संस्कृत माविको १२४ औं अभिभावक दिवस

आदर्श समाज सम्वाददाता
माघ २२, २०८१
sanskrit.

पोखरा । संस्कृत मावि, पोखरा–१, भीमकालीपाटनको १२४ औं अभिभावक दिवस, पुरस्कार वितरण तथा सम्मान एवं बिदाइ कार्यक्रम सम्पन्न भयो । यो विद्यालय गण्डकी प्रदेशकै जेठो र सबैभन्दा पुरानो संस्कृत मावि हो ।

समारोह उद्घाटन शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले गरे । उनले राणा प्रधानमन्त्री देवशमशेरका पालामा स्थापित विद्यालयले संस्कृत शिक्षा र वाङ्मयको संरक्षणका लागि विशेष योगदान दिएको चर्चा गर्दै संस्कृत शिक्षाप्रति सबैको चासो र आकर्षण बढ्दै गएको बताए ।

विद्यार्थी सन्देश काफ्ले र राजन आचार्यले क्रमशः नेपाली र संस्कृत भाषामा, एन–प्याब्सन कास्कीका कोषाध्यक्ष एवं अञ्जुली आवासीय विद्यालयका संस्थापक राजु केसी, विद्यालयका पूर्व प्रअ दामोदर बास्तोला, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष चक्रपाणि सुवेदी, गुरुकुल सदस्य टंकनाथ पौडेल, वडा अध्यक्ष शाहारा प्रधान, पोखरा महानगरपालिका शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले शुभकामना मन्तव्य राखेका थिए ।

विद्यालयको गुरुकुलतर्फ सञ्चालित अक्षयकोष स्थापनामा १० हजारभन्दा बढी रकम प्रदान गरी सहयोग गर्ने २० जनालाई आजीवन सदस्यताको सम्मान प्रदान गरियो । १ लाखभन्दा बढी नगद सहयोग उपलब्ध गराउने सहयोगदातालाई विशिष्ट सदस्यतासहितको सम्मान गरिएको थियो । पदमलाल पौडेल, भीमराज रेग्मी, जवाहरलाल श्रेष्ठ, नमुना आमा समूह र नरेन्द्रमणि पराजुलीलाई विशिष्ट सदस्यताबको सम्मान प्रदान गरियो ।

सबै छात्रछात्रालाई पोखरा वडा १ मार्फत प्राप्त ‘सुनौलो शिक्षा अभियान’ अन्तर्गत छात्रवृत्ति लगायत विभिन्न सहयोगदाताबाट प्राप्त पुरस्कार तथा छात्रवृत्ति एवं अतिरिक्त क्रियाकलापका पुरस्कारसमेत वितरण गरिएको थियो ।

विद्यालयका उत्कृष्ट, दीर्घसेवी, अवकाशप्राप्त, सरुवा भई गएका शिक्षकलाई सम्मान एवं बिदाइ तथा विद्यार्थीलाई सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका सदस्य रोजी पराजुलीले बताइन् ।

समारोहमा विद्यालय प्रधानाध्यापक श्रीकृष्ण सिग्देलले विद्यालयको प्रतिवेदन पेस गरेका थिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद अधिकारीले विद्यालय पूर्णरुपमा शैक्षिक गुणस्तर अभिवृद्धिमा केन्द्रित भएको उल्लेख गरे । उनले आगामी २ वर्षभित्रमा अक्षयकोष १ करोड पु¥याउने लक्ष्य रहेको जानकारी गराए ।

विद्यालय अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक नेपालप्रकाश अधिकारीले स्वागत मन्तव्य र सहायक प्रअ कलादेवी बरालले संचालन गरेकी थिइन् ।

विद्यार्थीले नृत्यलगायत विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width