पोखरा महानगरपालिकाको विशेष नगरसभाबाट १०१३ दरबन्दी स्वीकृत

आदर्श समाज सम्वाददाता
मंसिर २८, २०८१
metro

पोखरा । पोखरा महानगरपालिकाको शुक्रबार सम्पन्न विशेष नगर सभाले महानगरको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) प्रतिवेदन–२०८१ सर्वसम्मतिले पारित गरेको छ । सो प्रतिवेदन अनुसार महानगरमा १ हजार १३ दरबन्दी स्वीकृत गरिएको छ ।

स्वास्थ्य अन्तर्गत संघीय सरकारको १ सय ७८ समेत गरी महानगरपालिकामा कुल १ हजार १ सय ९१ दरबन्दी कायम भएको छ ।

महानगरपालिकामा कार्यरत श्रेणीविहीन बाहेक करार कर्मचारीहरूको म्याद पौष मसान्तपछि थप नगर्ने र करार सेवा मुक्त गरिएका ३५ जना करार कर्मचारीहरूलाई थप २ महिनाको पारिश्रमिक बराबरको सेवा उपलब्ध गराउने नगर सभाले निर्णय गरेको छ ।

नगर सभाले गण्डकी प्रदेश किताब खानामा दर्ता हुने महानगरपालिकाको दरबन्दी संरचनामा नसमेटिएका अन्य स्थानीय तहबाट कामकाजमा रहेका दरबन्दीभन्दा बढीका कर्मचारीहरूलाई पदाधिकार रहेकै कार्यालयमा कनिष्ठताका आधारमा काज फिर्ता गर्ने निर्णय गरेको छ । यस्तै, महानगरको स्वीकृत दरबन्दी प्रदेश लोकसेवा आयोगबाट स्थायी पदपूर्ति नहुँदासम्म कर्मचारी आवश्यक परेमा लोक सेवा आयोगको अस्थायी योग्यता क्रमको सूचिबाट करारमा नियुक्ति गरी कामकाजमा लगाउने, अन्यत्र पालिकामा स्थायी नियुक्ति भई पोखरा महानगरपालिकामा कामकाज वा सरुवा भई आएका कर्मचारीहरूको अन्यत्र पालिकामा कार्यरत अवधिको आधारमा प्राप्त हुने सेवा सुविधाको आर्थिक दायित्व नलिने निर्णय समेत पारित गरेको छ ।

नगर प्रमुख धनराज आचार्यका अनुसार महानगरपालिकाको आन्तरिक सुशासन प्रवद्र्धन गर्न आर्थिक दायित्व पर्ने गरी कुनै पनि कर्मचारी पदाधिकारीहरूको वैदेशिक भ्रमण स्वीकृत नगर्ने, कुनै पनि आयोग, समिति र प्रतिष्ठान गठन नगर्ने, विनियोजन ऐनले तोकेको सीमाभन्दा बाहिर गएर कुनै पनि योजना वा कार्यक्रममा रकमान्तर नगर्ने, बेरुजु असुली प्रक्रियालाई अभियानको रूपमा सञ्चालन गर्ने, महानगर गौरवका योजना बाहेक कुनै पनि योजनाको डीपीआर तयार गर्न परामर्शदाताको सेवा नलिने र राजस्व बक्यौता असुली कार्य योजना बनाई आगामी नगर सभामा पेस गर्ने निर्णय पनि विशेष नगर सभाले गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width