पोखरा । पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी मुद्दामा कास्की जिल्ला अदालतमा बहस जारी छ । सोमबारदेखि पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेतर्फबाट उनका वकिलले बहस सुरु गरेका छन् ।
पहिलो दिन सोमबार बहस नसकिएपछि मंगलबारसमेत लामिछानेका वकिलले बहस गर्ने स्रेस्तेदार राजन खनालले जानकारी दिए । लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ । वरिष्ठ अधिवक्ताहरु रमण श्रेष्ठ, सुशील पन्त र सुरेन्द्र थापाले बहस सिध्याएका छन् । उनीहरुले पूरक अभियोग हदम्याद नाघेर आएकाले खारेजभागी हुनुपर्ने जिकिर गरेका छन् । यस्तै, सहकारी ठगीमा एकमात्र जिम्मेवार जिबी राई भएकोले रवि लामिछानेलाई ठगीसँग जोड्न नमिल्ने जिकिर गरे । ‘सबै ठगी गरेको र बदमासी गरेको जिबी राईले हो, रविलाई मुछ्न पाइँदैन । रविको कुनै हात छैन,’ इजलासमा वकिलहरुले बहस गर्दै भने ।
लामिछाने गोर्खा मिडियामा प्रवेश गर्नुभन्दा पहिलेका खाताहरु समेत हेरिएको र २८ करोड भन्नू झुठा आरोप हो भनेका छन् । लामिछाने सन् २०२१ मा मात्र गोर्खा मिडिया गएको भए पनि सन् २०११ देखिका खाता हेरिनु गलत भएको उनीहरुको दाबी छ । रवि लामिछानेको हस्ताक्षर गरी लिइएको भनिएको १ करोडको माग फाराममा उनको नभइ किर्ते गरिएको भन्ने प्रमाणित भइसकेको, सहकारीको ऋणी भएको भए उनको नाममा कबुलियतनामा हुनुपर्ने, सहकारीले रकम असुल्नका लागि ताकेता गरेको चिठीपत्रहरु पनि नभएकाले शेयर सदस्य नै नभएको व्यक्तिलाई सहकारी ठगीको मुद्दा चलाउनु प्रचलित कानूनले नदिने बताए ।
वरिष्ठ अधिवक्ता श्रेष्ठले सरकारी वकिललाई दबाब दिएर मुद्दा दर्ता गरिएको आरोप लगाए । ‘संसद्ले अधिकार नै नभएको क्षेत्रमा पसेर सरकारी वकिललाई पनि दबाब दिएर मुद्दा दर्ता भयो,’ उनले भने, ‘यो दर्ता गर्ने कानूनी आधार छैन, खारेज हुनुपर्छ । वरिष्ठ अधिवक्ता श्रेष्ठले गोर्खा मिडियामा सहकारीको रकम गएको भए कम्पनीको सामान बेचेर पीडितको बचत फिर्ता दिन आग्रह गरेका थिए । ‘गोर्खा मिडियामा डिप्रिसेसन कटाएर पनि ४४ करोडभन्दा बढी सम्पत्ति छ । नेपाल सरकारले बचतकर्तालाई रकम फिर्ता गर्न चाहेको हो भने त्यहाँको सामान बेचेर दिनुपर्छ,’ उनले भने । लामिछानेलाई एकपछि अर्को मुद्दा लगाएर जीवन नै अप्ठ्यारोमा पार्ने प्रयास गरिएको श्रेष्ठको भनाइ छ । ‘एकपछि अर्को मुद्दाको शृङ्खला मात्रै लगाइदिएर जिन्दगी नै अप्ठ्यारो पार्ने काम भएको छ । कहिले आत्महत्या दुरुत्साहन, कहिले नागरिकता, कहिले पासपोर्ट गरेर मुद्दा लगाइएको छ,’ उनी भन्छन्, ‘राज्य नियतवश फसाउन लागेको छ ।’
सोमबार रविको तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त, रमन श्रेष्ठ र सुरेन्द्र थापाले बहस सिध्याएका छन्
अर्का वरिष्ठ अधिवक्ता पन्तले सरकारले बद्नियतसाथ मुद्दा परेकाले खारेजभागी हुनुपर्ने जिकिर गरे । ‘सरकारले बद्तियत राखेर दर्ता गरेको मुद्दा हो । हदम्याद नभएको मुद्दा दर्ता हुनै सक्दैन,’ उनले भने, ‘कुन कानूनअनुसार दर्ता गरें भन्ने कुरा अभियोग दाबीमा नभएकोले यो मुद्दा खारेज हुनुपर्छ । राज्यले गरेको बद्नियतमा अदालतले गम्भीरतापूर्वक हेर्दिनु पर्छ ।’
उनले अभियोगपत्रमा गरिएको दाबी बाझिनेखालको पनि भएको बताए । ‘२०५३ सालमा अंशवापत पाएको जग्गा भनेर अभियोगपत्रमा लेखिएको छ । सोही जग्गा अवैध तरिकाले कमाएको हो जग्गा नै जफत गर्नुपर्छ भनेर लेखिएको छ,’ उनले प्रश्न गरे, ‘यसरी जग हसाउन पाइन्छ ?’
यसअघि सरकारी वकिलले गरेको तर्कलाई खारेज गर्नुपर्ने माग अर्का वरिष्ठ अधिवक्ता थापाले गरे । अभियोगअनुसार आदेश आए न्याय मर्ने तर्क रविपक्षीय कानुन व्यवसायीले गरेका छन् ।
उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रहरी प्रमुख वसन्त कँुवरले संसदीय समितिमा दिएको अभिव्यक्तिको भिडियो पेस गरेका थिए । नियतवश लामिछानेलाई मुद्दा दायर गरेर फसाइएको भन्दै प्रमाणस्वरुप उनीहरुले भिडियो इजलासमै देखाउन लागेका थिए । तर, न्यायाधीश नीतिज राईले भिडियो देखाउन बन्देज लगाए । ‘उहाँहरुले आफ्नै ल्यापटपबाट भिडियो देखाउन लाग्नुभएको थियो । देखाउनुपर्दैन भनेर न्यायाधीशले रोक्नुभयो,’ इजलासबाट फर्केपछि एक कानून व्यवसायीले भने । रवि पक्षका वकिलहरुले पूरक अभियोग र थप अभियोगबीचको फरकको सम्बन्ध पनि उठाएका थिए भने हद म्यादबारे पनि बहस गरेका थिए ।
‘रविले सहकारीबाट रकम लगेको होइन भन्ने प्रस्ट छँदैछ, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा सरकार पक्षले फसाउने प्रपञ्च गरेको छ,’ उनीहरुले भने, ‘खातामा अस्वाभाविक रकम आएको छैन । गोर्खा मिडियामा आउनुअघि नै देखिको खाता हेरिएको छ । ७ लाखमात्रै खातामा पैसा छ, २८ करोड शुद्धीकरणमा कसरी जोडिन्छ ?’ अंशबण्डाको निजी सम्पत्ति पनि जफत गराउन प्रतिवेदन लेखिएको भन्दै सरकारको बद्नियत यसैबाट पुष्टि हुने उनीहरु बताउँछन् । उनीहरुले अदालतले चाहेका बेला उपस्थित हुने गरी आदेश दिनुपर्ने माग राखेका छन् । रविका पक्षबाट बहस गर्न १७ जना वकिलले वकालतनामा टिपाएका छन् । मंगलबार र बुधबारसम्म बहस हुने र बिहीबार जवाफी बहस हुन सक्ने अनुमान गरिएको छ । उनको पक्षमा पहिलो दिन ३ जना वकिलले बहस गरेकोमा मंगलबार अन्यले बहस गर्ने छन् ।
सोमबार भित्र बहस भइरहँदा अदालत अघि सहकारीपीडित र रवि लामिछानेका समर्थक भेला भएका थिए ।
सूर्यदर्शनको रकम ठगीसमेतका मुद्दामा ६३ जनालाई प्रतिवादी बनाएर कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ । गत वर्ष १८ असोजमा सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जिबी राईसमेत १९ जनालाई प्रतिवादी बनाई मुद्दा दायर भएकामा गत ५ र ७ पुसमा लामिछाने, पूर्व डिआइजी छविलाल जोशी समेतलाई प्रतिवादी बनाएर पूरक अभियोग लगिएको थियो । ती प्रतिवादीविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ ३ पैसा बिगो माग दाबी गरिएको छ ।
हाल अदालत उपस्थित गराइएका लामिछानेसमेत ७ प्रतिवादीमध्ये छविलाल जोशी, लीला पछाईंको तर्फबाट तिनका वकिलले बहस गरिसकेका छन् । अझै रामबहादुर खनाल, मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङका तर्फबाट कानून व्यवसायीले थुनछेक बहस गर्न बाँकी छ ।
Related News
सम्बन्धित समाचार
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
करार र काजले भरिएको पोखरा महानगर
खुदीखोलाका मगरहरुले मनाए माघी
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
hero news full width
मुख्य समाचार
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१