सहाराका बालकहरुसँग जन्मदिन, नगद र खाद्यान्न सहयोग

आदर्श समाज सम्वाददाता
माघ १८, २०८१
6af0f8e9-a497-4f17-8649-a91361d11c90

पोखरा। २४ औं आहारारा पोखरा गोल्डकप नजिकिँदै गर्दा विभिन्न तवरबाट सहयोग प्राप्त हुने क्रम जारी छ ।

यसैक्रममा गुरुङ गहनाघरका संचालक सीमा गुरुङ र ओमकार गुरुङले आफ्ना सुपुत्रको जन्मदिन अवसरमा सहारा क्लब पोखराले संचालन गरेको सूर्यबहादुर केसी मेमोरियल सहारा फुटबल एकेडेमीमा सहयोग गरेका छन् । सुपुत्र नेल्सनको २५ औं जन्मदिन अवसरमा एकेडेमीमा आश्रित ३० जना बालकहरुलाई ज्याकेट हस्तान्तरण गरिएको हो । यस्तै, १० हजार ११५ रुपैयाँ सहाराको अक्षयकोषमा सहयोग गरियो ।

यस अलावा, गुरुङ दम्पतीले संचालन गरेको गुरुङ ट्रेडर्सबाट ३ बोरा चामल तथा आहारा गोल्डकपलाई ५ हजार रुपैयाँ नगद सहयोग गरिएको सहारा क्लब पोखराका सचिव टंक पौडेलले जानकारी दिए।

सहयोग हस्तान्तरणमा गुरुङ गहनाघरका संचालक सीमा गुरुङ, नेल्सन गुरुङलगायतले एकेडेमीमा सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे । नेल्सनको जन्मदिनमा एकेडेमीमै बालकहरुको साथमा केक काटेर रमाइलो गरिएको थियो । पोखरा–१७ निवासी गुरुङ दम्पतीले सहारालाई विगतमा पनि सहयोग गर्दैआएको छ ।

कार्यक्रममा सहारा क्लब पोखराका निवर्तमान अध्यक्ष हरिराम गुरुङ (सुरज), पूर्व अध्यक्षहरु विक्रम थकाली र केशवबहादुर थापालगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन सचिव टंक पौडेलले गरेका थिए ।

मोफसलको चर्चित क्लब सहारा क्लब पोखराले यही माघ २२ देखि पोखरा रंगशालामा २४ औं आहारारा पोखरा गोल्डकप प्रतियोगिता गर्दैछ ।

१२ टिमले भाग लिने सो प्रतियोगितामा आयोजक र विभागीय नेपाल पुलिस क्लबबीच उद्घाटन खेल हुनेछ । फाइनल फागुन ३ मा हुनेछ ।

प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ हो । संरक्षकमा पोखरा महानगरपालिका छ भने सहप्रायोजकमा जयश्री फुड्स प्रालिको उत्पादन भान्छाघर लङ्ग्रेन प्रिमियम बासमती राइस रहेको छ ।

‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौं’ भन्ने उद्देश्यका साथ २०५५ सालमा स्थापित सहारा क्लब पोखराले फुटबलमार्फत सामाजिक कार्य गर्दै आएको छ । आहारारा नेपालमै निरन्तर भइरहेको एकमात्र फुटबल प्रतियोगिता हो । प्रतियोगिताबाट बचत रकम सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्चिने क्लब अध्यक्ष केशवराज बरालले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width