लेखनाथ महोत्सवमा रत्यौली रौनक

आदर्श समाज सम्वाददाता
पौष २३, २०८१
lcc fest

लेखनाथ । नेपाली समाजमा परम्परागत रत्यौली गीत लोप हुँदै गएपछि त्यसको जगेर्ना एवं नयाँ पुस्तालाई जानकारी दिन लेखनाथ महोत्सवमा हरेक वर्ष रत्यौली नृत्य प्रस्तुत गरिँदै आएको छ ।

दुलाहाका घरमा विवाहका अवसरमा बालिएको शुभसूचक बत्ती कुर्न भनी जम्मा भएका महिलाले गाउने सामूहिक गीत रत्यौली गीत हो । जन्ती हिंड्नुपूर्व दुलाहाका घरमा गरिने कर्मदेखि जन्ती प्रस्थान गरेको र दुलहीका घरमा गरिने कर्मदेखि पुनः दुलाहाका घर भित्रिँदासम्मका अवस्थाको विषयलाई समेटेर रत्यौली गीत गाउने गरिने गरेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका केन्द्रीय सचिव जीवन दाहाल बताउँछन् । रत्यौलीमा अश्लीलता हुने आरोप लाग्ने गरेको भए पनि पछिल्ला दिनमा रत्यौली गीत समाजमा पाच्य हुने शब्द समेटेर आउने गरेकाले महोत्सवमा यस्ता प्रतियोगिताको आयोजना हुँदा रत्यौली गीतको संरक्षणमा टेवा पुग्ने दाहाल बताउँछन् ।

मेला महोत्सवमा यस किसिमको प्रतियोगिता आयोजना गरिदा नयाँ पुस्तालाई रत्यौलीको ज्ञान दिन र यसको संरक्षणमा टेवा पुग्ने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीका पूर्व अध्यक्ष एवं महोत्सवका उद्घोषक समेत रहेका शिवहरि ढुंगानाले भने । रत्यौली गीत गायन र प्रदर्शनमा महिलाको मात्र सहभागिता हुने तथा एकथरी महिलाले बसेर ताली बजाउँदै रत्यौली गाउने गरिने ढुंगानाले बताए । उनका अनुसार त्यही रत्यौली गीतलाई नृत्य र अभिनयले विशेष रोचक बनाउने छ । यो गीत गाउँदा एउटी महिला नर्तकी रूपमा प्रस्तुत हुने र अर्की महिलाले पुरुषको भेषमा सजिएर पुरुषको नृत्य र अभिनय गर्छन् । पुरुषको भेषमा नाच्ने र अभिनय गर्ने व्यक्तिलाई लुठो भन्ने चलन रहेको छ ।

रत्यौली गीत आफैँ रोचक हुन्छ भने नर्तकको नृत्य र अभिनयले रत्यौली गायनस्थललाई निकै रमाइलो बनाउने गर्दछन् । महोत्सवको स्टेजमा नौमती बाजासहितको प्रतियोगिताले मेला महोत्सवलाई मात्रै फाइदा पुग्ने नभएर सिंगो लोकसंस्कृतिको जगेर्ना र नयाँ पुस्तामा रत्यौलीको महत्व बुझाउन सहयोग पुग्ने रत्यौली कार्यक्रमकी संयोजक गंगा मल्लले बताइन् । पुसमा विवाहको लगन नभए पनि लेखनाथ महोत्सवले भने विवाहको जस्तै पञ्चेबाजाको साथमा बेहुला र बेहुली नै बनाएर विवाहकै जस्तो भल्को दिने गरि रत्यौली गीतलाई स्थान दिएको थियो ।

दैनिक २ समूह दरले महोत्सव अवधिभर २२ समूहले रत्यौली गीत प्रस्तुत गर्ने संयोजक गंगा मल्लले जानकारी दिइन् । गीतको तालमा महिला र पुरुष दर्शकसँगसँगै छमछमी नाच्न पाउछन् र साथमा लुठो (जोक्कर) ले विभिन्नखालका हसाउने अभिनय गर्दै स्टेजमा भएकालाई मनोरञ्जन दिने गर्दछन् । बेहुली लिएर आएपछि बेहुलाबेहुली दुवै नाच्ने र स्टेजमा भएकालाई जन्ती खाजाको रुपमा कसार, रोटी र अचार खुवाउने काम भएपछि रत्यौलीको निर्धारित समय सकिन्छ ।

महोत्सव अवधिभर दैनिक रुपमा रत्यौली गीतको प्रस्तुतीका लागि ३५ टिम दर्ता भए पनि प्रस्तुतीका आधारमा भएको छनोटबाट २२ समूहले मात्र प्रतिस्पर्धामा सहभागी हुने अवसर प्राप्त गरेका थिए । सहभागी प्रत्येक समूहलाई प्रस्तुतिको आधारमा पुरस्कृत गरिने छ ।

यसैबीच, महोत्सवको पाँचौं दिन सोमबार करिब १० हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने आर्थिक कारोबारतर्फ २५ लाख बरावरको भएको महोत्सवका प्रचारप्रसार उपसमितिका संयोजक जानुका अधिकारीको दाबी छ ।

लेखनाथ महोत्सवमा साहित्य, महिला विशेष, विद्यालयस्तरीय, सांस्कृतिक, आदिवासी, जनजाति विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपंक्षी प्रर्दशनी, सूचना प्रविधि, शैक्षिक प्रदर्शनी, हस्तकला, जातजातिहरुको सम्मानमा लोप हुन लागेका रीतिरिवाज तथा संस्कृति झल्काउने उत्कृष्ट नृत्य प्रदर्शनी रहने छन् । महोत्सवमा ख्यातिप्राप्त हास्यव्यङ्ग्य कलाकारको दैनिक प्रस्तुति, बालउद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरीगीत, लाइभ म्यूजिक कन्सर्ट थप आकर्षण रुपमा राखिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width