प्राधिकरणले विमानस्थल चलाउने कार्ययोजना बनाएन : गुरुङ

आदर्श समाज सम्वाददाता
पौष १४, २०८१
street fest (5)

पोखरा । पोखराको लेकसाइडमा २६ औं संस्करणको पोखरा सडक महोत्सव सुरु भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान), पोखराको आयोजनामा ५ दिनसम्म चल्ने महोत्सव शनिबार उद्घाटन भएको हो । महोत्सव उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नागरिक उड्ययन प्राधिकरणले सरकारको निर्देशनबमोजिम काम नगरेकोमा असन्तुष्टि पोखे । सरकारले प्राधिकरणलाई पोखरा र भैरहवा विमानस्थल सञ्चालनको स्पष्ट कार्यविधि बनाउन निर्देश गरेको थियो, तर प्राधिकरणले हालसम्म कार्ययोजना नबनाएको गुरुङको आरोप छ ।

‘आफूमातहतको विमानस्थल कसरी चलाउने भनेर कार्यविधि बनाउन पर्छ कि पर्दैन ? योजना बनाउन पर्छ कि पर्दैन ?,’ सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले भने, ‘सरकारले कार्ययोजना बनाउन निर्देशन दिएको छ । अहिलेसम्म बनाएको छैन ।’ दुई विमानस्थल चलाउन सरकारले २० बुँदे कार्ययोजना पारित गरेको गरेको छ । सोही कार्ययोजनाअनुसार प्राधिकरणले काम नगरेकोमा उनले असन्तुष्टि पोखेका हुन् । पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा आए पर्यटकलाई सहज हुने उनको तर्क छ ।

मन्त्री गुरुङले पोखरालाई ‘सिटी अफ फेस्टिभल’ रूपमा सञ्चालन गर्नुपर्ने बताएका छन् । ‘काठमाडौंमा ३६५ दिनमा ३६६ दिन जात्रा लाग्छ भन्थे । हामी पनि पोखरामा महोत्सवको सहर बनाउन सकिन्छ नि ! यो आधुनिक पर्यटनको जात्रा हुन सक्छ,’ उनले भने ।

अहिले एकैपटक पर्यटकीय इभेन्ट जुधाएकोमा भने उनी खुसी छैनन् । उनले पोखरालाई शिक्षा, स्वास्थ्य र खेलकुदको हब बनाउन सके पर्यटनको विकास हुने बताए । ‘पोखरालाई शिक्षा, खेलकुद र स्वास्थ्यको हब बनाउन सकिन्छ । यसबाट पोखरामा पर्यटनको विकास आफैँ हुन्छ,’ उनले भने, ‘अहिले भारतले पाकिस्तानमा क्रिकेट खेल्न जान्न भनेको छ । हाम्रोमा स्तरीय क्रिकेट रंगशाला भएको भए उनीहरूलाई नेपाल ल्याउन सकिन्थ्यो । केही सुरु भएका परियोजनाहरू पनि अहिले अलपत्र छन् । त्यसलाई पूरा गर्न सबै लाग्नुपर्छ ।’

गुरुङले माइस टुरिज्मका लागि सम्मेलन केन्द्र निर्माण गर्नुपर्ने बताए । सिलिङ्गेमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र निर्माणका लागि आधारभूत सर्भे गरिसकेको भन्दै उनले त्यसलाई पूर्णता दिन प्रदेश र स्थानीय सरकारले पहल गर्नुपर्ने बताए । सडक मार्गलाई स्तरोन्नति गर्न सके पोखरामा आउने पर्यटकलाई सास्ती नहुनेमा उनको तर्क छ । ‘बुटवल, भरतपुर र काठमाडौंसँग एक्सप्रेस रोडले जोडियो भने जहाज आयो कि आएन भनेर कुर्नु पर्दैन । पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गलाई स्तरीय बनाउन हामी सबैले पहल गरौं, म मेरो ठाउँबाट पहल गर्छु ।’

अंग्रेजी नयाँ वर्ष २०२५ अवसरमा रेवानले २६ औं पोखरा सडक महोत्सव आयोजना गरेको हो

अंग्रेजी नयाँ वर्ष अवसरमा रेवान, पोखराले बर्सेनि फेवाताल किनारमा पोखरा सडक महोत्सव आयोजना गरेर आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउँदै आएको छ । विविध कार्यक्रमका साथ पर्यटनको राजधानी पोखरामा हुने करिब ५ लाख पर्यटक भित्राउने लक्ष्य आयोजकको छ ।

महोत्सव उद्घाटनअघि खहरे चोकदेखि कोमागानेपार्कसम्म ६० भन्दा बढी जातीय संघसंस्था, आमा समूह, पर्यटन सम्बद्ध विभिन्न संघसंस्था लगायतले ¥याली निकालेका थिए । करिब ४ किलोमिटर क्षेत्रमा महोत्सव आयोजना गरिएको छ । ‘सडकमै खाऔं, सडकमै रमाऔं’ नाराका साथ हरेक वर्ष पोखरामा सडक महोत्सव हुँदै आएको छ । महोत्सवले पोखराको पर्यटनलाई चलायमान बनाएको दाबी पर्यटन क्षेत्रका जानकारको छ ।

रेवान महासचिव एवं प्रचारप्रसार समिति संयोजक वीरेन्द्र शेरचनले स्थानीय कलासंस्कृति, मौलिक भेषभूषा प्रदर्शनी, स्थानीय उत्पादनलाई जोड दिएको बताए । सडक महोत्सवलाई अन्तर्राष्ट्रियजगतसम्म चिनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेकाले यसपटक पनि सकारात्मक सहयोगको अपेक्षा लिएको बताए ।

व्यवसायीले सडकमै रेष्टुरेन्ट उतारेर ग्राहकलाई सेवा दिने छन् । महोत्सवको आकर्षणमा विभिन्न जातजातिका लोपोन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, कन्सर्ट, खेलकुद खेलकुदतर्फ बोट रेस, वेटर रेस, टंग अफ बार, मःम, ससेज खाने प्रतियोगिता, सचेतनामूलक सडक नाटक, सेल्फी फोटो बुथ, पोखराको पर्यटनको विकास, प्रवद्र्धन, अवसर तथा चुनौती विषयमा टक सो, पोखरा सेरोफेरोको स्थानीय उत्पादित हस्तकला, चित्रकला, मूर्तिकला तथा कृषि, वनस्पतीलगायतका कृषि उपजलाई प्राथमिकता साथ प्रदर्शनीको व्यवस्था रहेका छन् ।

रेवान अध्यक्ष विश्वराज पौडेलका अनुसार महोत्सवले नेपालमा कला, संस्कृति, तथा पर्यटनलाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्ने राम्रो अवसर प्रदान गरेको छ । उनका अनुसार समग्रमा सडक महोत्सव स्थानीयस्तरमा आर्थिक गतिविधि चलायमान, विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना गर्न गतिलो माध्यम बनेको छ । लेकसाइड यतिखेर ध्वजापताका, ब्यानरले दुलही झैं सिँगारिएको छ भने पर्यटकको चहलपहल बाक्लिन थालेको छ । व्यवसायीका अनुसार पोखराको होटल क्षेत्रमा अघिल्लो महिनासम्म ३५ प्रतिशत रहेको अकूपेन्सी बढेर अहिले ५० प्रतिशत हाराहारी पुगेको छ ।

सडक महोत्सवका मुख्य प्रायोजक गोर्खा बु्रअरी प्रालिको टुबोर्ग वियर हो । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र पोखरा पर्यटन परिषद् छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width