पोखरा महानगरपालिकाको १६ औैं नगर सभा सम्पन्न

आदर्श समाज सम्वाददाता
माघ १२, २०८१
nagar

पोखरा महानगरपालिकाको १६ औैं नगर सभा शुक्रबार सम्पन्न भएको छ । गत २८ पुसदेखि शुभारम्भ भएको नगर सभा सभामा पेस भएका सम्पूर्ण प्रस्तावमाथि छलफल गरी सर्वसम्मतिले पास गर्दै सम्पन्न भएको महानगरले जनाएको छ।

सभाले भवन नियमित तथा अभिलेखीकरण कार्यविधि (पहिलो संशोधन) २०८१, आर्थिक ऐन संशोधन २०८१, भवन निर्माण तथा पूर्वाधार (पहिलो संशोधन) २०८१, ४ तलामाथिका भवनहरूको सम्बन्धमा तुलनात्मक अध्ययन प्रतिवेदन तथा कार्यविधि निर्माणका लागि कार्यपालिकालाई दिइने निर्देशनसमेत सर्वसम्मतिले पारित भएको छ ।

विभिन्न योजना तथा कार्यक्रमको बजेट तथा कार्यक्रम संशोधन, परिमार्जन र रकमान्तरका लागि नगर प्रमुखलाई अधिकार प्रत्यायोजन गर्दै नगर सभाले शिशुवा अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ । यसअघि, कार्यपालिकाको बैठकले निर्णय गरी नगर सभामा पेस गर्नुपर्ने भनी गरेका सम्पूर्ण निर्णयहरू पनि १६ औँ नगर सभाले अनुमोदन गरेको छ ।

नगर सभाले राजस्व बक्यौता असुली कार्य योजना पनि पारित गरेको छ । राजस्व बक्यौता असुलीका लागि महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाको संयोजकत्वमा २ जना नगर सभा सदस्य, लेखा समितिका १ जना सदस्य, वित्त व्यवस्थापन महाशाखा प्रमुख, नगर प्रहरीको तर्फबाट १ जना सदस्य रहने गरी राजस्व महाशाखाका प्रमुख सदस्य सचिव रहेको एक समिति समेत गठन गरेको छ ।

महानगरपालिकाका विभिन्न क्षेत्रहरूमा हाल साविकको समस्या रहेकाले त्यसको समाधानका लागि पनि सम्बन्धित निकायहरूमा समन्वय गर्ने प्रस्ताव पनि नगर सभाले पास गरेको छ । नगर सभामा उठेका सबै विषयहरूलाई नगरसभाको अङ्गका रूपमा आत्मसात् गर्दै महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न गरिएको नगर प्रमुख धनराज आचार्यले बताए ।

यसअघि नगर सभा सदस्य सुशील बास्तोला, शिवराम भण्डारी, परमेश्वरबहादुर कार्की, विष्णुप्रसाद घिमिरे, सनकमान सिके र रेसम सुवेदीलगायतले छलफलमा भाग लिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width