकता हुन सक्यो भने बहुमत काँग्रेसले ल्याउन सक्छ,’ उनी भन्छन्, ‘यो प्रशिक्षणबाट पार्टीलाई एकताबद्ध बनाउन सकोस् ।’ उनले काँग्रेसले नै समावेशी समानुपातिक सिद्धान्त समेटिएको संविधान निर्माण गरेको बताए । ‘यो व्यवस्था हामीले ल्याएको हो । सबै जनजाति, दलित, मिलाएर लैजानसके समावेशी नेपाल छ, सग्लो राष्ट्र छ’, उनले भने, ‘अहिले हामी नेपालले सुरु गर्यौं महिलालाई ३३ प्रतिशत । अरू देशमा पनि अहिले आवाज उठेको छ । सबै देशमा महिलाहरूको आरक्षणका लागि आवाज उठेका छन् ।’
देउवाले प्रत्येक भाषणमा जलवायु परिवर्तनको असर जोडेका छन् । मंगलबार उनले जलवायु परिवर्तनको मुद्दामा पार्टीलाई सचेत गराए । ‘अहिले क्लाइमेट चेन्जले गर्दा हाम्रा ग्लासियरहरू पग्लेका छन् । वास्तममा यही माछापुच्छ्रे पनि नाङ्गो भएको छ । म यहीँको जेलमा परेको थिएँ विद्यार्थीकालमा,’ उनी भन्छन्, ‘माछापुच्छ्रे सुन्दर हिउँले भरिएको सुन्दर हिमाल थियो । त्यो चाहिँ अहिले क्लाइमेट चेन्जले नाङ्गो हुन थालेको छ । प्रदूषण बढेको छ । हामीले यसलाई रोक्नु छ, बचाउनु छ ।’
काँग्रेसका ७७ वटै जिल्लाका सभापति र जिल्ला प्रशिक्षण शाखा प्रमुखको लागि संगठन र समसामयिक सन्दर्भमा प्रशिक्षण लिन पोखरामा भेला भएका हुन् । बन्दसत्रमा नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य विश्वदीप लामिछानेले काँग्रेसको संगठन विस्तारमा प्रविधिको प्रयोग र प्रभाव’ विषयक कार्यपत्र प्रस्तुत गरे ।
यस्तै, डा. कृष्णप्रसाद पौडेलले ‘काँग्रेसको नेतृत्वमा भएका आर्थिक सामाजिक विकास’ विषयक कार्यपत्र पेस गरे । प्रतिष्ठानका निर्देशक डा.जगदीशचन्द्र पोखरेलले लोकतान्त्रिक समाजवाद–नेपाली काँग्रेसको आर्थिक नीति र अभ्यास विषयमा कार्यपत्र पेस गरे भने कार्यकारी निर्देशक डा.बुद्धिमान श्रेष्ठले नेपालमा संघीयता कार्यान्वयनको अवस्था र नेपाली काँग्रेसको दायित्वको विषयमा कार्यपत्र पेस गरे । दुई दिनसम्म चल्ने अभिमुखीकरणमा बुधबार समूहगत छलफल हुनेछ।
Related News
सम्बन्धित समाचार
पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
काटिएका रुखका मुढा जफत
नातिहरुसँग जन्मदिन, सहारा एकेडेमीमा नगद सहयोग
hero news full width
मुख्य समाचार
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१लमजुङमा पात बजाउने प्रतियोगिता, महिलाले मच्चाए तहल्का
माघ २२, २०८१कोटिहोमलाई दाउरा, मासिए चौतारा
माघ २०, २०८१