जनप्रियको वार्षिकोत्सवमा सम्मान

आदर्श समाज सम्वाददाता
माघ १०, २०८१
janapriya

पोखरा । जनप्रिय माध्यमिक विद्यालय पोखरा–८, सिमलचौरको ५६ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह बिहीबार सम्पन्न भयो । कार्यक्रम उद्घाटन तथा विद्यालयको शैक्षिक दर्पण–२०८१ पुस्तक लोकार्पण गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गुणस्तरीय शिक्षामा जोड दिए । उनले विद्यालयले दिएको शिक्षा, संस्कार र प्राप्त गरेको उत्कृष्टतामा विद्यार्थीको लगनशीलता तथा शिक्षक अभिभावकको महत्वपूर्ण योगदान रहेको बताए ।

कार्यक्रममा पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बराल, जनप्रिय क्याम्पसका अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छे, विद्यालयका पूर्व अध्यक्ष शोभियतबहादुर अधिकारी, शिक्षक अभिभावक संघका अध्यक्ष होमनाथ सिग्देल, पोखरा महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत रामप्रसाद तिवारी, पूर्व विद्यार्थी मञ्चका अध्यक्ष केशवबहादुर थापा, अभिभावक गीताञ्जली थापा क्षत्री, सर्वोत्कृष्ट विद्यार्थी दिवस थापा, सम्मानित लोकेन्द्र सार्कीले शुभकामना व्यक्त गरे ।

कार्यक्रममा विद्यालयका प्रअ देवीप्रसाद बस्ताकोटीले वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।

बिहीबार जनप्रिय माध्यमिक विद्यालयको ५६ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह 

उक्त अवसरमा विद्यालयको वार्षिक परीक्षा तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट छात्रछात्राहरुलाई पुरस्कार तथा छात्रवृत्ति वितरण गरिएको थियो ।

यसैगरी, उच्च शिक्षामा उत्कृष्टता हासिल गरेका तथा विभिन्न क्षेत्रमा सफलता हासिल गरेका पूर्व विद्यार्थीहरुलाई पनि सम्मान गरियो । सम्मानित हुनेमा मणिपाल शिक्षण कलेजका छात्र रविशंकर वैठा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान एमबिबिएसका छात्र लोकेन्द्र सार्की, थापाथली क्याम्पसमा आईओईका छात्र सर्वेन्द्र वैठा, हेटौडामा आइओएफका छात्रा स्वीकृति भट्ट तथा पोखरा विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ गर्ने छात्र निखिलकुमार चौधरी हुन् । सम्मानित पाँचैजनाले पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएका थिए ।

कार्यक्रमबीच दीर्घसेवाबाट धीरज थापा, कुन्तादेवी शर्मा, गायत्री सिग्देल र गोसाइचन्द्र गिरीलाई सम्मान गरिएको थियो । यसैगरी, उत्कृष्ट कार्य गरेकामा ऋषिराम अधिकारी, पदमप्रसाद सुवेदी, विष्णुहरि त्रिपाठी, शान्ति बराल, दमन्ता गिरी, राजेश दर्जी र तारानाथ आचार्य सम्मानित भए । साथै २५ जना विषय शिक्षकलाई पुरस्कृत गरिएको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष परशुराम बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य ईश्वरीप्रसाद सुवेदीले स्वागत तथा सहायक प्रधानाध्यापक ऋषिराम अधिकारीले संचालन गरेका थिए ।

कार्यक्रममा छात्रछात्राहरुबाट शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । विद्यालयको वार्षिकोत्सव अवसरमा बिहीबार बिहान रक्तदान कार्यक्रमसमेत भयो ।

Related News

सम्बन्धित समाचार

hero news full width