पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू

आदर्श समाज सम्वाददाता
माघ २, २०८१
Pokhara 15

पोखरा । पोखरा वडा कार्यालय १५ आयोजनामा बुधबारदेखि तेस्रो बृहत् खेलकुद महोत्सव सुरु भएको छ । वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा सुरु महोत्सव चार दिनसम्म चल्नेछ ।

महोत्सव उद्घाटन गर्दै पोखराका मेयर धनराज आचार्यले खेलकुदले सम्पूर्णलाई राष्ट्रिय एकतामा ल्याउन मद्दत गर्ने बताए । अन्य विषयमा मतभेद तथा फरक विचार रहे पनि खेलकुदले एकै नियममा बाँध्ने भन्दै उनले खेलकुदले व्यक्तिगत स्वास्थ्य सँगसँगै समाजलाई पनि सकारात्मक ऊर्जा प्रदान गर्ने बताए ।

पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले खेलकुद मैदान अभावले आफूले यस्ता कार्यक्रमहरू गर्न नसके पनि वडा १५ को सहकार्यमा अघि बढ्न सक्ने बताए ।

वडा १५ का अध्यक्ष तोरणबहादुर बानियाँले खेलकुद महोत्सवले आमा समूह, टोल विकास संस्था र युवा क्लबहरूबीचमा भाइचाराको सम्बन्ध विकार गरेकाले यसलाई निरन्तरता दिइएको बताए । वडाका नागरिक स्वस्थ भए घरको वातावरण स्वस्थ हुने र स्वस्थ नागरिकले समाज र राष्ट्रका लागि योगदान दिन सक्ने उनले बताए ।

उनले विकास सँगसँगै शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुदको आवश्यकता पर्छ भन्ने उद्देश्यले यस महोत्सवलाई निरन्तरता दिइएको र योगामार्फत् वडावासीलाई स्वस्थ बनाउन टोल टोलमा योग प्रशिक्षक उत्पादन र कक्षा सञ्चालनमा लागिपरेको बताए ।

वडा सदस्य तथा महोत्सव संयोजक आशीष भण्डारीले खेलकुद महोत्सवले वडावासीमा सामाजिक सद्भावका साथै भावनात्मक एकता प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।

प्रतियोगिता सुरुपूर्व  र्‍याली प्रदर्शन गरिएको थियो । वडा कार्यालयदेखि खेलस्थलसम्म नेपाल प्रहरीको ब्याण्डबाजासहित आमा समूह, विद्यार्थी, युवाले र्‍याली निकालेका हुन् ।

जनजागृति महिला समूह र नेपाल–भारतमैत्री विद्यालय  र्‍यालीमा उत्कृष्ट भयो । सो अवसरमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा वन विज्ञान अध्ययन संस्थानका प्रमुख विनोद हेजु, आइएनएफ नेपालका कार्यकारी निर्देशक कृष्ण अधिकारी, हिमालयन लाइफ नेपालका अध्यक्ष बुद्धिबल रम्तेल, राइट फर चिल्ड्रेनका परियोजना प्रबन्धक सन्तोष गुरूङले बोलेका थिए ।

वडाध्यक्ष बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा महोत्सव संयोजक आशीष भण्डारीले स्वागत र वडा सचिव युवराज पौडेलले सञ्चालन गरेका थिए ।

खेलकुद महोत्सवको पहिलो दिन फुटबल, भलिबल र ब्याडमिन्टनका खेल सुरु भए । पुरुष फुटबलतर्फ गलेश्वर युवा क्लबले तल्लो सिमलबोट टोल विकास संस्थालाई ४ –० गोलअन्तरले हरायो ।

अलकापुर टोल विकास संस्थाले तल्लो नयाँ गाउँलाई १–० हराउँदा विद्यालय फुटबलतर्फ भ्यू प्वाइन्ट सेकेण्डरी र वेलनन एकेडेमी बीचको खेलमा वेलनन १–० अन्तरले विजयी भयो । एस ओ एस हर्मन माइनरको चुनौती सिद्ध माविलाई १–० ले पन्छायो ।

पुरुष भलिबलतर्फ गरिमा टोल र तल्लो नयाँ गाउँ तर्फको खेलमा तल्लो नयाँ गाउँ विजयी हुँदा आदर्श टोल विकास संस्थाले सुनगाभा टोललाई हरायो ।

चन्द्र सूर्य क्लब र स्यानी मजुवा टोल विकास संस्था बीचको खेलमा चन्द्र सूर्य क्लब विजयी बन्यो भने

अलकापुर टोल विकास संस्था र गलेश्वर युवा क्लब बीचको खेलमा गलेश्वर युवा क्लबले जीत हाँसिल गर्न सफल भयो ।

महिला भलिबलतर्फ जनजागृति महिला समूह र अलकापुर महिला समूह बीचको खेलमा जनजागृति महिला समूह विजयी बन्यो ।

ब्याडमिन्टन महिला डबलतर्फ बेलबोट आमा समूह र जागृती आमा समूहबीचको खेलमा बेलबोट आमा समूह विजयी, एकता र अलकापुर आमा समूहबीच एकता आमा समूह विजयी र सिद्धेश्वर मातृ शक्ति समूह र ठूली मजुवा आमा समूह बीचको खेलमा ठूली मजुवा विजयी भयो ।

ब्याडमिन्टन महिला सिङ्गलमा मितेरी आमा र एकता महिला समूहबीच खेलमा मितेरी विजयी भयो । स्यानीपाटन र संगम टोल महिला समूहबीच भएको खेलमा स्यानीपाटन विजयी हुँदा आदर्श आमा समूह र लक्ष्मी टोल आमा समूह बीचको खेलमा आदर्श विजयी भयो ।

Related News

सम्बन्धित समाचार

hero news full width