पोखरा । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले बिहीबार उपस्थित हुने शर्तमा परिवारको जिम्मा लगाएको छ ।
अदालत उपस्थित गराइएको बखत कास्की र काठमाडौं जिल्ला अदालतमा यसप्रकारको अभ्यास नभए पनि रुपन्देहीमा भने लामिछाने परिवारको जिम्मा जमानीमा छाडिएका हुन् ।
रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीका अनुसार बिहीबार बिहान १० बजे अदालत उपस्थित हुनेगरी लामिछानेलाई श्रीमती नीकिता पौडेल र कानून व्यवसायीलाई जिम्मा लगाउने आदेश भएको हो ।
लामिछानेको बयान सकिएर बुधबारै थुनछेक बहस हुने भनिए पनि बयान ढिला सुरू भएकाले थुनछेक बहस हुन पाएन ।
अघिल्लो दिन भैरहवा पुगेका लामिछाने बयानका लागि बुधबार रुपन्देही जिल्ला अदालत हाजिर भएका थिए । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा उनको बयान भएको हो । तर, समय अभावले थुनछेक बहस भएन ।
६ माघमा जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा रवि लामिछानेसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेपछि मुद्दाको प्रतिवादका लागि उनी अदालतमा उपस्थित भएका हुन् । गोर्खा मिडिया प्रालिका पूर्व प्रबन्ध निर्देशक लामिछानेलाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको हो ।
सुरुमा उक्त सहकारीको बचत अपचलन गरेको अभियोगमा २२ जनाविरुद्ध मात्र सहकारी ठगी मुद्दा दर्ता गरिएकोमा रविसहितको नाम जोडिएपछि संगठित अपराधसमेत गरी पूरक अभियोग लगाइएको हो । तर, थप कुन प्रमाण भेटिएका कारण पूरक अभियोग दायर गरिएको भन्ने केही आधार नदेखिएको रविका वकिलले जिकिर छ ।
उनको नाममा नक्कली ऋणी खडा गरी सुप्रिम सहकारीबाट २ करोड रुपैयाँ गोर्खा मिडियामा लगिएको आरोप सम्बन्धमा संसदीय छानबिन विशेष समितिले छानबिन गरेको थियो । समितिले यसमा लामिछानेको संलग्नता नदेखिएको जनाएको थियो । तर, अहिले सोही ऋणलाई बिगो बनाएर अभियोग लगाउनु राजनीतिक प्रतिशोध भएको उनका कानून व्यवसायीहरूको आरोप छ ।
पोखराको सूर्यदर्शन सहकारी तथा काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन अभियोगमा समेत उनले मुद्दा खेपेका छन् । उनी गत २५ पुसमा कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा रिहा भएका थिए । त्यस्तै, गत साता काठमाडौं जिल्ला अदालतले उनलाई ६० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । रुपन्देहीमा समेत सुप्रिम सहकारीको मुद्दामा उनी उपस्थित भएका हुन् । चितवन र पर्साका सहकारीको रकम अपचलनमा समेत उनी मुछिएका छन् ।
यसैबीच, लामिछानेसमेत ७ जना प्रतिवादीलाई धरौटीमा रिहा गर्ने कास्की जिल्ला अदालतको आदेशविरुद्ध परेको निवेदनमा उच्च अदालत पोखराले मंगलबार कैफियत प्रतिवेदन माग गर्ने आदेश गरिसकेको छ ।
न्यायाधीश राजुकुमार खतिवडाको इजलासले जिल्लाको आदेशउपर कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको उपरजिष्ट्रार विश्वनाथ अर्यालले जानकारी दिए । उनका अनुसार यो प्रक्रियामा सामान्यतया उच्चले ३ दिनभित्र उच्च सरकारी वकिल कार्यालयको निवेदन, उच्च अदालतको आदेश साथै राखी पत्र पठाउनेछ । जिल्लाले पत्र प्राप्त गरेको ७ दिनभित्र उच्चमा कैफियत प्रतिवेदन पठाउने अभ्यास छ ।
मुद्दाको अघिल्लो प्रक्रियामा उच्च अदालतले जिल्लाले गरेको आदेशको मिसिल माग गर्छ । त्यसपछि पेसी जान्छ । त्यो पेसी डिभिजन बेञ्चमा गइसकेपछि अरु प्रमाण बुझ्ने, दुवै पक्षका वकिलहरुको बहस, मिसिल अध्ययनलगायत आधारमा बेञ्चले डिसिजन गर्छ । यो प्रक्रियामा प्रतिवादीहरु अदालत उपस्थित हुनु पर्दैन । तिनका तर्फबाट वकिलहरुले बहस गर्ने छन् । वादीका तर्फबाट सरकारी वकिलहरुले बहस गर्ने छन् ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेसमेत ७ जना प्रतिवादीलाई फरक–फरक धरौटी रकम माग गर्दै रिहा गर्ने आदेश दिएको थियो । गोर्खा मिडियाका पूर्व संचालकसमेत रहेका पूर्व डिआइजी छविलाल जोशीसँग ८८ लाख, लीला पछाईसँग ३७ लाख, रामबहादुर खनालसँग १५ लाख, आरती गुरूङसँग ५ लाख, मीना गुरूङसँग ५ लाख र कृष्णबहादुर गुरूङसँग १ लाख रुपैयाँ धरौटी माग गर्दै रिहा गर्ने आदेश गरेको हो । उक्त आदेशविरुद्ध उच्च सरकारी वकिल कार्यालयले प्रतिवादीहरुलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गरी पाउँ भनी सोमबार उच्च अदालतमा निवेदन दिएको थियो ।
सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतका मुद्दामा ६३ जनालाई प्रतिवादी बनाइएको मुद्दामा १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ ३ पैसा बिगो माग दाबी गरिएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
hero news full width
मुख्य समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१