रविका वकिलले सके बहस– खातामा ७ लाख, २७ करोड सम्पत्ति शुद्धीकरण कसरी ?

आदर्श समाज सम्वाददाता
पौष २४, २०८१
ravi.

पोखरा । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दाका प्रतिवादी रास्वपाका निलम्बित सभापति रवि लामिछानेतर्फबाट वकिलहरुको बहस सकिएको छ । उनको तर्फबाट २ दिनसम्म कास्की जिल्ला अदालतमा एक दर्जन वकिलले थुनछेक बहसमा भाग लिएका हुन् ।

मंगलबार वरिष्ठ अधिवक्ताहरु डा. नारायण घिमिरे, हरि सुवेदी, रोहितराज बास्तोला, अधिवक्ताहरु सुरज बस्नेत, राजेन्द्र सेढाईं, सञ्जय गोले, सुनिता रावत, डा. नारायणदत्त कँडेल, सुधिज्ञ पन्त, ईश्वरी पौडेलले बहस गरेका थिए । अघिल्लो दिन सोमबार वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, सुशील पन्त र सुरेन्द्र थापाले बहस गरेका थिए ।

मंगलबारको बहसमा कानून व्यवसायीहरुले सरकारी वकिलले अभियोग दायर गरेको कुनै पनि आरोपमा लामिछानेको संलग्नता नरहेको दाबीसहित तत्काल रिहाइको माग गरे ।

अभियोगपत्र हदम्याद नाघेर आएकाले खारेजभागी हुनुपर्ने, सहकारीबाट गोर्खा मिडियामा लगिएको भनिएको रकममा मुख्य दोषी जीबी राई रहेको भन्दै लामिछानेको संलग्नता पुष्टि नहुने दाबी उनीहरुको थियो । राजनीतिक प्रतिशोधपूर्ण ढंगबाट मुद्दा आएको उनीहरुको दाबी छ ।

बहसका क्रममा सेढाईंले सहकारीबाट गोर्खा मिडियामा रकम गएकोबारे लामिछानेलाई जानकारी भए पनि गैरकानूनी रकम आएकाबारे जानकारी नभएको बताएका छन् । ‘पैसा आएको कुरा थाहा भए पनि गैरकानूनी बाटोबाट आएको हो भन्ने थाहा थिएन,’ उनले भने । सेढाईंले सरकारले नियतवश लामिछानेविरुद्द मुद्दा दर्ता गरेको आरोप लगाए । ‘जुन–जुन मुद्दा लगाए पनि हुन्छ । तर, जसरी पनि रविलाई मुद्दा लगाउनैपर्छ भन्ने नियत राखेर सरकारले मुद्दा दायर गर्‍यो । यो ठीक होइन,’ उनले भने ।

अभियोगपत्र हदम्याद नाघेर आएकाले खारेजभागी हुनुपर्ने जिकिर

अर्का अधिवक्ता घिमिरेले सम्पत्ति शुद्धीकरण मुद्दा लगाउँदा लामिछानेलाई स्पष्टीकरणको मौका दिनुपर्नेमा नदिइएको बताए । हदम्याद नै नभएको मुद्दा दर्ता हुन नसक्ने भन्दै खारेजीको माग उनको छ । ‘कानून तोडमोड गर्न मिल्दैन । हदम्याद नै नभएको मुद्दा कतै दर्ता हुन्छ ?,’ उनले भने, ‘सम्पत्ति शुद्धीकरण मुद्दा लगाइयो तर सम्पत्तिको स्रोत के हो भनेर सफाइ दिने मौका किन दिइएन ? यो जे भइरहेको छ, गलत भइरहेको छ ।’ लामिछाने दम्पतीको खातामा ७ लाख रुपैयाँ मात्रै भएको र कारोबारको आधारमा २७ करोड सम्पत्ति शुद्धीकरण गरेको आरोप गलत हुने उनको भनाइ छ । सरकार गलत मनसाय लिएर अदालतमा उपस्थित भएको उनको जिकिर छ ।

अधिवक्ता सुधिज्ञ पन्तले लामिछानेको पक्राउका कारण नेपालीहरुमा नकारात्मक असर परेको बताए । ‘उहाँको पक्राउले हामी सबै डिमोटिभेटेड भएका छौं । विदेशमा भएको कोही मान्छे नेपाल आउछु भन्छ भने नआउनू भन्छु,’ उनी भन्छन्, ‘किनकि नेपालमा जे पनि हुन्छ भन्दिन्छु ।’ उनले सरकारी वकिललाई अभियोगपत्र फ्रेममा हालेर सजाउन अह्राए । ‘अभियोगपत्र मन परेको हो भने किनेर फ्रेममा हालेर राख्नुस् । अदालतमा लिएर नआउनुस्,’ उनले भने ।

अधिवक्ता सुरज बस्नेतले सरकारले भने झैं लामिछानेले कुनै अपराध नगरेको तर्क गरे । ‘रवि लामिछानेले अपराध गरेको भए भाग्नु हुन्थ्यो । अपराध नगरेका कारण भाग्नु भएन,’ उनले भने, ‘संसारमै संगठित अपराध भन्ने हुँदैन । सम्मानित अदालतले विचार गर्नुपर्छ ।’ उनले बोलाउँदा अदालतमा उपस्थित हुने गरी लामिछानेलाई छोड्नुपर्ने माग राखे ।

अर्का अधिवक्ता सञ्जय गोलेले लामिछानेले गोर्खा मिडियासँग गरेको सम्झौताबमोजिमको भूमिकामा मात्रै रहेकाले सहकारीमा जवाफदेहिता नरहने बताउँछन् । ‘रवि लामिछानेले गोर्खा मिडियासँग गरेको सम्झौताबमोजिमको काम गर्नुभएको हो । उहाँको जवाफदेहिता गोर्खा मिडियाप्रति मात्रै हुन्छ । सहकारीबारे कुनै जवाफदेहिता उहाँसँग हुँदैन,’ उनले भने ।

डा. नारायण कँडेलले जिबी राई कम्पनीको मालिक र लामिछाने उनको इशारामा काम गर्ने व्यक्ति मात्रै भएकाले सहकारी मुद्दा लामिछानेलाई लगाउन नहुने तर्क राखे । ‘गोर्खा मिडियाका मालिक जिबी राईले भनेबमोजिम काम गरेको हो । यो मुद्दामा जोडिएका सबै विषयहरु सहकारीबाट बरामद भएका प्रमाण हुन्, यसबाट रवि लामिछानेलाई मुद्दा लाग्दैन,’ उनले भने । अधिवक्ता रावतले भने लामिछाने ड्यासिङ पर्सनालिटी भएकोले थुन्न नहुने बताइन् ।

वरिष्ठ अधिवक्ता रोहितराज बास्तोलाले पनि कुनै पनि अपराधमा लामिछानेको संलग्नता नरहेकाले रिहा गर्नुपर्ने दाबी राखे । मुद्दा चलाउने आधार नहुँदै मुद्दा चलाइएको र अझै पनि थुनामा राखे झन् अन्याय हुने वकिलहरुको भनाइ छ ।

लामिछानेका वकिलले सिध्याएपछि अर्का प्रतिवादी रामबहादुर खनाल पक्षका वकिलले बहस गरेका थिए । खनालका तर्फबाट वीरेन्द्र केसी र उज्ज्वल सापकोटाले बहस गरे । रामबहादुरको तर्फबाट बुधबार १ जनामात्र अधिवक्तालाई समय दिइएको छ । त्यसपछि बाँकी ३ जना प्रतिवादीहरु गण्डकी प्रदेशका पूर्व सांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङका तर्फबाट कानून व्यवसायीले थुनछेक बहस गर्ने स्रेस्तेदार राजन खनालले बताए ।

हालसम्म गोर्खा मिडियाका पूर्व संचालक पूर्व डिआइजी छविलाल जोशी, लीला पछाईं र रवि लामिछानेका वकिलहरुले बहस सकेका हुन् । सबै प्रतिवादीहरुको तर्फबाट वकिलहरुले बहस सकिएपछि अन्तिम दिन उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता गोविन्दराज गौलीले जवाफी बहससँगै अदालतबाट आदेश आउनेछ ।

न्यायाधीश नीतिज राईको इजलासले हाल उपस्थित गराइएका ७ जना प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामै पठाउने कि धरौटी वा साधारण तारेखमै छाड्नेमध्ये एक आदेश दिनेछ । बहुचर्चित पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम ठगीसमेतका मुद्दामा ६३ प्रतिवादी बनाएर कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको हो । ती प्रतिवादीविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ ३ पैसा बिगो माग दाबी गरिएको छ ।

प्रधानमन्त्रीविरुद्ध नाराबाजी

पूर्व गृहमन्त्री एवं रास्वपा सभापति लामिछानेका समर्थकले जिल्ला अदालतअघि नाराबाजी गरेका छन् । मंगलबार थुनछेक बहस सकेर लामिछानेसमेतलाई प्रहरी भ्यानमार्फत जिल्ला प्रहरी कार्यालय, गैह्रापाटन लैजानेक्रममा तिनका समर्थकले प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस महामन्त्री गगन थापाविरुद्ध नाराबाजी गरेका हुन् ।

अदालतबाट बाहिरिनेक्रममा सधैँ झैं आफ्ना समर्थकलाई हात हल्लाउँदै जाने गरेका लामिछानेलाई मंगलबार भने प्रहरीले छेकेर लगेको आरोप समर्थकले लगाए । त्यसपछि आक्रोशित समर्थक प्रहरीको ज्यादतिसँगै र राजनीतिक प्रतिशोध भएको भन्दै एक्कासि नाराबाजीमा उत्रिएका हुन् । सिमसिम पानीसमेत परेको अवस्थामा प्रहरीले उनीहरुलाई लाठी प्रयोग गरी तितरबितर पारेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width