सहारा क्लबले भेट्यो गण्डकीका खेलकुद मन्त्री, आहारारा गोल्डकपमा सहयाेग गर्ने प्रतिबद्धता

आदर्श समाज सम्वाददाता
पौष २२, २०८१
7f2f6713-4510-423b-9a50-33e6f7313f2c

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता–२०८१ लाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतियोगिताको मिति नजिकिँदै गएपछि आयोजक सहारा क्लब पोखराको टोली खेलकुद मन्त्री थापालाई भेट्न आइतबार मन्त्रालय गएको थियो।

भेटका क्रममा मन्त्री थापाले आहा रारा गोल्डकप गण्डकी प्रदेशकै गौरवको विषय भएको भन्दै मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

क्लब अध्यक्ष केशवराज बराल नेतृत्वमा गएको टोलीमा पूर्व अध्यक्षहरु वीरभद्र आचार्य, केशवबहादुर थापा, निवर्तमान अध्यक्ष हरिराम गुरुङ (सुरज), वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङ, सहकोषाध्यक्ष अशोक लालचन सहभागी थिए ।

मोफसलको चर्चित क्लब सहारा क्लबले आगामी माघ २२ देखि फागुन ३ गतेसम्म पोखरा रंगशालामा उक्त प्रतियोगिता संचालन गर्दैछ । नेपालको फुटबल इतिहासमा निरन्तर सञ्चालित एकमात्र प्रतियोगिता आहा रारा गोल्डकप हो ।

हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउ मुख्य प्रायोजक रहेको प्रतियोगितामा विभिन्न सहयोगीहरु जोडिने क्रम जारी छ ।

क्लबले पोखरा १७, दोबिल्लामा सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी संचालन गरेको छ । हाल चौथो ब्याजको रुपमा एकेडेमीमा आश्रित कठिन परिस्थिति र विपन्न वर्गका ३० जना बालकहरु रहेको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जताए ।

फुटबल प्रतियोगिताबाट हुने आम्दानी एकेडेमीमा आश्रित बालिकहरुको उचित शिक्षादीक्षा, आवास र दैनिक फुटबल प्रशिक्षणमा क्लबले खर्च गर्दै आएको क्लब अध्यक्ष बरालले बताए ।

गत वर्षको विजेता त्रिभुवन आर्मी फुटबल क्लब र उपविजेता थ्री स्टार क्लब ललितपुर हुन् । विजेताले १२ लाख र उपविजेताले ६ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width