पोखरा । जनजिब्रोको ‘पृथ्वीचोक’ मा नेपालका प्रथम सहिद लखन थापाको सालिक छ । १८ वर्षअघि पृथ्वीनारायण शाहको सालिक तत्कालीन वाइसिएलका नेता कार्यकर्ताले ढालेपछि त्यहाँ उक्त सालिक पुनःस्थापना भएन । पछि त्यहाँ लखन थापाको सालिक स्थापित गरियो । त्यो चोकमा पृथ्वीनारायण शाहकै सालिक पुनःस्थापना माग एकाथरिको छ भने अर्कोथरि कुनै हालतमा पुनःस्थापना हुन नदिने पक्षमा छ । यद्यपि, हरेक वर्ष लखनको सालिक छेकिने गरी पृथ्वीनारायणको प्रतिमा राखेर पृथ्वीजयन्ती मनाइन्छ । अभियन्ताहरुले जुनसुकै हालतमा १ वर्षभित्र पृथ्वीचोकमा शाहकै सालिक स्थापना गर्ने उद्घोष गरेका छन् ।
राष्ट्र गौरव अभियानले पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती अवसरमा शनिबार आयोजना गरेको एकता सभामा बोल्नेहरुले पृथ्वीचोकमा अरुको सालिक राखिन नहुनेमा जोड दिए । ‘यो ठाउँमा पृथ्वीनारायण शाहको सालिक थियो । अहिले सालिक छैन तर यो सधँै पृथ्वीचोक नै हो,’ राप्रपा गण्डकीका अध्यक्ष तथा गण्डकी संसदीय दलका नेता पञ्चराम गुरुङ भन्छन्, ‘राष्ट्र निर्माताको राख्नुपर्ने ठाउँमा राष्ट्र सेवकको सालिक नराखौं । यो दुवैको अपमान हो ।’ उनले लखन थापाको सालिक नयाँ ठाउँमा स्थानान्तरण गरेर अहिलेको ठाउँमा पृथ्वीनारायणकै सालिक राख्न महानगरपालिकासँग आग्रह गरेका छन् ।
पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती अवसरमा राष्ट्र गौरव अभियानद्वारा पोखरामा एकता सभा
सहभागीले भारतमा महात्मा गान्धीको सरकारी तवरबाटै सम्मान हुँदा नेपालमा पृथ्वीनारायण शाहको योगदानको कदर नभएकोमा चिन्ता व्यक्त गरे । राष्ट्र गौरव अभियानका प्रवक्ता अरुण गिरीले पृथ्वीचोकमा सालिक राख्न सरकारलाई पटक–पटक आग्रह गरे पनि बेवास्ता गरेको गुनासो गरे । उनले आगामी वर्ष पृथ्वीनारायण शाहकै सालिक ठड्याउने चेतावनी दिए । ‘३०४ औं जन्मजयन्ती मनाउँदा उहाँकै सालिक हुन्छ यहाँ,’ उनले भने, ‘त्यसका लागि आजैदेखि लाग्ने छौँ ।’ त्यसो त गण्डकी प्रदेश सरकारले पनि पृथ्वीनाराण शाहको सालिक निर्माणका लागि बजेट विनियोजन गरेको थियो । सालिक चाहिँ अहिलेसम्म बनेको छैन ।
गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले सालिक निर्माण जातीय हिसाबले नभई सुरक्षित अवतरणको आवश्यकता रहेको बताए । ‘अभियानलाई जातीयता नभड्किने हिसाबले सेफ ल्यान्डिङ गर्नुपर्छ,’ उनले भने, ‘प्रदेश सरकारले पनि आगामी दिनमा छलफल गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ उनले पृथ्वीनारायण शाहको दूरदर्शिता आत्मसात् गर्दै सामाजिक न्याय, विकास र समाजलाई एकीकृत गर्न सकिने उनले बताए ।
इतिहासविद् प्राडा रमेशकुमार ढुंगेलले सालिक हटाएर इतिहासको विनाश गर्ने प्रयास भइरहेकोमा आक्रोश व्यक्त गरे । ‘अर्को वर्ष वा अबको १÷२ वर्षमा यहाँ ठूलो सालिक ठड्याउनै पर्छ । इतिहासको विरोधमा जान कसैलाई छुट छैन,’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने । राज्य पुनर्संरचना उच्चस्तरीय आयोगका सदस्य समेत रहेका प्राडा ढुंगेलले पृथ्वीनारायण शाह राजामात्र नभई युगपुरुषको रुपमा अथ्र्याए । ‘अब सालिक उठाउने मात्रै होइन, १ हजारको नोटमा पृथ्वीनारायण शाहको तस्बिर राख्नुपर्छ,’ अघि भने, ‘तब नेपालको शीर ठाडो हुन्छ । त्यो बेला आइसकेको छ ।’ उनले प्रशासन सुधार गर्ने, देशको इज्जतका लागि काम गर्ने, भुरे टाकुरे राज्यलाई एकीकृत गर्ने काम शाहले गरेका भन्दै राजनेताका रुपमा अथ्र्याए ।
विश्व हिन्दू महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष शंकर खरालले राजाले बनाएको राजमार्गमा हिँडेर, राजाले बनाइदिएको सिंहदरबारमा बसेर त्यो व्यवस्था निरंकुश भन्नु इतिहासको अपमान हुने बताए । ‘राजाले बनाइदिएको राजमार्ग प्रयोग गर्छौ । सिंहदरबारमा बसेर शासन गर्छौं । अनि त्यही व्यवस्था निरंकुश थियो भन्छौं । अनि हामी कहाँ छौं ? इतिहास मेटाएर, भत्काएर कस्तो देश निर्माण गर्न गइरहेका छौं ?’ उनले प्रश्न गरे ।
कार्यक्रममा अभियानका सहसंयोजक गणेशबहादुर पौडेल क्षत्री, ब्राह्मण समाज नेपालका केन्द्रीय अध्यक्ष प्राडा नारायणप्रसाद अधिकारी, विश्व हिन्दू महासंघ नेपाल कास्कीका अध्यक्ष जगन्नाथ कोइराला, क्षत्री समाज नेपालका केन्द्रीय महासचिव कृष्ण थापा, ठकुरी संगम परिवार कास्कीका अध्यक्ष यामबहादुर हमाल, गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार बिमला भण्डारी, दशनामी समाजका भूपेन्द्र गिरी लगायतले पृथ्वीनारायण शाहको योगदानबारे चर्चा गरे । सभाअघि चिप्लेढुंगाबाट न्यूरोड, सभागृहचोक हुँदै पृथ्वीचोकसम्म झाँकीसहितको ¥याली निकालिएको थियो ।
कार्यक्रमका लागि पृथ्वीचोकमा पृथ्वीनारायण शाहको प्रतिमा स्थापना गरिएको थियो । उक्त प्रतिमा सालिक स्थापना नहुँदासम्म आफूहरुले नहटाउने अभियानका सचिव अर्जुन खनालले बताएका छन् ।
Related News
सम्बन्धित समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
एकीकृत समाजवादी गण्डकीमा नेपाली
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१