माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी

आदर्श समाज सम्वाददाता
माघ ६, २०८१
dai

पोखरा । सामान्यतः मंसिरभित्रै नेपालीहरुले धान थन्क्याउँछन् । सँगै दाइँ गर्छन् । तर पोखरामा अलि अनौठो भयो । पोखराका पर्यटन व्यवसायीहरुले पर्यटक बोलाउन भन्दै माघमा दाइँ गरे । पोखरा पर्यटन परिषदले पोखरा–२३ फेवा फाँट, मार्गी (पामे)मा दाइँ महोत्सव गरेका हुन् । तर दाइँ गर्ने समय नमिलेको भन्दै आयोजकहरुको आलोचना भइरहेको छ ।

‘माघ महिनामा दाइँ महोत्सव गरेर पोखरा पर्यटन परिषदले के सन्देश दिन खोजेको हो ?,’ नागरिक अधिकारकर्मी रामबहादुर पौडेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर आलोचना गरे । यद्यपि पर्यटन व्यवसायीहरुले पर्यटकलाई मात्रै लक्षित गरेर महोत्सव गरिएको जनाएको छ । हरेक असार १५ गते रोपाईं महोत्सव गर्दै आएको परिषद्ले यो वर्षदेखि दाइँ महोत्सव पनि गर्न थालेको हो । महोत्सवमा १० वटा गोरु लगाएर दाइँ गरिएको हो ।

महोत्सवमा धान चुट्ने, धानको राश बनाउने, धान बत्ताउने गरिएको थियो । दाइँमा सहभागी हुनेहरुलाई परम्परागत झल्को दिन खाजा र खानापनि परालमाथि र बारीको पाटामा बसेर खान दिइएको थियो । महोत्सवमा स्वदेशी पर्यटकसँगै विदेशी पर्यटक पनि सहभागी भए । पोखरा सबै मौषमका लागि भन्ने नाराका साथ गरिएको महोत्सवले कृषि पर्यटनको विकास हुने परिषद् अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।

महोत्सवको गण्डकी प्रदेश उद्योग तथम पर्यटन मन्त्रालयका सचिव कुमानसिंह गुरूङले उद्घाटन गरे । उनले यसप्रकारका कार्यक्रमले कृषि सहित पर्यटनको विकासमा सघाउ पुग्ने बताए । परिषद् अध्यक्ष पहारीले असारमा लगाएको खेती परम्परागत शैलीमा दाइँ गरी भित्राउने कार्यलाई नयाँ पुस्ता एवं विदेशी पर्यटकका लागि चिनारी दिन महोत्सव सुरू गरिएको बताए । आगामी वर्षमा पनि महोत्सवलाई निरन्तरता दिने बताए ।

पोखरामा यसअघि होटल संघले समेत दाइँ महोत्सव गरेको थियो । तर निरन्तरता दिन सकेको थिएन । परिषद्ले आयोजना गरेको रोपाइँ महोत्सव १९ औ संस्करण पूरा भइसकेको छ । नयाँ पुस्तालाई धान बोरामा होइन, खेतमा फल्छ भन्ने सिकाउन महोत्सवले टेवा दिने अपेक्षा रहेको परिषद्का सहकोषाध्यक्ष एवं महोत्सव संयोजक बाबुराम पाण्डेले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width