सफल पोखरा म्याराथन तयारी, अब साप्ताहिक तथा मासिक दौड पनि

आदर्श समाज सम्वाददाता
पौष २३, २०८१
safal.

पोखरा । ‘१९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०८१’ को तयारी सुरु भएको छ । यस वर्षदेखि साप्ताहिक तथा मासिक दौडसमेत समावेश गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक भूतपूर्व खेलाडी मञ्च पोखराले जनायो ।

संस्थाका अध्यक्ष दिलबहादुर गुरुङले पोखरामा नियमित अन्तर्राष्ट्रिय हवाई उडानका लागि दौडौ भन्ने यस वर्षको नारा तय भएको बताए ।

पोखरा महानगरपालिकाको ‘स्वच्छ पोखरा, स्वस्थ पोखरेली’ को नारासमेत आत्मसात गर्दै पहिलोपटक मासिक दौड यही २७ पुसमा हुनेछ । ३ किमी र ५ किमी दौड प्रतियोगिताबाट युवा खेलाडीको उत्पादनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

३ किमी दौडमा ८–१२ वर्षसम्म उमेर समूहका तथा ५ किमीतर्फ १३–१६ वर्षसम्मका छात्रछात्राले भाग लिन पाउने छन् ।

स्थापनाकादेखि नै पोखरा म्याराथन सञ्चालन गर्दै आएको मञ्चले यस वर्ष प्रथम पुरस्कारको राशि १० लाख पुर्‍याउने लक्ष्य राखेको छ । मञ्चले यसका लागि सबैसँग सहयोग अनुरोध गरेको छ । साथै विगतमा चौथो स्थानसम्म मात्र पुरस्कार दिइँदैआएकोमा यस वर्ष आठौं स्थानसम्मका लागि नगद पुरस्कार दिइने मञ्चले जनायो ।

प्रतियोगिताको मुख्य प्रायोजक पोखराकै प्रतिष्ठित संस्था सुजल डेरीको सफल दूध हो । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिकालगायत मुख्य सहयोगी छन् ।

मञ्चका निवर्तमान अध्यक्ष हरिप्रसाद पराजुलीले संस्थाले पोखरा रंगशाला निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै जग्गा संरक्षणका लागि कम्पाउण्ड (पर्खाल) निर्माण अभियान सञ्चालन गरेको बताए ।

पूर्व अध्यक्ष तेजबहादुर गुरुङले मञ्चको भावी योजनाबारे प्रकाश पार्दै दौड संस्कृतिको विकास गरी नागरिकलाई शारीरिक तथा मानसिकरुपमा सबल बनाउन तथा म्याराथन माध्यमबाट पर्यटन प्रवद्र्धनमा ठोस सहयोग पुग्ने बताए । पत्रकार सम्मेलनको संचालन मञ्चका महासचिव केशव पाठकले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width