सहारा विद्यालयमा प्राथमिक उपचार अक्षयकोष

आदर्श समाज सम्वाददाता
पौष २४, २०८१
MIS PUCH 2

पोखरा । नेवाः मिसा पुचः पृथ्वीचोकले सहारा बाल आधारभूत विद्यालयमा प्राथमिक उपचार अक्षयकोष स्थापनार्थ रकम हस्तान्तरण कार्यक्रम गरेको छ । सोहीक्रममा विद्यालयका ६० जना छात्रालाई महिनाबारी स्वास्थ्य र सरसफाइसम्बन्धी सचेतनामूलक अन्तरक्रियासमेत सञ्चालन भयो ।

संस्थाकी अध्यक्ष लक्ष्मी मुल्मीले सहयोगस्वरुप विद्यालय व्यवस्थापन समिति अध्यक्ष विक्रम थकालीलाई २५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेकी थिइन् ।

प्रमुख अतिथि नेवाः खल कचाः पृथ्वीचोकका अध्यक्ष रेशमबाबु श्रेष्ठले आगामी दिनमा थप सहयोगका लागि नेवाः खल सदैव तयार रहेको बताए ।

पोखरा–९ का जनप्रतिनिधि नन्दराम गिरीले आयोजक संस्थालाई धन्यवाद व्यक्त गर्दै विद्यालयलाई सबैले सहायता प्रदान गर्दै हातेमालो गरी अगाडि बढाउन जोड दिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष विक्रम थकालीले उक्त सहयोगको लागि धन्यवाद व्यक्त गरे । विपन्न समुदायका बालबालिकाहरू अध्ययन गर्ने विद्यालयका बालबालिकाहरुलाई प्राथमिक उपचारका लागि अवधारणासहित कोष स्थापना गर्नु सह्रानीय कार्य भएको उनको भनाइ थियो ।

संस्थाकी अध्यक्ष लक्ष्मी मुल्मीको अध्यक्षतामा भएको कार्यक्रममा नेवाः मिसा पुचः पृथ्वीचोकका सचिव नवीना श्रेष्ठले सञ्चालन र उपाध्यक्ष रोमा रजकले स्वागत गरेकी थिइन् ।

पोखरा ९, बसपार्कस्थित सो विद्यालयमा हाल २ सय ५० बालबालिकाहरु अध्ययनरत् छन् । संस्थाकी अध्यक्ष मुल्मीले कोषको सुरुवात गरेर विजारोपण गर्ने कार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै सबैको साथ र सहयोगले बालबालिकालाई प्राथमिक उपचार पाउनमा सहज हुने धारणा राखिन् ।

कार्यक्रममा नेवाः मिसा पुचः पृथ्वीचोकका संस्थापक अध्यक्ष एवं विद्यालयका सल्लाहकार रेविका श्रेष्ठ, सहारा क्लब पोखराका अध्यक्ष, नेपा मिसा पुचाका पदाधिकारीहरु, नेवाः खलः पृथ्वीचोकका पदाधिकारीहरु, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, सल्लाहकारहरु, शिक्षक अभिभावक एवं विद्यार्थीलगायत उपस्थित थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width