कोटिहोमलाई दाउरा, मासिए चौतारा

आदर्श समाज सम्वाददाता
माघ २०, २०८१
Tree (1)

पोखरा । पछिल्ला केही दिन पोखरेलीको सामाजिक सञ्जाल चौतारा र रुखको ठूटा तस्बिरले तातेको छ । ठाउँठाउँका सयौं वर्ष पुराना चौतारा नामेट हुने गरी काटिएपछि चौतर्फी चासो र आलोचना बढेको छ । पोखरा वडा ६, ७, ८, १३ र १४ मा अहिले व्यापक रुपमा रुख र बिरुवा काटिएको छ । यो घटनाले संरक्षणकर्मी निराश छन् ।

पृथ्वीनारायण क्याम्पसमा प्राणीशास्त्र पढाउँदै आएका हेमन्त ढकालले सरकारकै समर्थनमा पोखरामा अनधिकृत रुख कटान र चौतारा मास्ने काम भइरहेको बताउँछन् । ६ माघदेखि सुरु चौतारा काट्ने काम जारी छ । रुख कटान रोक्न र गल्ती गर्नेमाथि कारबाही गर्न सरकारी निकायलाई पटक–पटक आग्रह गर्दासमेत चासो नदिइएको उनले सुनाए । १ सय वर्षभन्दा पुराना चौतारा धमाधम ढालिएको र यसले पर्यावरणमा समेत गम्भीर असर पर्ने उनको तर्क छ ।

‘सयौं वर्ष पुराना रुखहरु निमिट्यान्न हुने गरी काटिएको छ । कतिपय रुख अब कहिलै नपलाउने गरी ढलेका छन्,’ उनले भने, ‘पुराना रुखको पर्यावरणसँग कस्तो सम्बन्ध छ भन्ने सरकारले बुझ्न चाहेन । चराले गुँड लगाउने बेला छ । कहाँ गुड लगाउँछ ? धेरैपटक गुहार माग्दा पनि वास्ता गरिएन ।’

रुख काट्न थालेदेखि नै ढकालले वडा, महानगरपालिका, वन कार्यालयदेखि वन मन्त्रालयसम्म हारगुहार गरेका थिए । ‘मोबाइल, ह्वाट्स एप र म्यासेजमार्फत मेयर’सावलाई २६ पटक फोन र म्यासेज गरें । उहाँले कुनै रिप्लाइ गर्नुभएन,’ ढकालको गुनासो छ, ‘३० जनवरीमा बल्लबल्ल फोन उठ्यो । कारबाही गर्छौं भन्नुभएको थियो । के कारबाही भयो थाहा पाइएन ।’

११ दिनसम्म लगातार सम्पर्क गर्न खोज्दासमेत पोखराका मेयर धनराज आचार्य सम्पर्कमा नआएका उनले बताए । पोखरा १४ मा मात्रै ६ चौतारा र ९ ठूला रुख काटिएका छन् । ती रुखहरु मानव सेवा फाउण्डेसनले कोटिहोममा दाउरा बटुल्न काटेको खुलेको छ । काटिएको रुखहरु लेकसाइडस्थित नेपाल ट्रष्टको जग्गामा लगेर थन्क्याइएको छ । रुख काटिएको विषयमा चिन्ता व्यक्त गर्दै पोखराका जानकार विश्व सिग्देल भन्छन्, ‘पर्यटनको राजधानी ? पोखरालाई नाङ्गो बनाएर गरिएको कथित कोटीहोम पोखरेलीहरुले बहिष्कार गरौं ।’ उनले रुख कटानमा सरकारकै सहयोग रहेको आरोप लगाए । काटिएका अधिकांश रुखहरु शमी, वर, पीपल र चाँपका छन् ।

पोखराका विभिन्न वडाहरुमा धमाधम रुख र चौतारा काटिदासमेत महानगर मूकदर्शक

फाउण्डेशनले आउँदो २७ वैशाखदेखि लेकसाइडको वाराहीघाटमा कोटिहोम गर्ने जनाएको छ । लगातार रुख कटान भइरहेपछि १३ माघमा पोखरा १४, मझेरीपाटनस्थित मेरो नेपाल युवा क्लबले महानगरलाई रुख कटान रोकी दिन अनुनयपत्र पठायो ।

जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला वन कार्यालयसमेतलाई बोधार्थ दिएर लेखिएको पत्र अहिलेसम्म कार्यान्वयनमा गएको छैन । पोखरा पक्षी समाजले १४ माघमा गण्डकी प्रदेशका वन मन्त्रीलाई चौतारा काटिएकोमा ध्यानाकर्षणपत्र बुझाएको जनाएको छ । सरोकारवालाको पटक–पटकको दबाबपछि डिभिजन वन कार्यालय, कास्कीले ९ माघमा रुख कटानबारे महानगरपालिकालाई पत्र पठाएर वास्तविकता पठाउन भनेको छ । सँगै कानूनविपरीत भएको भए कारबाही गर्न आग्रह गरेको छ ।

महानगरले झण्डै २ सातापछि बल्ल रुख कटान रोक्न आदेशसहितको सूचना निकालेको छ । अनधिकृत रुपमा रुख काट्नेमाथि कारबाही हुने लिखित दाबी महानगरको छ । मेयर धनराज आचार्य सयौं वर्ष पुराना रुख कटान गम्भीर चिन्ताको विषय भएको बताउँछन् । ‘माछापुच्छ«े हिमाल कालो हुँदै गएको र दिनप्रतिदिन तापमान वृद्धि भइरहेको विषय हाल व्यापक छलफलमा रहेको छ,’ उनले भने, ‘यस्तो परिस्थितिमा दिनदहाडै सयौं वर्ष पुराना वर, पीपल र शमीका रुखहरू निर्मम रूपमा काटिएको घटनाप्रति महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।’

पोखरामा कोटिहोम आयोजना गर्ने अनुमति कसैले नदिइएको आचार्यले बताए । फाउण्डेसनका मिडिया संयोजक लेखराज ढकाल भने कोटिहोमबारे मेयर आचार्यलाई जानकारी गराइएको दाबी गर्छन् । ‘मेयर’सावसँग कोटिहोम गर्नका लागि जानकारी गराएका छौं । वडाले पनि स्वीकृति दिएको छ,’ उनी भन्छन्, ‘महानगरसँग कुरा भईवरी काम अघि बढेको हो । जानकारी नगराइकन गरेको होइन ।’ रुख काट्नका लागि चाहिँ वडाका जनप्रतिनिधि र टोल विकास संस्थाहरुसँग सहमति लिइएको उनले बताए । ‘काट्न चाहिँ हामीले नै काटेको हो । तर टोल विकास संस्था र महिला सदस्यहरुसँग अनुमति लिएका छौं,’ उनले भने, ‘सहमतिमै रुख काटिएको हो ।’

Related News

सम्बन्धित समाचार

hero news full width