ढल्यो ऐतिहासिक सम्पदा ‘पोखरा गेट’, विकल्पबिनै भत्काइएकोमा विरोध

विजय नेपाल
पौष २९, २०८१
79386c74-2dcf-47b3-be05-9c1abfda1dfd

पोखरा । पोखराको अमरसिंह चोकस्थित पोखरा गेट गएराति भत्काइएको छ । आइतबार राति करिब १ बजे डोजर लगाएर गेट भत्काइएको हो ।

पोखरा–मुग्लिन सडकखण्ड बिस्तारका क्रममा मापदण्डले छुने भएपछि पोखरा प्रवेशद्वारका रुपमा रहेकाे उक्त गेट भत्काइएको हो।

तर, सो कार्यको राप्रपालगायत स्थानीय युवा क्लबले विरोध जनाएका छन् । पोखराको ऐतिहासिक सम्पदा विकल्पबिनै भत्काइएकोमा उनीहरुको असन्तुष्टि छ ।

राप्रपा केन्द्रीय सदस्य अरुण गिरी भन्छन्, ‘माओवादी छापामार शैलीमा ऐतिहासिक सम्पदा भत्काइएको छ । यसको हामीहरु घोर विरोध गर्छौ ।’

राजमार्ग बिस्तारक्रममा उक्त सम्पदा भत्काउने वा नभत्काउने भन्नेबारे विचार विमर्श हुँदै आएको थियो ।

गत साता पोखरा महानगरपालिकाको आह्वानमा सर्वपक्षीय बैठक नै बसेको थियो । उक्त बैठकले यसबारेमा ठोस निष्कर्ष निकाल्न भने सकेको थिएन ।

‘त्यसबेला भत्काउने भन्ने सहमति भएको हैन । आ–आफ्नो धारणा राख्ने काममात्र भएको हो । पुनर्निर्माण गर्नुपर्छ भन्ने आमधारणा थियो,’ बैठकमा सहभागी राप्रपा केन्द्रीय सदस्य गिरीले भने, ‘स्थानीय तहबाटै हामीहरु पुनर्निर्माण गर्छौ भनेका थियौं । पछि कुरा गरौंला भनी बिनानिकष्र्ण बैठकको सकिएको हो ।’

राजा वीरेन्द्रको शुभराज्यभिषेक अवसरमा पृथ्वी राजमार्गअन्तर्गत पोखरामा स्वागतार्थ निकै कलात्मक ढंगले पक्की गेट निर्माण गरिएको थियो । गेटको माथिल्लो भाग सबैभन्दा महत्वपूर्ण थियो । जसमा बुद्ध र शिवको मूर्तिबीचमा श्रीपेजजडित छ।

मुलुकको ऐतिहासिक धरोहर भोलिका पुस्ताका लागि पनि जोगाएर राख्नुपर्ने स्थानीयको धारणा थियो ।

पोखरा वडा १० का वडासदस्य पूर्णचन्द्र न्यौपानेले पनि ऐतिहासिक सम्पदा जोगाउनुपर्ने तर भत्काउनै परे पुरानै शैलीमा पुनर्निर्माणको जिम्मा आफूहरुले लिने बताउँदै आएका थिए ।

यसबारे पोखराका मेयर धनराज आचार्यले जीर्ण भएको र जतिबेला पनि दुर्घटना हुन सक्ने भन्दै पोखरा गेट भत्काइएको प्रस्ट पारे । ‘हाई–वेको काम सकिएपछि सवारी आवागमनमा असर नपर्ने गरी हामीहरु उपयुक्त ठाउँमा पोखरा प्रवेशद्वार बनाउँछौं,’ उनी भन्छन्, ‘५० वर्षअघि पोखरा त्यहाँसम्म थियो, अमरसिंह चोकमा बन्यो । अहिले पोखरा कोत्रेसम्म फैलिएको छ । कहाँ कहिले बन्छ भन्ने कुरा पहिले हाई–वे त सकिन दिउँ ।’

उक्त सडकखण्डमा ४६ मिटरको सडक बन्ने पोखरा–मुग्लिङअन्तर्गत पश्चिम खण्डका इन्जिनियर सौजन्य नेपालले बताए।

Related News

सम्बन्धित समाचार

hero news full width