गुरुकुलमा प्रतिभा प्रदर्शनी एवं खाद्य महोत्सव

आदर्श समाज सम्वाददाता
माघ १६, २०८१
gurukul school news

पोखरा । गुरुकुल विद्यासदन माध्यमिक विद्यालय, नयाँबजारमा बुधबार विद्यार्थी प्रतिभा प्रदर्शनी एवं खाद्य महोत्सव भएको छ ।

कक्षा १२ का विद्यार्थीको आयोजनामा भएको कार्यक्रमले रचनात्मकता, मनोरञ्जन एवं स्वादिष्ट स्वादले भरिएको रोमाञ्चक दिनको अनुभूति दिएको विद्यालयले जनाएको छ ।

प्रतिभा प्रदर्शनीमा शृङ्खलाबद्धरुपमा विद्यार्थीले आफ्ना कलात्मक सीप प्रस्तुत गरे । त्यस अवसरमा गायन, नृत्य, नाटकदेखि स्ट्यान्डअप कमेडीसम्मले स्टेज तताए ।

प्रतिभा प्रदर्शनका अतिरिक्त होटल व्यवस्थापनका विद्यार्थीले पकाएका स्थानीय तथा अन्तर्राष्ट्रिय खानाका परिकारले पनि सहभागीलाई लोभ्यायो । कार्यक्रममा विद्यार्थी, पूर्व विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीयको उपस्थिति थियो ।

कार्यक्रमसँगै विद्यार्थीलाई क्षमता प्रदर्शन गर्न प्रोत्साहित मिलेको विद्यालय अध्यक्ष रवि कार्कीको भनाइ छ । उनले कार्यक्रमले विद्यार्थीलाई अगाडि बढ्न टेवा मिल्ने विश्वास व्यक्त गर्दै विद्यार्थीले अनुशासनसँगै खानपानमा पनि ध्यान दिनुपर्ने बताए । ‘विद्यालय अगाडि बढ्दैछ त्यसमा सरोकारवाला सबैको साथ पाइएको छ, अझै हामी विद्यालयलाई थप व्यवस्थित गर्दै लैजान्छौं,’ कार्कीले भने ।

प्रधानाध्यापक नारायण आचार्यले मानव जीवनमा संगीत तथा अतिरिक्त क्रियाकलापको महत्वपूर्ण भूमिका रहने धारणा राख्दै गुरुकुल वास्तविक गुरुकुल भएको औँल्याए । उनले गुरुकुलमा अध्ययनरत् विद्यार्थीले राम्रो सपना देख्ने भन्दै विद्यालय अध्ययन पूरा गरेसँगै आत्मविश्वास लिएर फर्कने भनाइ राखे ।

सहप्रधानाध्यापक भुवन सुवेदीले विद्यार्थीका रचनात्मक प्रस्तुतिको माध्ययमका लागि कार्यक्रम आधारशिला बनेको उल्लेख गर्दै त्यससँगै विद्यार्थीबीच आत्मीयता वृद्धि भएको बताए । दश जोड दुई संयोजक वसन्तकुमार श्रेष्ठले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्रतिभा प्रदर्शनी एवं खाद्य महोत्सवलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

त्यस अवसरमा विद्यार्थी तुलसी मगर, दिक्षा गौचन, प्रेरणा थापा, सृष्टि गुरुङ, दीपिका शर्मा, मुस्कान खातुन, हर्षित गुरुङ, आभिल थापा, युमिका गुरुङ, पूर्णिमा लिम्बु, पायल थापा, अञ्जली घमाल, करुणा थापा, दिक्षा थापा, जेनी विक, यशोधा श्रेष्ठ, बिनिसा शाही ठकुरी नेतृत्वका समूहले नृत्य प्रस्तुत गरे ।

त्यस्तै, एलिजा गुरुङ, विवश श्रेष्ठ, सुशान्त शाहीको समूहले गायन एवं कृष्ण अधिकारी समूहले स्ट्याण्ड अप कमेडी प्रस्तुत गरेको दश जोड दुई संयोजक श्रेष्ठले जानकारी दिए ।

कक्षा १२ की छात्रा स्वस्तिका रिमालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अनुजा राना मगरले स्वागत तथा कृष्ण अधिकारी, देविका सुवेदी लगायत अन्य विद्यार्थीले संयुक्त रुपमा कार्यक्रम संचालन गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width