आहारारामा एशियन पेन्ट्सद्वारा पुरस्कार प्रायोजन

आदर्श समाज सम्वाददाता
माघ १६, २०८१
367e36b1-4001-4e95-b62e-8f155e4275f7

पोखरा। सहारा क्लब पोखराको आयोजनामा आगामी सातादेखि हुने २४ औं आहारारा पोखरा गोल्डकप सुरु हुँदैछ । प्रतियोगितामा प्रदान गरिने इमर्जिङ प्लेयर पुरस्कारको एशियन पेन्ट्स पुरस्कार प्रायोजन गरेको छ ।

बुधबार एशियन पेन्ट्स्का योजना प्रमुख जीवन अधिकारी, विक्रम भट्टराई, सुरेश महर्जनसमेतको उपस्थितिमा सहारा क्लबबीच प्रायोजन सम्झौता भएको हो । सो अवसरमा क्लब अध्यक्ष केशवराज बराल, प्रतियोगिता संयोजक एवं क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ, पूर्व अध्यक्ष विक्रम थकाली, प्रतियोगिताको अर्थ संकलन समिति संयोजक एवं क्लब सल्लाहकार सुनिल गुरुङको उपस्थिति थियो । पोखराको गौरव आहा रारा पोखरा गोल्डकप सफल पार्न विभिन्न संघसंस्थाले कुनै न कुनै रुपमा सहयोग गर्दै आएका छन् ।

माघ २२ देखि फागुन ३ गतेसम्म पोखरा रंगशालामा हुने २४ औं संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा १२ टिमले भाग लिँदै छन् । हालसम्म ११ टिमको टुंगो लागिसकेको छ । युकेबाट समेत फुटबल खेल्न ब्रिगेड ब्याइज फुटबल क्लब आइसकेको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ हो । संरक्षकमा पोखरा महानगरपालिका छ भने सहप्रायोजकमा जयश्री फुड्स प्रालिको उत्पादन भान्छाघर लङ्ग्रेन प्रिमियम बासमती राइस रहेको छ ।

प्रतियोगितामा १ करोड ५१ लाख आम्दानी, १ करोड ४२ लाख खर्च र ८ लाख ८० हजार बचत हुने आयोजकको अनुमान रहेको महासचिव रामजीप्रसाद अधिकारीले बताए ।

गत संस्करणको विजेता त्रिभुवन आर्मी र उपविजेता थ्रि स्टार हुन् । उनीहरुले क्रमशः १२ लाख र ६ लाख प्राप्त गरेका थिए ।

‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौं’ भन्ने उद्देश्यका साथ २०५५ सालमा स्थापित सहारा क्लब पोखराले फुटबलमार्फत सामाजिक कार्य गर्दै आएको छ । आहारारा नेपालमै निरन्तर भइरहेको एकमात्र फुटबल प्रतियोगिता हो । प्रतियोगिताबाट बचत रकम सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्चिने क्लब अध्यक्ष केशवराज बरालले बताए । हाल एकेडेमीमा ३० जना बालक आश्रित छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width