फेवातालको आकार बढ्यो, १०८५ पिलर गाड्ने तयारी

आदर्श समाज सम्वाददाता
पौष २३, २०८१
fewa lake

पोखरा । फेवातालमा १ हजार ८५ वटा पिलर गाड्ने गरी अध्ययनको कार्यप्रगति महानगरको कार्यपालिका बैठकमा पेस गरिएको छ ।

फेवातालको मापदण्ड कार्यान्वयनका लागि बनेको सहजीकरण समितिले गठन गरेको प्राविधिक उपसमितिले लामो समय अध्ययन गरेर उक्त निष्कर्ष निकालेको हो । कास्की नापी कार्यालयका प्रमुखको संयोजकत्वमा समिति गठन भएको थियो । तालमा उच्च बहाव हुने बर्खाको समयलाई समेत नापजाँच गरेर सीमांकन तयार गरिएको हो ।

‘हाई फ्लडको नापो लिएर तालघर छुट्याइएको छ । प्रविधि प्रयोग गरेर सर्भे भएको छ,’ महानगरका प्रवक्ता मोतीलाल तिम्सिना भन्छन्, ‘अब ताललाई १०८५ वटा पोल लगाएर डिमार्केसन गर्ने प्रस्ताव छ ।

अध्ययन समितिको अन्तिम प्रतिवेदन आएपछि काम सुरु हुन्छ ।’ त्यसपछि मात्रै ६५ मिटरभित्र भएका संरचनाको अध्ययन गरिने उनले बताए । ‘पोल गाडेपछि ६५ मिटरको नाप्न सजिलो हुन्छ । त्यसभित्र कति संरचना छन्, मुआब्जा दिनुपर्ने वा नपर्ने सबै अध्ययन प्रतिवेदन निकाल्छौं,’ तिम्सिना अघि भन्छन्, ‘वास्तविक जग्गाधनीले चिन्ता लिनुनपर्ने गरी महानगरले काम गर्छ ।’

सोमबार बसेको महानगरको ३९ औं कार्यपालिका बैठकमा प्राविधिक टोलीले हालसम्मको प्रगति प्रस्तुत गरेको थियो । ‘के काम भइरहेको छ भनेर कार्यपालिकालाई जानकारी गराइएको हो,’ उनले भने, ‘अध्ययन अझै बाँकी नै छ । प्रतिवेदनलाई अन्तिम रुप दिन बाँकी छ ।’

सहरी योजना आयोगका पदाधिकारीको राजीनामा ५ महिनापछि स्वीकृत

सर्वोच्च अदालतले ६५ मिटरभित्रको संरचना हटाउन आदेश दिएको छ । ६५ मिटर कहाँबाट कायम गर्ने भन्ने अन्योलमा सरकार परेको थियो । तत्कालीन समयमा जिल्ला विकास समितिका पूर्व सभापति पुण्य पौडेल नेतृत्वको समितिले एउटा प्रतिवेदन तयार गरेर सरकारलाई बुझाएको छ । उक्त प्रतिवेदनमा उच्च बहावको रिपोर्ट नरहेको भन्दै पुनः अध्ययन गरिएको हो ।

पछिल्लो अध्ययनअनुसार तालको आकार अझै थपिएको छ । स्रोतका अनुसार प्राविधिक समितिले गरेको पछिल्लो अध्ययनमा झण्डै १ हजार रोपनी तालको क्षेत्रफल बढेको छ । यद्यपि आधिकारिक सार्वजनिक भने गरिएको छैन ।

यसैबीच, सहरी योजना आयोग पोखराका उपाध्यक्ष र सदस्यहरुको राजीनामा ५ महिनापछि स्वीकृत गरिएको छ । उपाध्यक्ष प्रेमलाल लामिछाने, सदस्यहरु होमनाथ गैरे र जयप्रसाद सापकोटाले गत साउनमा राजीनामा दिएका थिए । उनीहरुले व्यक्तिगत कारण देखाएर राजीनामा दिए पनि काम गर्ने वातावरण नमिलेको अनौपचारिक बोलेका छन् ।

पोखरा महागरपालिकाले मुस्ताङको घरपझोङ गाउँपालिकासँग भगिनी सम्बन्ध कायम गर्ने भएको छ । घरपझोङले भगिनी सम्बन्धका लागि पोखरा महानगरपालिकालाई पत्र लेखेको थियो । सोही पत्र आधारमा महानगरपालिकाले कार्यपालिका बैठकमा एजेण्डा बनाएको हो । कार्यपालिकाबाट उक्त प्रस्ताव सर्वसम्मत् निर्णय भएको महानगरले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width