डेढ करोड ठगेर ललित फरार

आदर्श समाज सम्वाददाता
पौष २०, २०८१
lalit

पोखरा । चेक अनादर मुद्दाका प्रतिवादी ललितकुमार गुरुङलाई ६ महिना बित्दासमेत प्रहरीले पक्राउ गर्न सकेको छैन । नेपाल तरुण दल लमजुङ अध्यक्षसमेत रहेका गुरुङलाई राजनीतिक संरक्षण दिइएकाले पक्राउ नपरेको आशंका गरिएको छ ।

उनीविरुद्ध ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको ६ महिना बितिसकेको छ । हालसम्म फरार सूचीमा रहेका उनलाई तरुण दलले अहिलेसम्म पनि निलम्बन गरिसकेको छैन ।
काठमाडौंस्थित सूचना प्रविधिसम्बन्धी कम्पनी, जेनेस सलुशनलाई आफ्नो जग्गा बिक्री गर्छु भनी २ करोड रुपैयाँ बैना लिई उक्त जग्गा अर्कैलाई बिक्री गरेपछि उनीविरुद्ध उक्त कम्पनीले उजुरी दिएको थियो ।
हामीलाई प्राप्त जानकारीअनुसार पोखरामा कार्यालय स्थापना गर्न जेनेस सलुशनले पोखरा–१२ स्थित झण्डै १३ आना जग्गा खरिद गर्न गुरुङलाई २ करोड बैनावापत दिएको थियो । तर, पछि उक्त जग्गा उनले अर्कैलाई बिक्री गरेको मालपोत कार्यालय कास्कीबाट खुलेको छ । उक्त कम्पनीले गुरुङलाई सम्पर्क गरी रकम फिर्ता माग्दा ५० लाख फिर्ता दिए पनि बाँकी रकमको साँवाब्याज समेत १ करोड ६५ लाखको एकाउन्ट पेई चेक बुझाएका थिए ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि.को जावलाखेल शाखामा उक्त चेक साट्न पटकपटक जाँदा बैंकले निज गुरुङको खातामा पर्याप्त रकम नरहेको जनाएपछि उक्त कम्पनीले आवश्यक प्रमाणसहित ललितपुर प्रहरीमा उजुरी दिएको थियो । गुरुङ यसअघि पनि ठगीलगायत अन्य आपराधिक कार्यमा संलग्न रहेको प्रहरीको भनाइ छ ।

नेपालबाट ठूलो संख्यामा युवाहरु विदेश गइरहेको बेला बहुर्राष्ट्रिय आइटी कम्पनी जेनेस सलुशनले पोखरामा कार्यालय खोली स्थानीय युवाको सीप विकास गरी नेपालमै बसेर रोजगारी सिर्जना गर्ने उद्देश्यले जग्गा खरिद गर्न खोजेको जनाएको छ । तर, राजनीतिक संरक्षणका कारण आफ्नो पैसा फिर्ता नपाउँदा व्यवसाय बिस्तार योजनामाथि नै धक्का पुगेको कम्पनी संचालकको गुनासो छ ।

संसारका विभिन्न १० मुलुकहरुमा व्यवसाय बिस्तार गरिसकेको उक्त कम्पनीले पोखरामा काम सुरु गर्दा स्थानीयस्तरमा आर्थिक विकास र रोजगारको अवसरसमेत सिर्जना भै स्थानीय जनतालाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास थियो । सूचना प्रविधि उद्यमीहरुले तत्काल निज प्रतिवादी गुरुङलाई पक्राउ गरी कानूनी कारबाहीको माग गरेका छन् । साथै, उनीहरुले नेपाल तरुण दल जिल्ला अध्यक्ष पदबाट निलम्बनको माग गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width