रिहर्सलमा ‘सपना डिलक्स कोच’

आदर्श समाज सम्वाददाता
माघ ४, २०८१
natak sapana

पोखरा । चर्चित कलाकार अनुप बरालको सक्रियतामा पोखरा–३, नदीपुरमा ‘हंसध्वनि’ नाटकघर निर्माणाधीन छ । निर्माण पूरा नहुँदै सोही नाटकघरमा एक महिनायता ‘सपना डिलक्स कोच’ नाटकको धमाधम रिहर्सल भइरहेको छ ।

इन्द्रेणी थिएटरको छैटौं प्रस्तुति रुपमा रहेको उक्त नाटकका लेखक थियटर अध्यक्ष केदारनाथ पौडेल हुन् भने निर्देशन लक्ष्मण डुम्रेले गरेका छन् ।

यही ११ माघदेखि मञ्चन तयारी गरिएको अध्यक्ष पौडेलले जानकारी दिए । झण्डै १ वर्षअघि लेखेको नाटकमा पोखराबाट काठमाडौं जाने यात्रुबाहक बसमा हुने विभिन्न क्रिया र प्रतिक्रिया समेटिएको उनले बताए । उनले भने, ‘यो मौलिक नाटक हो । एउटा परिवारले सामान्य हिसाबले कसरी गाडी चलाएर जीविकोपार्जन गरिरहेको छ र त्योभित्र कस्ताखालका समस्या छन् भन्नेबारे यथार्थ पस्किने छौं ।’

काठमाडौं जानेक्रममा देखिएका दृष्य मञ्चमा उतार्न लागिएको पौडेलले बताए । सबै मानिस बस चढेर गन्तव्यमा पुगे पनि यसरी गन्तव्यमा पु¥याउने बस र त्यसका कामदारका समस्या के हुन् भन्ने यात्रुले खासै ध्यान नदिने गरेको अवस्थामा नाटकमार्फत बाहिर ल्याउने कोशिस रहेको उनको भनाइ छ ।

मञ्चन हुने दिन नजिकिँदै जाँदा टिम राति अबेरसम्म पनि होमवर्क गरिरहेको छ । सामान्य शैलीमा कथा भन्ने तरिकालाई फरक गर्ने प्रयास गरिएको र गाउँघरमा धेरैले भोगेको बाँदरको आतंकसमेत जोडिएकोले दर्शकलाई मनोरञ्जन मिल्ने निर्माण टिमको विश्वास छ ।

इन्द्रेणी थिएटरको छैटौं प्रस्तुति रुपमा रहेको नाटकमा पोखराबाट काठमाडौं जाने बसका विभिन्न क्रिया र प्रतिक्रिया देख्न पाइने

निर्देशक डुम्रेले नाटक सुन्दर बनाउन कलाकार र नेपथ्यबाट विभिन्न प्रयास भइरहेको बताए । आफूहरूको तर्फबाट शत्प्रतिशत दिने कोशिस गरिरहेको भन्दै दर्शकले नाटक मन पराउने बताए । रात्रिबस चलाउने ड्राइभरको मनोविज्ञान स्टेजमा यात्रासँगै देखाउनुपर्ने भएकाले चुनौती भए पनि राम्रो कोशिस भइरहेको निर्देशक डुम्रेले बताए ।

नाटकमा कपिल शर्मा, विभुप्रसाद भुसाल, दिलप्रसाद गुरुङ, सुमन तिमिल्सिना, विजयराज अधिकारी, रामहरि अधिकारी, उमा पुन, अभिषेक भुसाल, श्रद्धा अधिकारीलगायत कलाकारको अभिनय देख्न पाइनेछ । नाटकमा प्रकाश परिकल्पना तथा मञ्च सजावट उज्ज्वलराज ढकालले गरेका हुन् ।

११–१९ माघसम्म गैह्रापाटनस्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा हरेक साँझ ५ बजे नाटक मञ्चन हुनेछ । करिब १ घण्टाको यो नाटक सार्वजनिक बिदाको दिन दिउँसो १ बजे अतिरिक्त शो पनि हुनेछ ।

पोखरा–२२ मा प्रधान कार्यालय रहेको इन्द्रेणी थिएटर नेपाली कलाकारिता नाटकलाई उत्थान गर्ने हेतुले २०७६ सालमा स्थापना भएको हो । थिएटरले स्थापनाकालदेखि ‘घेरो’, ‘धनीरामको गोरु’, ‘आतुरकाल’ र ‘भ्रुण’ नाटक देश–विदेशमा सफलतापूर्वक मञ्चन गरिसकेको छ । यसका अवाला थिएटरले नेपाली कविता, गीत, गजल तथा अन्य कलाका विधाहरुमा पनि काम गरिरहेको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम

    आदर्श समाज सम्वाददाता फागुन १, २०८१
    पोखरा । पोखरामा झण्डै सातादिनदेखि थुप्रिएको फोहोर बिहीबारदेखि उठ्ने भएको छ । त्यसबारे पोखरा महानगरपालिका, वडा कार्यालय ३२ र लामेआहालस्थित…
  • जरोटुप्पोमा सम जयन्ती र सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच…
  • सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटमा श्रीमद्भागवत ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महोत्सव तयारी तीव्र पारिएको छ । सराङकोटलाई…
  • कोटीहोम गोलचक्करमा पोखरा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सयौं वर्ष पुराना चौतारा र रुख मासेर कोटीहोम महायज्ञका लागि दाउरा बटुलेपछि मानव सेवा फाउण्डेसन र त्यसका संस्थापक…
  • ‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । कवि प्रदीप खनाल आफ्नो पहिलो कवितासंग्रह ‘अनन्त यात्रा’ लिएर पाठकमाझ आएका छन् । उनको कृतिको शनिबार पोखरामा आयोजित…

hero news full width