पोखरा । लामो विवाद र टकरावबीच पोखराको प्रमुख पर्यटकीय गन्तव्य पातले छाँगो (डेभिज फल) पोखरा महानगरपालिकाले भोगचलन गर्न थालेको छ । उपत्यका नगर विकास समितिको निर्णयअनुसार २०३४ सालदेखि छोरेपाटन माविले उपभोग गर्दै आएको डेभिज फल ४७ वर्षपछि महानगरमातहत ल्याएको हो । सोमबारदेखि महानगर आफैँले प्रवेश टिकट काट्न थालेको छ ।
पोखरा महानगरपालिको सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत डेभिज फल ४० वर्षका लागि निजी कम्पनीलाई ठेक्का दिने सम्झौता गरेपछि विवाद सुरु भएको हो । छोरेपाटन माविले सम्झौताबमोजिमको काममा अवरोध गर्दै आएको थियो भने महानगरले बेलाबेलामा बल प्रयोग पनि गरेको थियो । यद्यपि, सहमति नजुटेपछि १ माघमा महानगरपालिका आफैँले छाँगो प्रवेश गर्ने गेटमा ताला लगाइदियो ।
घुम्न आएका सर्वसाधारण गेटबाटै फर्किन थाले । यत्तिकैमा स्थानीयले पनि अर्को ताला थपे । आइतबार सर्वपक्षीय बैठक बसेर छाँगोमा लगाइएको ताला खोल्ने सहमतिपछि सोमबार ताला खोलेर महानगरले टिकट काट्न थालेको हो । ताला खुलेसँगै आफैँले नयाँ टिकट बनाएर बिक्री गर्न थालेको महानगरले टिकट शुल्क भने बढाएको छ । जसको सामाजिक सञ्जालमा चर्को आलोचना सुरु भएको छ ।
यसअघि, यहाँ प्रवेश गर्दा विद्यार्थीलाई २०, नेपाली नागरिकलाई ४०, सार्क राष्ट्रका नागरिकलाई ८०, विदेशी नागरिकसँग १ सय रुपैयाँ लिँदै आएको थियो । महानगरपालिकाले बढाएर विद्यार्थीका लागि ३०, नेपाली नागरिकसँग ५० र विदेशी नागरिकसँग १ सय ५० रुपैयाँ लिन थालेको प्रवक्ता मोतीलाल तिम्सिनाले जानकारी दिए ।
महानगरले शुल्क बढाएर विद्यार्थीका लागि ३०, नेपाली नागरिकसँग ५० र विदेशीसँग १५० रुपैयाँ लिन थालेको छ ।
‘ताला खुल्यो । नियमित टिकट वितरण भइरहेको छ । पर्यटकले सहजै छाँगो हेरेर फर्किने वातावरण बनेको छ,’ उनले भने, ‘नमिलेका कुरा मिलाउँदै जाने र ठेक्कासमेत पुनर्विचार गर्ने निर्णय सर्वपक्षीय बैठकबाट भएपछि ताला खोल्न सहमति जुटेको हो ।’ टिकट शुल्क महँगिएको विषयमा भने आर्थिक ऐन कार्यान्वयन गरेको उनको तर्क छ । ‘आर्थिक ऐनमा भएको कुरालाई परिमार्जन गर्न मिलेन । ऐनअनुसार शुल्क लिइएको हो,’ उनले भने, ‘आलोचना सामाजिक सञ्जालमा भइरहेको छ तर अहिलेलाई ऐनभन्दा बाहिर जान सकिएन ।’
महानगरले छाँगोको जिम्मा ४० वर्षका लागि निजी क्षेत्रलाई दिने ठेक्का सम्झौता २०७८ सालमा गरिसकेको छ । ठेक्का सेती क्यानोन प्रालिले पाएको छ । छाँगोमा सिसाको पुल हाल्ने र छाँगादेखि फेवातालसम्म डेढ किलोमिटर क्षेत्रमा पर्यटकीय पूर्वाधार बनाउने गरी सम्झौता गरिएको हो । तर सरोकारवालाले उक्त ठेक्काको पारदर्शिताबारे प्रश्न उठाउँदै विरोध जनाएका छन् । स्थानीयले सस्तोमा ठेक्का दिन लागेको भन्दै विरोध जनाएर ताला लगाएका हुन् । उक्त छाँगो स्थानीय छोरेपाटन माविले भोगचलन गर्दै आएको थियो । महालेखा परीक्षकको कार्यालयले स्कुललाई सार्वजनिक सम्पत्ति उपभोग गर्ने अधिकार नभएकोले महानगरमातहत ल्याउन सुझाएको छ ।
त्यतिमात्रै होइन, स्कुलले उठाएर खर्च गरेको रकम बेरुजुरूपमा उल्लेख गरेको छ । उक्त बेरुजु असुल गर्न मलेपले निर्देशन दिएको छ । महानगरले स्कुललाई वार्षिक ३ करोड १ लाख दिनेगरी सम्झौता गरेको छ । प्रमुख पर्यटकीय गन्तव्य ताला लगाएर राख्दा ‘पर्यटनको राजधानी’ घोषित पोखराको बारेमा गलत सन्देश प्रवाह भएको सरोकारवालाको गुनासो थियो । राजनीतिक दलले पनि ताला खोलेर बाँकी विवाद समाधान गर्दै जान महानगरलाई सुझाएका थिए ।
Related News
सम्बन्धित समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
एकीकृत समाजवादी गण्डकीमा नेपाली
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१