युनाइटेड क्लब : चौरमा जन्मिएर निरन्तर समाजसेवा

आदर्श समाज सम्वाददाता
पौष २५, २०८१
pokhara mahotsav 4rth day

फाइल तस्बिर

पोखरा । आजभन्दा १५ वर्षअघि पोखरा अमरसिंहचोक वरिपरिका युवामा बिजारोपण भएको समाजसेवाप्रतिको हुटहुटी आजको ‘पोखरा महोत्सव’ हो ।

२०६६ साल आखिरीतिर त्यस्तै सोच भएका युवाजमात् खुला अमरसिंह चौरमा भेला भए । संस्था स्थापना गर्ने निर्णय भयो । त्यही निर्णयबमोजिम २०६७ वैशाख ७ मा जन्मियो–युनाइटेड क्लब, पोखरा ।

‘युवाको जाँगर राष्ट्र निर्माणको आधार’ भन्ने मूलनारा अनुशरण गर्दै शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनलगायत क्षेत्रमा यति छोटो समयमा एउटा क्लबको योगदान आयाम निकै फराकिलो बन्दै गएको छ ।

जहाँबाट सोच जन्मियो, त्यही ठाउँ अमरसिंह चौरमा बर्सेनि हुने पोखरा महोत्सव एउटा गतिलो उदाहरण हो । यस वर्ष महोत्सवको १३ औं संस्करणसम्म आइपुग्दा महोत्सवबाट बचेको पैसाले सामाजिक कार्यको फेहरिस्त पनि लामो छ । खुला चिडियाखाना निर्माणलाई त धेरैले नौलोसमेत मानेका थिए । अहिले यो प्रदेश सरकारको गौरवको आयोजनाअन्तर्गत निर्माण अघि बढिरहेको छ ।

क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल भन्छन्, ‘क्लब स्थापना भइसकेपछि पोखरा पर्यटकीय सहर पनि भएकाले यहाँ पर्यटक आकर्षित गर्न खुला चिडियाखाना बनाउन सोच बनेको हो । जसबाट वन्यजन्तु उद्धार तथा संरक्षण हुने पनि पर्यटकीय गन्तव्य थपिने ।’ त्यसअनुरुप क्लबले २०६७ सालमा पहिलोपल्ट पोखरा महोत्सव आयोजना गरी रकम बचाउँदै गयो । पोखरा ३०,३१ र ३२ को पचभैया, चापापानी चिसाकुना र चैनपुर सामुदायिक वनको १३४ हेक्टरमा चिडियाना खाना निर्माणका लागि तत्कालीन स्वास्थ्य मन्त्री खगराज अधिकारीले शिलान्यास गरेका थिए । क्लबको करिब ५८ लाख, साविक लेखनाथ नगरपालिकाको १० लाख सहयोगबाट जनावर तथा पक्षीको उद्धार सेन्टरका लागि भवन, बाटो तथा खानेपानी जडान गरिएको छ ।

उनी सम्झिन्छन्, ‘सुरुमा त मेला गर्ने कि भन्ने थियो । तर, स्थानीय वस्तुको बिक्री तथा प्रदर्शनीसहित सांस्कृतिक कार्यक्रमसमेत जोडेर महोत्सव थालनी भएको हो ।’ महोत्सवबाट बचत रकम समाजसेवामा लगाउँदै आएको १३ औं संस्करणको पोखरा महोत्सवका अतिथि व्यवस्थापन उपसमिति संयोजकसमेत रहेका बख्रेलले बताए ।

क्लबका पूर्व अध्यक्ष एवं १३ औं महोत्सवका सचिवालय उपसमिति संयोजक सुकबहादुर गुरुङले शिक्षातर्फ क्लबले हालसम्म १९ सामुदायिक विद्यालयमा छात्रवृत्ति वितरण गरिसकेको जनाए । यस्तै, विभिन्न शैक्षिक सामग्री, फर्निचर, न्यानो कपडा, आर्थिक सहयोग गरेको छ । पोखरा–२७, अर्चलेमा आवासीय छात्राबास निर्माण गरी गरिब तथा जेहेनदार वर्गका विद्यार्थीलाई अध्ययन अध्यापन गर्ने व्यवस्था मिलाउने उद्देश्यका साथ भवन शिलान्यासमेत गरिसकेको छ । क्लबले दीर्घकालीन रुपमा उक्त छात्राबासलाई विद्यालयरुपमा परिणत गर्ने लक्ष्य समेत बनाएको छ । क्लबले त्यहाँ ८ रोपनी जग्गा खरिद गरेको हो । छात्राबास निर्माणको डिपिआरसमेत बनिसकेको र अर्को वर्षदेखि बच्चाहरु राख्ने गरी निर्माण कार्य थालनी हुने लक्ष्य छ ।

क्लबले महोत्सवको आम्दानी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनमा खर्चिंदै आएको छ

स्वास्थ्यतर्फ क्लबले दीर्घरोग तथा असाध्य रोग लागेका तर आर्थिक उपचारबाट वञ्चित भएकालाई उपचारार्थ सहयोग गर्दै आएको छ । कास्कीसहित विभिन्न जिल्लामा दूरदराजसम्म विशेषज्ञ डाक्टरसहित बेलाबेलामा स्वास्थ्य शिविर लैजाने गरेको छ । कोरोनाको बेलामा समेत गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरलाई समेत सहयोग गरेको थियो ।

यस्तै, खेलकुदतर्फ प्रथम युनाइटेड कप खुला बास्केटबल, फुटबल प्रतियोगिता सम्पन्न गरिसकेको छ । विभिन्न खेलकुद प्रतियोगिताका आयोजक तथा खेलाडीलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको क्लब अध्यक्ष लोकबहादुर थापा बताउँछन् ।

पर्यटन प्रवद्र्धनतर्फ खुला चिडियाखाना निर्माण हो । हाल उक्त परियोजना गण्डकी प्रदेश सरकारअन्तर्गत जिल्ला डिभिजन वन कार्यालयले स्वामित्वमा छ ।

सेती नदी संरक्षण तथा खोंचलाई पर्यटकीय गन्तव्य बनाउन प्रत्येक टिकटवापत् १ रुपैयाँ छुट्याउँदै आएको छ । सम्पदा संरक्षणसँगै पर्यटन विकासमा यो सांकेतिक आन्दोलनरुपमा अघि बढेको क्लबको दाबी छ । सेती

नदीलाई साहसिक पर्यटकीय गन्तव्य बनाउने र सेती संरक्षणका लागि विज्ञ, प्राविधिक, सरोकारवाला व्यक्तिहरु तथा पोखरा महानगरपालिका, जिल्ला समन्वय समिति तथा पोखरा ९, १०, ११, १५, १७ का वडाध्यक्षहरुबीच अन्तरक्रियासमेत गरिएको थियो । यसैगरी, क्लब विपद् व्यवस्थापनमा पनि निकै सक्रिय हुँदै आएको पूर्व अध्यक्ष एवं १३ औं पोखरा महोत्सव अनुगमन उपसमिति संयोजक लालकाजी गुरुङले बताए ।

एउटा क्लबले महोत्सव माध्यमबाट बचत रकम यसरी सामाजिक कार्यमा लगाउनु आफैँमा सह्रानीय हो । क्लबको आफ्नै प्रयासमा विभिन्न कायम भएका हुन् । तर, दातृनिकायबाट अहिलेसम्म सहयोग नमिलेको र आश पनि नभएको संस्थापक अध्यक्ष बख्रेलको गुनासो छ ।

क्लबको हालसम्म बख्रेलसहित सुकबहादुर गुरुङ, लालकाजी गुरुङ, राजु श्रेष्ठ र लोकबहादुर थापाले नेतृत्व गरेका छन् । क्लबमा हाल २ सय जना सदस्य आबद्ध छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width