पोखरा । तनहुँ घिरिङ गाउँपालिकामा कार्यरत् सातौं तहकी इन्जिनियर ज्योति थापा २०७७ फागुनमा पोखरा महानगर काजमा सरुवा भइन् । काज मिति सकिएकै भोलिपल्ट घिरिङ हाजिर हुनुपर्ने उनी अहिलेसम्म पोखरा महानगरमै कार्यरत् छिन् । काजका लागि अधिकतम् ३ महिनाको मात्रै सरुवा हुन्छ । घिरिङले उनी पोखरा आएपछि करारमा कर्मचारी राखेर काम चलाउँदै आएको छ । ‘हामीले करारमा कर्मचारी राख्यौं । दरबन्दीमा फर्किँदा हाम्रो लागि त ठिकै हुन्छ,’ गाउँपालिका अध्यक्ष होमबहादुर थापाले भने, ‘तर स्थायी कर्मचारी राखेका ठाउँमा भने समस्या पर्छ । भैरहेका कर्मचारी कता धपाउने ? नयाँलाई ल्याउने कि नल्याउने भन्ने समस्या छ ।’
ज्योतिभन्दा अघि २०७७ पुसमा मनाङको नार्पा भूमि गाउँपालिकाबाट ३ महिनाकै लागि पोखरा आएका पाँचौं तहका कर्मचारी शोभाकान्त पोखरेल पनि पोखरामै छन् । उनको पदमा नार्पा भूमिले कर्मचारी राखिसकेको छ । ‘उहाँ गैसकेपछि हामीले विज्ञापन खोलेर उहाँको पदमा कर्मचारी राख्यौं,’ उनले भने, ‘एकदुई पद रिक्त त छ । तर सबै काजमा गएका कर्मचारी फर्किए भने राख्ने ठाउँ छैन ।’ नार्पा भूमिबाट आधा दर्जन कर्मचारी काज सरुवा लिएर निस्किएका छन् । पोखरा महानगरपालिकामा विभिन्न ठाउँबाट १ सय ४ जना कर्मचारी काजमा आएका छन् ।
ती सबै कर्मचारी काज फिर्ता गर्ने महानगरको विशेष नगर सभाले निर्णय नै गरेको छ । १ माघदेखि उनीहरु फिर्ता हुनुपर्ने हो । सँगै करारका कर्मचारीलाई पनि हटाउने निर्णय गरिएको छ । तर करार कर्मचारीहरुले अदालत गुहारेपछि करार हटाउने निर्णय विचाराधीन छ । यही छेको पारेर काज कर्मचारी फर्काउने निर्णय पनि कार्यान्वयन भएको छैन । विभिन्न पालिका र कार्यालयहरूमा स्थायी नियुक्ति लिने र महानगरमा सरुवा मिलाएर पोखरा आइहाल्छन्, कर्मचारीहरु । अधिकांश कर्मचारी महानगर आएपछि फिर्न मान्दैनन् । उनीहरू शक्ति समूहलाई मिलाएर महानगरमै बस्छन् ।
जसका कारण महानगरको काममा अवरोध त भएको छ नै अवकाश नजिक पुगेका कर्मचारीलाई आफ्नै कोषबाट उपदानलगायत रकम उपलब्ध गराउँदा महानगरलाई नोक्सान पनि भइरहेको छ । सबै कर्मचारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काज खटाएको हो । महानगरको आवश्यकताबिनाका कर्मचारी धमाधम पठाएपछि महानगरको २५ औं कार्यपालिका बैठकले कुनै पनि कर्मचारी काज नलिने निर्णय गरेको छ भने ३९ औं कार्यपालिका बैठकले उनीहरुलाई काज फर्काउने निर्णय गरेको छ । दुईवटै निर्णय कार्यान्वयन भएको छैन ।
‘काज विशेष कारणले छोटो अवधिका लागि हुने सरुवा हो । तर पोखरा आएका कर्मचारी काज फिर्ता हुनै मान्दैनन्,’ महानगरका एक कर्मचारी भन्छन्, ‘काज कर्मचारी पोखराका लागि रोग बनेको छ । कर्मचारीको ओभरलोड महानगरले खेप्नुपरेको छ ।’ कार्यपालिकाले कर्मचारी नलिने भने पनि मेयर र प्रमुख प्रशासकीय अधिकृतको सहमति लिएर कर्मचारीहरू अहिले पनि आउने क्रम रोकिएको छैन । नेपाली काँग्रेस र नेकपा (एमाले) ले काज फिर्ताको माग पटक–पटक गरेपछि कार्यपालिका र विशेष नगर सभाले समेत फिर्ता गर्ने निर्णय गरेको छ ।
पहिलो चरणमा २१ कर्मचारी फिर्ता गर्ने निर्णय ३९ औं कार्यपालिका बैठकले गरेको छ । अहिले उनीहरु फिर्ता भैसक्नुपर्ने हो । करार कर्मचारीको रिटलाई देखाएर स्थगित गरिएको छ । ‘करार कर्मचारीको अल्पकालीन आदेश आइसकेपछि अर्को पनि रोकियो । ६ गते बहस छ । त्यसपछि के गर्ने निक्र्यौल हुन्छ,’ महानगरका प्रवक्ता मोतीलाल तिम्सिनाले भने, ‘करार र काजको हकमा सबै कुरा सँगसँगै गर्ने भन्ने छ । हामी अदालतको आदेश कुरिरहेका छौं ।’ करार कर्मचारीमध्ये एकथरीले उच्च अदालत र अर्को थरीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् । उच्चले बिहीबारका लागि दुवै पक्षलाई छलफल गर्न बोलाएको छ भने सर्वोच्चले ६ गते बोलाएको छ ।
महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारी २१ जनालाई काज फिर्ताको पत्र समेत बनाइसकेको अवस्थामा स्थगित भएको बताए । ‘पत्र तयार भैसकेको हो । पत्र पठाउन तयारी अवस्थामा छ तर अदालतको आदेशपछि अहिले स्थगित भयो,’ उनले भने, ‘अर्को आदेश आएपछि निर्णय कार्यान्वयन हुन्छ ।’ कनिष्ठता आधारमा काज फिर्ता गर्दै लैजाने उनको भनाइ छ । ‘करार नचलाउनू भनेपछि काज स्वतः रहन्छ भन्ने अर्थ लगाइयो । अदालतको अल्पकालीन आदेशलाई सामान्यीकरण त्यही अर्थ हुन्छ,’ अघि भने, ‘फिर्ता गर्ने तयारी पूरा भएको थियो । अब आदेशपछि अर्को निर्णय महानगरले लिन्छ ।’
Related News
सम्बन्धित समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
एकीकृत समाजवादी गण्डकीमा नेपाली
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१