म्याद सकिनै लाग्दा तटबन्ध कार्य रोकियो

प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव शर्माले धम्की दिएको गुनासो

आदर्श समाज सम्वाददाता
माघ १५, २०८१
nawalpur

नवलपुर । गत ११ र १२ असोजमा आएको बाढीले मध्यविन्दु नगरपालिकाका ३ सय बढी घर डुबानमा परे । हजार बिगाहाभन्दा बढी जमिनका खेती नष्ट ग¥यो । अझै पनि १५ घर बस्नै नमिल्ने अवस्थामा छ ।

अपत्यारिलो ढंगले आएको बाढीले यहाँ मानवीय क्षति नगरे पनि पशु चौपायाँ, माछा, कुखुरा गरेर करोडौंको क्षति भयो । यस्तो क्षति फेरि फेरि नहोस् भनेर डुबानबाट जोगाउन नारायणी नदी व्यवस्थापन आयोजना चितवनले नदी छिरेको स्थान मध्यविन्दु–२ को बलघट्टामा ड्याम लगाउने काम गरिरहेको थियो । ड्याममा ग्याबिन तारजाली लगाउने, ठूला ढुंगा किनारमा हाल्ने, कंक्रिटका ब्लकसहित ड्याम बनाउनेलगायत काम गर्न चितवन राष्ट्रिय निकुञ्जले १५ माघसम्मको समय दिएको थियो । मध्यविन्दु नगरपालिकाका जनप्रतिनिधिले यसलाई सहजीकरण गरेर काम अगाडि बढाइरहेका थिए ।

यदि तटबन्ध भए अर्को बर्खामा नारायणीको बाढी गाउँमा नपस्नेमा स्थानीय बासिन्दा ढुक्क थिए । तर, म्याद सकिनु ३ दिनअघि स्थानीय केही व्यक्तिले धम्की दिएपछि काम रोकिएको मध्यविन्दु–२ का अध्यक्ष रामभक्त अधिकारीले बताए । चितवन राष्ट्रिय निकुञ्ज अमलटारी पश्चिम सेक्टरका संरक्षण अधिकारीले स्थलगत अवलोकन गरेर जागिरै खाने गरी धम्की आयो भनेपछि काम रोकिएको अध्यक्ष अधिकारीले बताए ।

विपत्बाट जोगिने काममा कानूनी प्रक्रिया मात्रैभन्दा पनि कतिपय अवस्थामा व्यावहारिकता पनि हेर्नुपर्नेमा त्यसो नगरिएको वडाध्यक्ष अधिकारीको भनाइ छ ।

वडा २, ६, १२ र १५ का जनता र उर्बर भूमि जोगाउन ड्याम लगाउन लागिएको तर प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिवसमेत रहेका स्थानीय श्रीधर शर्माले एक्कासि अमलटारी पश्चिम सेक्टर र निकुञ्जमा फोन गरी धम्की दिएकाले काम रोकिएको वडाध्यक्ष अधिकारीले बताए ।

चितवन राष्ट्रिय निकुञ्ज अमलटारी सेक्टरका संरक्षण अधिकृतलाई राति फोन गरेर धम्की दिएपछि आफ्नो जागिर नै जाने भयो भन्दै काम रोक्न निकुञ्जमा आग्रह गरेपछि निकुञ्जले काम रोकेको आरोप लगाइएको छ । तर, शर्माले भने आफूले कसैलाई धम्की नदिएको भन्दै पुष्टि गर्न चुनौती दिन्छन् । उनले ड्याम निर्माणको काम नरोकिएको पनि दाबी गरेका छन् ।

निकुञ्जले भने स्थानीय सरोकारवाला निकायबीच समन्वय नभएको र गैरकानूनी हिसाबले काम गरिएकोले तत्काल काम रोक्न आग्रह गरेर शर्माले फोन गरेको दाबी गरेको छ ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले कानूनी प्रक्रिया नमिलाई काम भएको भन्दै श्रीधर शर्माले सहजीकरण गर्न भन्दै फोन गर्नु भएको बताए । ‘अख्तियारमा जाने भन्ने कुरा पनि आयो । मैले सबैलाई सहज हुने गरी जाने भनेर अहिले नारायणी किनारमा बिग बोल्डरको (ठूला ढुंगा बिछ्याउने) काम गर्ने तर ग्राभेल नगर्ने भनेको छु,’ निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले भने ।

सदस्यसचिव शर्माले संरक्षण अधिकृतलाई फोनै नगरेको दाबी गरे पनि संरक्षण अधिकृतले भने राति फोन गरेर काम अघि नबढाउन भनेको बताए । सदस्य सचिव शर्माले भने, ‘नारायणी नदी नियन्त्रण गर्ने काममा भएको अवरोधमा आफ्नो संलग्नता छैन । वडाध्यक्ष अधिकारीले आफूमाथि लगाएको आरोप भ्रामक हो ।’

काम कसले र किन रोक्यो भन्ने विषयमा एकले अर्कालाई आरोप प्रत्यारोप लगाइरहेको बेला स्थानीयको चिन्ता भने फरक छ । कतै यही बाहानामा काम रोकिएर बर्खा लाग्दासम्म पनि तटबन्ध नहुने हो कि भन्ने चिन्ता स्थानीयमा देखिएको छ । स्थानीय नारायणप्रसाद महतोले आमनागरिकलाई विपद्बाट जोगाउन गरिएको प्रयास अवरोध हुँदा प्रदेशदेखि संघीय सांसद कसैले पनि चासो नदिएको गरे ।

मध्यविन्दु २ का स्थानीय बासिन्दा नारायणप्रसाद थनेतले यतिबेला तटबन्ध नभए मध्यविन्दु ६, १५, १२ लगायत मध्यविन्दुको नारायणी तटीय क्षेत्रको आधा गाउँ बगरमा परिणत हुने बताए । असोजको बाढीले नन्दपुर सेहेरी लगायतका ३०० बढी घर डुबानमा परेको थियो ।

मध्यविन्दु ३ का बासिन्दा डिल्लीराम थनेतको पनि बाढीले घरखेत पूरै डुबान गरेको थियो । उनले आफू ४०÷४५ वर्षबीच अहिलेसम्म त्यस्तो डुबान भएको नदेखेको बताए । अहिले तटबन्ध गरिरहेकोे ठाउँमा बेलैमा तटबन्ध नसकिए यहाँका ४०० बढी घरहरु पुन डुबान र कटानमा पर्ने भन्दै चिन्तित छन् ।

त्यसो त, निकुञ्जले अहिले नारायणी नदीमा गोहीले अण्डा पार्ने सिजन भएका कारण नदीमा उत्खनन् गर्न नपाउने कानूनी प्रावधान रहेका कारण देखाउँदै तत्कालका लागि काम रोकेको छ । तथापि तटबन्ध रोक्नु तटीय क्षेत्रका बासिन्दाका लागि निक्कै घातक बन्न सक्छ । अहिले चलिरहेको तटबन्ध नारायणी नदी व्यवस्थापन आयोजनाको अगुवाइमा भइसकेको काम हो । नारायणी नदी व्यवस्थापन आयोजना प्रमुख चन्द्रविक्रम सिंहले भने तत्काललाई काम रोकिए पनि १५ फागुनदेखि सुरु हुने जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width