पोखरा । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले गण्डकी प्रदेशको प्राविधिक शिक्षालय निर्माणका लागि आर्थिक सहयोग दिने भएको छ । शुक्रबार कोइका र गण्डकी सरकारबीच सहयोग सम्झौतामा हस्ताक्षर भएको हो ।
गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डे र नेपालस्थित कोइकाका कन्ट्री डाइरेक्टर मुहेन कङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतासँगै कोइकाले गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानको संरचना बनाउन ९० लाख अमेरिकी डलर अर्थात् १ अर्ब २४ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग गर्नेछ । ४ वर्षको लामो समयको प्रतीक्षापछि बल्ल परियोजना सम्झौता हुने चरणमा पुगेको हो । प्राविधिक तथा व्यावसायिक तालिम प्राप्त जनशक्ति उत्पादन गर्न सरकारले २०७७ सालमा प्रतिष्ठान स्थापना गरेको थियो ।
५ वर्षसम्म सञ्चालन हुने परियोजनाले ३ वटा विद्यालय निर्माण गर्नेछ भने ल्याब लगायतका आवश्यक संरचना थप्नेछ । ४५ करोड रुपैयाँ निर्माणमा मात्रै खर्च हुने प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सोमनाथ सापकोटाले जानकारी दिए । ‘चलाउन नजान्ने इक्युप्मेन्ट दिएर मात्रै भएन, कपडाले छोपेर राख्ने इक्युप्मेन्ट हामीले के गर्ने ? यत्रो परियोजना कामयावी पनि हुनुप¥यो नि,’ उनले भने, ‘कोरियामा तालिम गरेर आएपछि पढाउँछन् । कोरियन एक्स्पर्ट पनि हुन्छन् । गण्डकी प्रदेश सरकार र कोरियन टोली मिलेर २ वर्ष सँगै चलाउने हो । त्यसपछि मात्रै पूरापूर हस्तान्तरण हुन्छ ।’
गण्डकी प्रदेश र नेपाललाई चाहिने उच्चस्तरका दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले परियोजना सञ्चालन गर्न लागिएको डा.सापकोटाको भनाइ छ । परियोजनाका लागि सरकारले १६० रोपनी जग्गा संघबाट आफूमातहत ल्याएको छ । त्यसमध्ये ९ रोपनी हाराहारीमा संरचना फैलिन्छ । ‘१० वटा स्कूल बनाउने उद्देश्य छ । ३ वटा कोरियाले बनाए पनि अरु हामी हाम्रै लगानीमा निर्माण गर्छौं,’ सापकोटा अघि भन्छन्, ‘अरु धेरै योजनाहरु यसमा समेटिएका छन् । अझै परिमार्जित गर्दै लैजान्छौं ।’
यहाँबाट अल्पकालीन तालिमसँगै प्राविधिक मार्गदर्शन र सहयोग प्रदान गरिने परियोजनाले जनाएको छ ।
सम्झौतापछि गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले वर्तमान बेरोजगारी समस्या समाधानमा टेवा पुग्ने दाबी गरे । ‘परियोजना दक्ष जनशक्ति उत्पादन गर्न सञ्चालन गरिएको हो,’ उनले भने, ‘हाम्रो बजारमा आवश्यक प्राविधिक जनशक्ति यहाँबाट उत्पादन हुन्छन् । रोजगारी बढाउन दक्ष जनशक्तिको विकास गर्न आर्थिक विकासमा समेत योगदान पुग्नेछ ।’ कोइकाले गर्ने काम बाहेक प्रदेश सरकारका पनि केही दायित्व छन् । त्यहाँसम्म पुग्ने बाटो निर्माण, सञ्चार, बिजुली र पानीको व्यवस्थापन, सुरक्षासँगै कानूनी समस्या निदान गर्ने र विवाद निवारणको काम प्रदेश सरकारले गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ ।
यसलाई रेखदेख गर्न र परियोजनालाई प्रभावकारी बनाउन छुट्टै स्टेयरिङ कमिटी बनाइएको छ । सामाजिक विकास मन्त्रालयका सचिवको अध्यक्षतामा प्रतिष्ठानका कार्यकारी निर्देशक सदस्य सचिव रहने गरी मुख्यमन्त्री कार्यालय र अर्थ मन्त्रालयका प्रतिनिधि सदस्य रहेको समिति गठन भएको छ । परियोजनामा के गर्ने र के नगर्ने निक्र्यौल यसैले गर्नेछ । कोइकाले प्रोजक्ट म्यानेज्मेन्ट कन्सल्ट्यान्ट नियुक्त गरेर खटाउँछ । उक्त कन्सल्ट्यान्टले स्टेरिङ कमिटीसँग मिलेर काम गर्नुपर्ने उल्लेख छ । कोइकाका कन्ट्री डाइरेक्टर कङले परियोजनाले युवा, महिला र विपन्न वर्गका लागि गुणस्तरीय प्राविधिक शिक्षामा पहुँच पुग्ने विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल र दक्षिण कोरियाबीचको द्विपक्षीय सहकार्यको प्रशंसा गरे । उनले परियोजनाले नेपालको आर्थिक समृद्धिका लागि आवश्यक सीप र दक्ष जनशक्ति उत्पादन गर्ने दाबी गरे । परियोजनाका लागि सरकारको तर्फबाट पूर्ण सहयोग रहने उनको प्रतिबद्धता छ ।
यसैबीच, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेदीखोला–१, गुर्धुममा निर्माण गरिने प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास गरे । उक्त कार्यक्रममा गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा, गण्डकी प्रदेश सभाका सार्वजनिक लेखा समिति सभापति सुधीरकुमार पौडेल, प्रदेशका पूर्व मन्त्रीसमेत रहेका सांसद पञ्चराम गुरुङ, पूर्व मन्त्री एवं सांसद सीताकुमारी सुन्दास, सांसद कल्पना तिवारी, कोइकाका नेपालस्थित कन्ट्री डाइरेक्टर मुहेन कङ, फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी, प्रदेश नीति योजना आयोग उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीलगायत उपस्थित थिए ।
प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवन आगामी सन् २०२६ को अगस्तसम्म सम्पन्न हुने लक्ष्य छ । जसको लागत ३ करोड ५५ लाख १९ हजार १ सय ९१ रुपैयाँ (भ्याटसहित) छ । निर्माण जिम्मा आरुषी कन्स्ट्रक्सन, पोखराले पाएको छ ।
प्रतिष्ठानलाई थप जग्गा उपलब्ध गराउन २२ रोपनीमा फैलिएको शिवालय आधारभूत विद्यालयलाई सर्केटारी सारिएको थियो । जग्गा दिएर सहयोग पु¥याएकोमा उक्त स्कुलको विकासका लागि सरकारले पहिलो प्राथमिकता दिने मुख्यमन्त्री पाण्डेले उद्घोष गरे ।
प्रदेशका सामाजिक विकास मन्त्री बिन्दुकमार थापाको अध्यक्षतामा भएको शिलान्यास समारोहमा मुख्ममन्त्री पाण्डेले यो प्रतिष्ठानबाट गण्डकीमात्र नभई भोलिका दिनमा समग्र नेपालमै प्राविधिक शिक्षाबारे ज्ञानसिप हासिल गर्न मद्दत मिल्ने बताए । उनले नेपालमा काम गर्न दक्ष जनशक्ति बाहिरबाट आउने गरेकामा अब यहीबाट दक्ष जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी, प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सोमनाथ सापकोटाले बोलेका थिए । कार्यक्रम संचालन प्रतिष्ठानका उपसचिव हरिबहादुर खपाङ्गी मगरले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
करार र काजले भरिएको पोखरा महानगर
खुदीखोलाका मगरहरुले मनाए माघी
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
hero news full width
मुख्य समाचार
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१