पोखरा । सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतका मुद्दामा कास्की जिल्ला अदालतमा बिहीबार पनि थुनछेक बहस भयो । अघिल्लो २ दिन सरकारी वकिलतर्फबाट बहस भएकामा बिहीबार जाहेरवालाको तर्फबाट कानून व्यवसायीले बहस गरेका हुन् । वरिष्ठ अधिवक्ताद्वय डा. सुरेन्द्र भण्डारी र डा. दिनेश त्रिपाठी, अधिवक्ताहरु युवराज पराजुली, वेदबहादुर (बिबि) विष्ट, पुण्यप्रसाद पराजुली र रामचन्द्र गौतम गरी ६ जनाले बहस गरे । उनीहरुले खासगरी सहकारी बचतकर्ताको रकम फिर्ताका लागि हाल उपस्थित गराइएका प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर मुद्दाको थप अनुसन्धान गर्नुपर्ने बहस पैरवी गरेका थिए । शुक्रबार पनि जाहेरवालातर्फबाट केही कानून व्यवसायीहरुले बहस गर्ने र प्रतिवादीहरुको तर्फबाट थुनछेक बहस प्रारम्भ हुने स्रेस्तेदार राजन खनालले जानकारी दिए ।
अनुसन्धानका क्रममा बयान दिँदा प्रतिवादीहरुले अपचलनबारे आफूलाई थाहा नभएको दाबी गर्दै आएका छन् । उनीहरु सबैजसोले घटना ‘थाहा छैन’ भनेपछि अदालतमा बहस गर्ने वकिलहरुले उक्त शब्दलाई ‘संगठित अपराधको कोड भाषा’ हुन सक्ने तर्क गरेका छन् ।
पीडितहरुको पक्षबाट बहस गर्नेक्रममा कानून व्यवसायी वेदबहादुर (विवि) विष्टले संसारभर संगठित अपराधमा कोड भाषा प्रयोग हुने भएकोले यो घटनामा पनि ‘थाहा छैन’ कोड भाषा हुन सक्ने तर्क गरे । ‘बारम्बार मलाई थाहा छैन, मलाई थाहा थिएन, मलाई थाहा हुने कुरा भएन, म निर्दोष छु भन्नुभएको छ । संसारभरीको संगठित अपराधलाई केलाएर हेर्दा कोड ल्याङ्वेज प्रयोग गर्ने गरिन्छ । कतै यो कोड ल्याङ्वेज त होइन ?,’ उनले भने ।
अधिवक्ता विष्टले शेयर सदस्य नबनी ऋण लिनु र ऋण तिर्न सहकारीलाई चेक काट्नु नै गलत भएको तर्क गरे । ‘सूर्यदर्शनमा गएको छु ? गएको छैन । शेयर सदस्य हुँ, अहँ होइन । सही गरेर ऋण लिएको छु ? अहँ छैन । हो त्यही भएर ठगी भयो,’ उनले बहसमा भने, ‘ऋण लिन पाइन्छ तर सहकारीको सदस्य हुनुप¥यो । १ लाख १२ हजारका दरले १४ वटा चेक सूर्यदर्शन सहकारीका नाममा काट्नुभएको छ ।
ऋण लिएको पैसा फिर्ता गर्न पाइन्छ, तर किन नस्वीकारेको ?’ उनले राम्रा कामको आडमा अपराध लुकाइएको तर्क गरे । ‘भर्भराउँदो उमेरमा साँच्चै राम्रो काम पनि गर्नुभएको छ । त्यसप्रति सम्मान गर्नुपर्छ,’ अघि भने, ‘राम्रो कामको आडमा गरेको अपराधलाई किन लुकाउन खोजेको ? गल्ती जसले पनि गर्न सक्छ, गल्ती भयो भन्ने स्वीकार गर्नुपर्छ । ढाँट्न लागेपछि ठगी हो ।’
अधिवक्ताहरुले विभिन्न कम्पनीमा सहकारीको रकम गएकोले कम्पनी सञ्चालक सबै जिम्मेवार हुनुपर्ने बताएका छन् ।
अधिवक्ता युवराज पराजुलीले प्रतिवादीहरूको बैंक खातामा देखिएको कारोबारको स्रोत नखुलेको हुँदा त्यसमा पनि कारबाही गर्नुपर्ने माग गरे । ‘जुन पैसा उनीहरूको खातामा देखिएको छ, चलअचल सम्पत्तिको स्रोत खुलाउन नसकेको कारण उनीहरू संगठित तरिकाले चलेको देखिन्छ,’ उनले भने, ‘यो गम्भीर प्रकृतिको कसूर हो । पुर्पक्षमा राखेर मुद्दा अघि बढाउनुपर्छ ।’ उनले पूर्व गृहमन्त्री रवि लामिछानेले सामाजिक अपराध पनि गरेको जिकीर गरे । ‘संगठित अपराध, सहकारी ठगी, सम्पत्ति शुद्धीकरणको विषय त हुँदै हा, यो त सामाजिक अपराध पनि हो,’ उनी भन्छन्, ‘राज्यको जिम्मेवार तहमा भएका व्यक्ति, उपप्रधान तथा गृहमन्त्री भएको व्यक्ति, दुईपटक निर्वाचित व्यक्तिबाट जनताले जुन अपेक्षा गरेका हुन्छन्, त्यो अपेक्षाअनुसारको काम गर्नुपर्नेमा जिम्मेवार व्यक्ति संगठित अपराध, सहकारीको रकम अपचलन गर्ने र सम्पत्ति शुद्धीकरणतर्फ जाने कुरा थप कसूर आकर्षित हुने विषय हो ।’
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले लामिछानेकेन्द्रित बहस गरे । उनले लामिछानेलाई बाहिर राख्दा सत्ता राजनीतिमा बार्गेनिङ गर्ने दाबी गरेका छन् । ‘उहाँलाई बाहिर छोड्दा सत्ताको बार्गेनिङ गर्ने अवस्था हुन्छ । सत्ता समीकरण फेरबदल हुँदा फेरि शक्तिमा पुग्ने र शक्तिमा पुगेपछि मुद्दासमेत प्रभावित हुन्छ,’ उनले भने ।
सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा पूर्व गृहमन्त्री एवं रास्वपा सभापति लामिछानेसमेत ६३ जनालाई प्रतिवादी बनाइएको मुद्दा जिल्ला अदालतमा दायर भएको छ । ती प्रतिवादीहरुविरुद्ध कुल १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ ३ पैसा बिगो माग दाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालयले थप संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतका मुद्दामा अभियोगपत्र दायर गरेको छ । हाल हिरासत रहेका लामिछानेसहित गोर्खा मिडियाका पूर्व संचालक पूर्व डिआईजी छविलाल जोशी, जिबी राईकी साझेदार लीला पछाईं, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद एवं सहकारीकी पूर्व उपाध्यक्ष मीना गुरुङ, पूर्व कोषाध्यक्ष आरती गुरुङ र पूर्व संचालक कृष्णबहादुर गुरुङको सम्बन्धमा न्यायाधीश नीतिज राईको इजलासमा बहस थालिएको हो ।
Related News
सम्बन्धित समाचार
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
करार र काजले भरिएको पोखरा महानगर
खुदीखोलाका मगरहरुले मनाए माघी
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
hero news full width
मुख्य समाचार
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१